आज मेरी हजुरआमाको श्राद्द :
मेरी हजुरआमाले छोरा, नाती ,नातिनी, पनाती र पनातीहरु सबै देखेर बित्नुभयो।
म र मेरो सहोदर दाज्यु राजन त्रिपाठी डेढ बर्षको बच्चा हुदा हजुरबाबा बित्नुभएकोले यसो भनौ कि : हजुरबाबाले मलाइ देख्नुभयो , तर मैले हजुरबाबालाई देखिन।
हजुरआमा जस्ले राणा शासन देख्नुभयो ,सति प्रथाका अवशेषहरु देख्नुभयो, सति जानु नपरेपनि
पति वियोगको पीडामा विदुवा वस्त्र पहिरिएर जीवन काट्नु पर्यो। मेरी हजुरआमा जस्को प्रशंसाका लागि मसंग कुनै ओजपूर्ण शब्द छैन, उहाका स्मरण र स्मृतिका पलहरु अहिले पनि उत्तिकै ताजै छन् , कुनै दन्त्यकथा भन्दा अनौठा छैनन्।
१) म त्यस्तै ४-५ बर्षको हुनुपर्छ , भर्खरै निर्दल/बहुदल को जनमत संग्रह भएको समय रहेछ , मलाइ सम्झाउनुहुन्थ्यो : तिमीलाई कसैले बहुदल होस् कि निर्दल भनेर सोधेमा , बा लाइ सोध्नु पर्छ भने है ? मैले हुन्छ भने।
२ ) म त्यस्तै ८-९ बर्षको हुनुपर्छ , उहाले कागतका पर्चाहरु बोकेर आउनुभयो , के हुन् मैले र राजन दाइले सोध्यौ।
तिमीहरुले पढ़ौला भनेर ल्याएको , हामीले पढ्यौ , रा पं स को उम्मेदबारको निम्ति छापिएका पर्चा रहेछन। हामीले चर्को संग पढेर सुनायौ।
छाता चिन्हमा छाप लगाई .......................।
घडी चिन्हमा छाप लगाई .............।
अनि फुरुङ्ग हुदै भन्नुभयो : मेरा तीनैजना छोराहरु लेखपढ गर्न सक्छन , अब आएर नातिहरु पनि पढ्न सक्ने भए।
३) म त्यस्तै १० बर्षको हुनुपर्छ : उहाले भन्नु भयो : मेरो नाति धेरै सोझो छ , लाटो भनू कि बाठो भनू। लाटो भनू भने मुख बोल्छ , बाठो भनू भने छक्कापन्जा छैन। कसैको पैसा भेट्टाएपनि यो कसको पैसा हो भन्दै हिड्ला जस्तो ? सायद यही बाक्य सम्झेर होला २०५७ सालमा मैले भैरहवा मा एउटा पर्स भेट्टाउदा पुलिसलाइ बुझाएको थिए।
४ ) म त्यस्तै १४-१५ बर्षको हुनुपर्छ : बाबाहरु अंश बण्डा गर्दै हुनुहुन्थ्यो , हजुर आमा मेरा तीनवटै छोराहरु लेख्ने भए कसलाई लेखिदेउ भन्नुपर्यो ? मलाई अंश छ कि छैन भन्ने कुनै जिज्ञासा थिएन।
५ ) म त्यस्तै १७ बर्षको हुनुपर्छ: एस एल सी परिक्षामा राजन दाई र म उत्कृष्ट प्रथम श्रेणीमा समुत्तिर्ण भएर काठमाण्डौ जाने तयारी गर्दै थियौ , त्यसबेला भन्नु भयो : जेठो छोरो गोर्जे गएर एस एल सी दियो , माहिलो छोरो भद्रकाली गएर क्याम्पस पढ्यो , कान्छो बनारस गएर क्याम्पस पढ्यो। अब नातीहरु काठमान्डू गएर क्याम्पस पढ्दैछन।
६ ) म त्यस्तै २० बर्षको हुनुपर्छ , दाह्री आए , जुगा आए , अब कुनै केटी देखु देखु , भेटुभेटु लाग्दैन ? मैले नबोली मात्र मुस्कुराए
७ ) म त्यस्तै २५ बर्षको हुनुपर्छ , यस पटक हजुरआमाले के भन्नुहोला भनेर भारत बाट नेपाल आउदै गर्दा बाटैमा हजुरआमाको मृत्यु भैसकेको खबरले स्तब्ध भए , धेरै रोए। अनि एकपटक सोचे , आज हजुरआमा भएको भए यसपटक के भन्नुहुन्थ्यो होला :
यही सोच्दै एउटा अंग्रेजीमा कबिता लेखे : "यदि हजुरआमा जीवितै भएको भए "
त्यो कबिता अन्तराष्ट्रिय कबिता महोत्सव अमेरिकामा छानियो , र बाचनको निम्ति वाशिंगटन डि सी बोलाइयो तर मेरो व्यक्तिगत कारणले म त्यसबेला अमेरिका जान सकिन।
हजुर आमा बितेको आज दुइ दशक भइसक्यो, तर पनि उहाको सम्झनाले अझै पनि मलाई सम्झाईरहन्छ , ब्युझाईरहन्छ।
आज स्वर्गीय मेरी हजुरआमाको १०२ औ जन्म दिनको श्राद्द , हजुरको आत्माले सधै शान्ति पावोस र बैकुण्ठ बास होस् , यही प्रार्थना !