"म र बास्तबिकता"
मैले दनदनी बलेको आगो देखेपनि
बस,
मलाई एक झिल्को मात्र आगो भए पुग्छ
किनकि ,
मलाई आगोले मात्र एक छाक चुल्हो बले पुग्छ
म नदीमा पानीको भेलसंग तैरिएपनि
बस,
मलाई एक घुट्की पानी भए पुग्छ
किनकि,
मलाई पानीले मात्रै एक पटक प्यास मेटे पुग्छ।
--------------१ ------------------------------------
अहँ,
मलाई शहरको गगनचुम्बी महल चाहिदैन
बरु,
खरको एकसरो झुपडी भए पुग्छ
अहँ ,
मलाई सुनको बहुमुल्य सिक्री चाहिदैन
बस,
सयपत्री फूलको एउटा माला भए पुग्छ।
------------------------२ ------------------------
म मान्दिन,
इश्वरको मूर्तीले पनि "हरि ॐ" बोल्छ भन्ने कुरा
किनकि,
मान्छे आफ्नोलागि आफै बोल्नुपर्छ।
म मान्दिन,
मन्दिरको घण्टा पनि "तथास्तु" बक्छ भन्ने कथा
किनकि,
मान्छे आफ्नो प्राप्तिको निम्ति आफै कर्म गर्नुपर्छ।
म मान्दिन,
धातुको मुर्ति पुज्नुपर्छ भन्ने आस्था
किनकि,
मान्छे आफ्नो आत्मा आफै पुज्नुपर्छ।
---------------३ ------------------------
त्यसैले,
आजभोलि त बिश्वास
मेघमाथि उड्ने हैन ,
मेरो आत्मादेखि पलाउन थालेको छ
मेरो हृदयदेखि टुसाउन जानेको छ।
किनकि,
मलाई कल्पनाको आकासमा चरा झैँ उड्नुछैन
बरु, यथार्थताको धरातलमा गोरु झैँ जोतिनुछ
मलाई अबिश्वासको सगरमा चील झैँ आकासिनुछैन
बरु, बास्तबिकताको तलाऊमा माछा झैँ पौडिनुछ ।
----------------४ ------------------------------------
आखिर,
म यो धर्तीको खुम्चिएको अनुहारलाई
साझको चिसो स्पर्शले हसाउन चाहन्छु
म यो पृथ्वीको कठ्यांग्रीएको बिहानीलाई
सूर्यको किरणले तताउन चाहन्छु
म यो धर्ती आकासको बिशाल छातीमा
स्वर्णिम सपनाहरु सजाउन चाहन्छु
किनकि,
मेरो कानमा राष्ट्रप्रेमको गीत सदा गुन्जिरहन्छ :
"बनेको छ पहराले यो छाति मेरो
म झुक्दै नझुक्ने नेपालको छोरो "
------- ५ ----------------
(समाप्त )