Wednesday, July 26, 2023

कुमालेसंग

      "कुमालेसंग"

ए कुमाले दाई,

हजुर माटो समातेर 

माटो नै सिगार्न सक्नुहुन्छ। 

माटोलाई चक्रमा घुमाएर 

माटोको मूल्य चुल्याउन सक्नुहुन्छ।

माटोलाई कोपेर 

माटोको बुट्टा बनाउन सक्नुहुन्छ  ।

----------------१ ----------------------------

मलाई पनि,

छातिमा माटो घसेर 

माटोको बस्त्र सिलाउन मन लागेको छ। 

ओछ्यानमा माटो बिछ्याएर 

माटोकै सिरक ओढ्न मन लागेको छ। 

माटोमा नै मानो  रोपेर 

माटोकै मुरी फलाउन मन लागेको छ। 

---------------२ --------------------------

म माटोलाई हेर्छु,

खेतबारी टारीबारी अनेक रुप देख्छु। 

म माटोलाई छुन्छु,

धान, गहु, मकै अनेक बाली खान्छु। 

म माटोलाई पुज्छु,

ब्रम्हा, बिष्णु, महेश्वर सबै इश्वरलाई पुज्छु। 

------------------३ ------------------------------

त्यसैले ए कुमाले दाई,

म तराइको एक मुट्ठी माटो दिन्छु

मलाई बालीनाली रुपी एउटा घैला देऊ। 

म पहाडको एक चिम्टी माटो दिन्छु 

कोदो मकै रुपी एउटा पाला देऊ। 

म हिमालको एक ढिक्का माटो दिन्छु 

स्याऊ, अंगुर रुपी एउटा हाडी देऊ। 

---------४ -------------------------------

आखिर,

मेरो देशको माटो दुख्दा 

मेरो मुटु पनि संगै दुख्छ। 

मेरो देशको माटो बग्दा 

मेरो हृदयमा पनि पैह्रो जान्छ। 

मेरो देशको माटो गल्दा 

मेरो आत्माको अन्तरश्वास पनि सगै गल्छ। 

-------------५ -------------------------------

  (समाप्त )

No comments:

Post a Comment