Thursday, January 26, 2023

एउटा युद्दको शुभारम्भ गरौ !

 एउटा युद्दको शुभारम्भ गरौ !

हामी नेपालीसंग,

बिश्व शान्तिको क्षेत्र नेपाल भूमि छ 

यसभन्दा पनि बुद्दको दिब्यभूमि छ 

पूर्बजका खुडा खुकुरी मात्रै हैन 

जनक र बुद्दका बोधिसत्व पनि छ 

अमरसिंह र बलभद्रको बीरता मात्रै हैन 

अरनिकोको सीप र कला पनि छ। 

------------------१ ---------------------------

हामी नेपालीलाई थाहा छ -

बारुदको धुवाले मात्रै युद्द हुदैन 

सेतो परेवाले पनि शान्तिपूर्ण युद्द गर्नसक्छ 

हिरण्यकश्यपु र दुर्योधनको मात्रै युद्द हुदैन 

प्रल्हाद र युधिष्ठिरले पनि सत्यताको युद्द गर्न सक्छन। 

--------------------२ -----------------------------------

जाग भो अब जाग,

महाभारतको अभिमन्यू बनेर 

अशिक्षा र अन्धबिश्वासको चक्रब्युह फोड्नुपर्छ 

रामायणको लबकुश बनेर

भ्रष्टाचार र दुराचारको जरैबाट उन्मूलन गर्नुपर्छ। 

---------------------३ ---------------------

उठ, भो अब उठ ,

जोश र जागरको बीज छर्नुपर्छ 

भाका लैबरीको गाइनुपर्छ 

बोलि चाचारीको हुनुपर्छ 

स्वयम्भूको शान्तिप्रीत आँखाले 

पशुपतिको पवित्र स्वच्छ हृदयले 

आऊ ,

एउटा युद्दको शुभारम्भ गरौ। 

----------------४ ------------------

बस नेपाल आमा,

मलाई साइतको दही र अक्षता लगाइ देऊ

म हातमा परिश्रमको कुचो र आस्थाको दियो कलस लिएर 

पौरखको नैबेध्य र कर्मको पूजा लिएर 

अनि आत्माबिश्वाश्को लाबा र अबिर छर्दै 

ज्ञान र सीपको दीपशिखा बालेर 

एउटा युद्दको शुभारम्भ गरौ 

एउटा युद्दको शुभारम्भ गरौ। 


--------५ -------------------------------

(समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल माघ ११ गते 

Monday, January 23, 2023

मेरो देश मेरो शरीरसँग :

 मेरो देश मेरो शरीरसँग :

जब म आफैलाई ऐनामा हेर्छु,

मेरो पुष्ट गाला,

लाग्छ मेरो पहाडको टाकुरा जस्तै 

मेरो फराकिलो निधार,

लाग्छ मेरै तराईको समथर भू-भागजस्तै 

मेरो सलक्क परेको कपाल 

लाग्छ चारकोशे जंगलको झाडि जस्तै !

------------------------१ -------------------

जब म आफ्नो बस्त्र आफै नियाल्छु,

मैले ओढ्दै गरेको बाक्लो पछ्यौरी 

मेरै हिमालको गुराँसले छोपेको जंगलजस्तै 

मैले पहिरिदै गरेको सक्कली ढाकाटोपी 

सेताम्मे बिधवा हिमालको प्रतिक जस्तै 

मैले लगाउदै गरेको दौरा र सुरुवाल 

मेरै देशको मिलेको लेक र बेसी जस्तै !

---------------------२ -------------------

जब म आफैले आफूलाई नियाल्छु,

मेरो हातका लामा छोटा औलाहरु 

लाग्छ मेरै देशका चुच्चेबुच्चे पहाड जस्तै 

हत्केलाका सलक्क परेका रेखाहरु 

गण्डकी, कोशी र कर्णाली नदी जस्तै 

हातखुट्टाका औलाका कापाहरु 

भन्ज्यांग र देउरालीका बिचका गल्छेडाहरु जस्तै  !

------------------३ -----------------------------

त्यसैले त -

मेरो शरीर मेरो देशको पर्याय हो 

मेरो पहिरन मेरै देशको पोशाक हो 

मेरो अंगप्रत्यंग मेरै देशको गहना हो !

--------------------४ ------------------------

बस नेपाल आमा,

मलाई बिशाल तराईको छातिमा

एक मिठो निन्द्रा सुत्न देऊ 

मलाई अग्लो हिमालको सागरमा 

एक मिठो चुम्बन चुम्न देऊ 

मलाई भिरालो पहाडको टाकुरीमा

गुराँसजस्तै एक मुस्कान छर्न देऊ !

--------५ -------------------------------

(समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल माघ ८  गते 

Sunday, January 22, 2023

माटो र मातृभूमि :

 माटो र मातृभूमि :

बास्तवमा,

मानवतालाई पुजेपछि 

देवता पुजिरहनु पर्दैन 

राष्ट्रियतालाई ढोगेपछि 

ढोग्नकोलागि  कुनै मन्दिर रहदैन 

राष्ट्रप्रेमी भाकल चढाएपछि 

कुनै देवी देवतालाई बलि दिनु पर्दैन। 

----------१--------------------------

हुन पनि,

लालुपाते फूलको रंगभन्दा माटोको मुहार 

सुन्दर हुन्छ। 

बुकीफूलको बासनाभन्दा माटोको सुबास 

मधुर हुन्छ। 

प्रियसीको प्यारभन्दा माटोको अंकमाल 

आकर्षक हुन्छ। 

-----------२ --------------------------

त्यसैले त,

मैले पराइलाई पसिना बेच्दा 

मेरो माटोको आत्मा धुरु धुरु रुन्छ 

मैले विदेशीलाई सलामी ठोक्दा 

मेरो माटोको स्वाभिमान निहुरेर झुक्छ 

मैले पराई भूमिमा नंग्रा खियाउदा 

मेरो आफ्नो माटो बाझो र जर्जर हुन्छ। 

------------------३ --------------------

भो मलाई अब,

बुद्दको शान्ति छाडेर

गुराँसको आँखा त्यागेर 

कसैको माटो छुनु र खेल्नु छैन 

बरु,

म माटोको किरिया खाएर भन्छु-

ॐ शान्ति, म  यो देश माटोमा रोपिरंहू रोपाहाराहरुसंग  

ब्रम्ह शान्ति, म  यो देश माटोमा गोडिरंहू खेतालाहरुसंग 

बिश्व शान्ति, म  यो देश माटोमा खानिरंहू बाउसेहरुसंग 

------------४ -------------------------------------

         (समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल माघ ७ गते 

Saturday, January 21, 2023

राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ (राष्ट्रिय प्रजातन्त्र दिवस २०७७)

 प्रत्येक व्यक्तिले आफ्नो राष्ट्रमा बाँचेर त्यहीँको राष्ट्रियता, परिवेश र समग्रतामा आपूmलाई समायोजन गरेको हुन्छ। आफ्नै वैयक्तिक–बौद्धिक विकास र सभ्यताको विकास गरेको हुन्छ। राज्य सञ्चालन र राष्ट्र निर्माणमा असंख्य जुझारु हातहरू जुटेका हुन्छन्, गूढ मस्तिष्क खटेको हुन्छ  र कर्मठ पाखुरीहरू समर्पित रहन्छन्। प्रत्येक राष्ट्रको समृद्धि यात्रामा देशका सशक्त जनशक्तिको महŒवपूर्ण योगदान हुन्छ र त्यो सशक्तता युवावर्गको कर्ममा निहित रहन्छ। राष्ट्रिय समृद्धिको यात्रा युवाले सजाउने मंगलदीप र स्वर्णकलश राखेर सजाउने स्वर्णद्वारबाट सुरु हुन्छ।

राष्ट्र निर्माण बौद्धिकता र कर्मशील मानसिकताको परिणति हो। राष्ट्रको निर्माणका पछि युवाहरूको रक्तबीज रोपिएको हुन्छ, हजारौं वीरहरूको गाथा मातृभूमिको छातीमा खोपिएको हुन्छ र परिवर्तन पुष्प फुलाउने अजेय शक्ति खर्च भएको हुन्छ। अजेयता आत्मविश्वास र दृढताको प्रतीक हो। दृढताविहीन मानिस सफलताको सिँढी उक्लन सक्दैन र आफ्नो वातावरणको परिवर्तन गर्न सक्दैन। मान्छेले आपूmलाई परिवर्तित आँखाले हेर्न सक्दैन भने राष्ट्रको उज्ज्वल भविष्य अकल्पनीय हुन्छ। व्यक्ति राष्ट्रको व्यष्टि हो र राष्ट्र व्यक्तिहरूको समष्टि हो। प्रत्येक व्यक्तिमा राष्ट्रप्रतिको अपार स्नेह हृदयकेन्द्रका प्रत्येक कोठरीमा उम्रेमा पहरामा मूल फुट्छ। युवाले समुद्रको गर्भबाट पहाड उठाउन र मरुभूमिको छातीमा मूल फुटाउन सक्छन्।

युवा शक्ति र सामर्थ्यका साधन तथा परिवर्तनका वाहक अनि विकासका परिपूरक पनि हुन्। युवाका पाखुरीमा अजस्र शक्ति हुन्छ। युवा मानव बस्तीमा हरियाली भई उम्रन सक्छन्। 

परिवर्तनकारी युवाका विचारमा देशको भविष्य र सकारात्मक मार्गदर्शन हुन्छ। युवाले भौतिक स्रोतसाधनलाई उत्पादनमूलक आकांक्षामा परिवर्तन गर्न सक्छन्। युवाका विचारमा उन्नति र काँधमा प्रगति हुन्छ। राज्य सञ्चालन, विकास निर्माण, स्रोत र साधनको उत्पादनशील परिचालन, अनुगमन तथा समृद्घिमा युवा केन्द्रमा रहन्छन्। युवाको केन्द्रमा समृद्धि र परिधिमा सफलताका झिल्काहरू झिल्किरहन्छन्। कर्मले उचाइ प्राप्त गर्ने र व्यवहारले पहिचान बनाउने युवाका शब्द, वाणी, विचार र व्यवहारमा राज्यको मुहार फेर्ने सामर्थ्य हुन्छ।

युवा बिदेसिएका छन्, देशमा परिवर्तन हुँदै छ, अब फर्काउनुपर्छ। उद्यमशीलताको पूर्वाधार तयार गर्न देशले सक्षम र दक्ष जनशक्ति खोजेको छ। परिवेशले स्वदेशी रोजगार र पेसागत विविधीकरण खोजेको छ। युवाका विचार, सीप र जाँगरको सम्मिलन परिवर्तन बन्न सक्छ । प्रत्येक दिन समृद्घिको चाहनामा देशको सीमा छाड्नेलाई रोजगारीका पानाहरूमार्फत राष्ट्रियताका पाठ पुनरावृत्ति गराउन युवाको जाँगर चाहिएको छ। युवाले आफ्नै परिवेशको स्वर्णिम संसारमा समृद्घि उमार्न सक्छन्। युवाको तुफानी जाँगरलाई शाश्वत परिणतिमा बदल्न सके देशले कायापलट गर्न सक्छ। युवाका जाँगरले देशमा हरियाली भर्न र सभ्यताको सञ्चार गर्न सक्छ। विकास र उन्नतिका लागि युवालाई दायित्व सुम्पनुपर्छ। युवाले सचेतना प्रवद्र्धन गरी दिशाबोधको गोरेटो खन्न सक्छन्  । 

नेपालको समृद्धि कृषि र पशुपालनमा छ। युवाले गुजारामुखी कृषि र पशुपालनको व्यवसायीकरण र आधुनिकीकरण गर्न सक्छन्। विदेशमा पैसाको बोट देख्ने युवाले प्राकृतिक सम्पदालाई हीराको टुक्राका रूपमा चिन्न सक्छन्। बारीका कान्लामा हीरा खोज्न युवालाई नेतृत्व सुम्पनु पर्छ। हाम्रो पानी, खेत, बारीमा पैसाको बोट उमार्न युवाका मस्तिष्क र हात सक्रिय बन्नुपर्छ। सकारात्मक सोचले देश बन्छ। कठोर मिहिनेतले व्यक्ति सम्पन्न हुन्छ। सम्पन्नता र समृद्घि हामीभित्रै छन्। आफूभित्रबाट सकारात्मक सोच उमार्न सके हामीलाई माटाले महानता, विचारले विशिष्टता र धरतीले सम्पदा सुम्पन्छ। सकारात्मक सोचले युवाका जाँगरलाई उर्लंदो जँघार रोक्न सिकाउँछ। परिश्रममा हर्ष खोज्ने युवाका मिहिनेती प्रयासलाई खोजेर बाहिर ल्याउने उत्साह जगाउन सक्नुपर्छ। युवाको सकारात्मक पाइलाले समृद्धिको सगर चुम्न सक्छ। व्यक्तिलाई अनुहारले चिनाउँछ तर उसले आफ्नो अनुहार कहिल्यै देख्दैन, अरूले मात्र देख्छन्। आफूलाई चिनाउने र आफूलाई सम्मानित र समृद्घ बनाउने साधन आफूभित्र र आफ्नै परिवेशमा हुन्छन्। युवाले देशको अनुहारमा सौन्दर्य भर्न सक्छन्।

मानव सेवाको भाव मस्तिष्कबाट जन्मेर इन्द्रियबाट हुर्कनुपर्छ। म गर्छु र गर्न सक्छु भन्ने भावनाले मात्र मान्छेलाई प्रगतिपथमा लम्काउँछ। असल कार्यमा सबैको साथ हुन्छ। स्वार्थले काम गर्नेहरू चौतारामा नांगिन्छन् तर मनले काम गर्नेहरू पुण्यस्थलमा पुजिन्छन्। युवा मानव सेवाका पुञ्ज हुन् जसले सामाजिक र आत्मिक समृद्धिलाई सँघारमा सजाउँछन्। युवाले जन्मस्थान, समाज, धर्ती र वातावरणप्रति कृतज्ञ बन्नुपर्छ। मानिसका गुण, क्षमता र सीप भण्डारका लागि होइनन्, बाँड्नका लागि हुन्। मीठो बोली, पवित्र आचरण, सद्भावना, आदरसम्मान, पठनपाठन, माया र आदर, प्रभावकारी सञ्चार, तनाव नियन्त्रण सकारात्मक सोच समृद्धिका कारक हुन्। समृद्धिको यात्रा गिलासको खाली भागबाट होइन, भरिएको भागबाट सुरु हुन्छ। परिवेशले युवालाई भविष्यप्रति आशावादी बनाउनुपर्छ। यात्रा सुरु गरेपछि गन्तव्यमा पुगिन्छ भन्ने सिकाउनुपर्छ। प्रसन्नता, उत्साह र प्रशंसायुक्त समाजमा उन्नतिको सम्भावना हुन्छ। नकारात्मक बीउ रोपेर सकारात्मक फलको आशा गर्न सकिँदैन। सकारात्मक सोचको परिणाम सकारात्मक प्रतिक्रिया हुन्छ। निरन्तर प्रतिबद्धताले सिस्टर टेरेसा मदर टेरेसा बनिन्। सकारात्मक सोचले सिद्घार्थ बुद्घ, मोहन दास महात्मा र रत्नाकर बाल्मीकि बने। सकारात्मक सोच तथा व्यवहार भएका मानिस गन्तव्यमा छिटो पुग्छन्। युवालाई पछाडिबाट पढ्दा वायु हुन्छ। आज सकारात्मक सोचले विकासको आँधी ल्याउने युवा वायुको आवश्यकता छ।

युवा जोस जाँगर, ऊर्जा, नयाँ सोच र प्रविधि प्रयोगमा अब्बल हुन्छन्। उनीहरूमा निडर निर्णय, गलतकार्यको विरोध र असल निर्णयको समर्थन गर्ने साहस हुन्छ। कानुनको तर्जुमा गर्ने समावेशी सक्रियता हुन्छ। छुवाछूत, बोक्सी, छाउपडी, देउकी प्रथा, बालविबाह, दाइजोजस्ता सामाजिक कुरीति, कुसंस्कारका विरुद्ध जनचेतना जगाउने सामर्थ्य हुन्छ। लागूपदार्थको दुव्र्यसनविरुद्धको जागरण हुन्छ। निमुखा वर्गको हित संरक्षण र सहभागिताका लागि आवाज हुन्छ। जातजाति, भाषा, धर्म, वर्ण, लिंग, अपांगताको तटस्थ सम्बोधनभाव हुन्छ।

योजना र कार्यक्रमलाई मूलप्रवाहीकरण गर्ने पैरवी हुन्छ। वन, वन्यजन्तु तथा वातावरण र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने निगरानी हुन्छ। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य प्रशासनिक सेवा प्रवाहको दृष्टिबिन्दु हुन्छ। बाटाघाटा, मठमन्दिर, पाटीपौवा, अस्पताल, सार्वजनिक तथा धार्मिकस्थलहरूको मोहकता थप्ने स्वयंसेवा हुन्छ। जमिन बाँझो नराख्ने उत्पादनशील अभियान हुन्छ अनि बजेटलाई विकास बनाउने साँचो हुन्छ। यसर्थ सार्वजनीन समन्वय गरी युवालाई नेतृत्व दिनुपर्छ, व्यापक सहभागितामा जागरणमूलक र रचनात्मक समृद्धि यात्राको अगुवाइ गर्न युवाको भूमिका निर्धारण गर्नुपर्छ।

मानिस पढेर महान् बन्दैन, पढेको कुरा व्यवहारमा प्रयोग गरेर महान् बन्छ । मान्छे शक्ति, बुद्घि, तर्क र सिर्जनाले अरूभन्दा भिन्न हुन्छ। बाहिरी आँखा नदेख्नेको अन्तर्चक्षु सक्षम हुन्छ। हात नचल्नेको मन बलियो हुन्छ। खुट्टाभन्दा विचार छिटो दौडन सक्छ। अपहेलनाको एक शब्दभित्र पहाड पल्टाउने जाँगर हुन सक्छ। धृतराष्टलाई राजा हुन आँखा चाहिएन, हकिन्सलाई विश्व हल्लाउन हिँड्नु परेन, पारिजातलाई फुलाउन कम्मर चाहिएन अनि काँडाभित्र फूल फुलाउन झमकलाई हात चाहिएन। आफ्नै परिवेश र सक्षमताभित्र सकारात्मक गारेटो हिँड्न सक्ने युवालाई केवल उत्साह चाहिन्छ, देशको मुहार उनीहरूका मिर्मिरे सोचले फेर्छ। युवा शक्ति र सामर्थ्यका साधन तथा परिवर्तनका वाहक अनि विकासका परिपूरक पनि हुन्। युवाका पाखुरीमा अजस्र शक्ति हुन्छ। युवा पानी हुन्, जीवन बन्न सक्छन्, प्रचण्ड गर्मीमा बादल बनेर बर्सन र मानव बस्तीमा हरियाली भई उम्रन सक्छन्। युवाको मुस्कानमा युगको चाहना हुन्छ। युवाको हिँडाइमा युग हाँकिएको हुन्छ अनि युवाका विचारमा ब्रह्माण्डको परिभाषा हुन्छ। युवा प्रवाहशील नदी बनेर प्रवाहित हुन सक्छन्। विद्युत् बनेर अँध्यारा झुपडीहरूमा प्रज्वलित हुन सक्छन्। जीवन्दायिनी शक्ति बनेर जरा र पातमा पुग्न सक्छन्।

तिर्खा मेटाउन हर्हराएको आँतमा पुग्न सक्छन्। युवाको सामर्थ्य कमलको वासनामा मिसिएर हावामा उड्छ। गाउँ, सहर र डाँडाकाँडालाई सुगन्धित बनाउँछ। अत्तर बनेर शरीरलाई मोहक बनाउँछ अनि पहिरन बनेर मोहनी शक्ति छर्छ। युग अंगी हो अनि युवाहरू चाहिँ अंग हुन्। युवाबिना संसार अपूर्ण हुन्छ। युवा अशक्तका बैसाखी हुन्, आमाविहीनहरूका बात्सल्य हुन्, आश्रयविहीनका घर र असहायका भर हुन्। प्रत्येक निर्माण कार्य र बौद्घिक कार्यहरू युवाहरूकै दूरदर्शिता र कुशल निर्णयका परिणति हुन्। राष्ट्रिय मुटुमा प्राण बन्नु राष्ट्रिय समृद्धिको यात्रामा युवा वर्गको दायित्व हो। राष्ट्रका युवा भौतिक र मानसिक रूपमा सबल भए राष्ट्र सबल हुन्छ। खम्बा, दलिन र निदाल बलिया भए घर बलियो हुन्छ, हुनुपर्छ। युवाका बलिष्ट हातमा आँधी रोक्न सक्ने छेकबार हुन्छ, मनमा दृढनिश्चयी अनुशासन हुन्छ। अनुशासनको पालनाले नै समाज र राष्ट्रले नेतृत्व पाउन सक्छ, व्यक्तिले सफलताको सिँढी चढ्न पाउँछ अनि सफलताका प्रत्येक सिँढीमा फुस्कने स्मित मुस्कानले नवकाल्पनिकताको शंखघोष गरिरहेको हुन्छ। विकास, उन्नति र प्रगति नवीन काल्पनिकताका व्यावहारिक रूप हुन्, मानवीय सचेतनाको उच्चताको हकदार युवाहरू नै हुन्।

समृद्धि मार्गका तगारा पन्छाउनु युवा दायित्व हो र अरू सामु चिनिनु युवाको आधारभूत आवश्यकता हो। विश्व रंगमञ्चमा चिनिन नायकै हुनु पर्दैन, विदूषक र सूत्रधारहरू पनि त्यत्तिकै महŒवका हुन्छन्। सूत्रधारको गुह्य योजनामा नाट्यसंयोजन हुन्छ। हाम्रा हातले गोबर उठाए गोवर्धन बन्छ, माटो समाए महल बन्छ, कुटो समाए भकारी भरिन्छ। हामी आहालमा अलैंची फलाउन सक्छौं, कान्लामा कुचो फुलाउँछौं, गरामा गहुँ फलाउँछौं र भीरमा भटमास उमार्छौं।

प्राकृतिक, भौगोलिक विविधता हाम्रा निजी सम्पत्ति हुन्। युवाले कमिला र मौरीबाट पाठ सिकेर चन्द्रयात्रा गर्न सक्छन्। नाम्चेको काखबाट वृहस्पति हेर्न सक्छन् अनि अन्तु र अरुणमा ओसाका र क्विटो उभ्याउन सक्छन्। उत्पादक समयको महŒव बुझेर देशका लागि ठेला उठाउँदा युवाले घनघस्यामा सन्साइन चुइँक्याउन सक्छन्। यो जाँगरशील युवाको दायित्व हो। युवा देश निर्माणका पहिला हकदार हुन्।

राजनीतिक स्थिरता, आर्थिक सबलता, सामाजिक समन्वय, सांस्कृतिक सहिष्णुता, आत्मिक उचाइ, वैचारिक स्पष्टता तथा वाचिक सत्यता राष्ट्रनिर्माणका आवश्यक तŒव हुन्। एकएक इँट जम्मा पारेर इफेल ठड्याउन सक्नुपर्छ। मिश्रको पिरामिड, चीनको पर्खाल, स्वर्णद्वार र स्वेज नहर युवाले निर्माण गरेका हुन्। हजारौं युवाको एकताले माछापुच्छ्रेको काखमा बेबिलोनको बगैंचा बनाउन सक्छ। कलम र कोदालीले धर्तीमा अक्षरका बीउ छरी व्यक्ति, गाउँ, सहर मिलेर राष्ट्र उठाउन तथा शिरमा लालीगुराँस सिउरेर सगरमाथाको शिखर चढी राष्ट्रिय झन्डा फहराएर आत्मगौरव र अस्मिताको गीत गाउँदै राष्ट्रनिर्माण गर्न युवाको अग्रगामी यात्रा आवश्यक छ।

युवा नदीका तरंग र उन्नतिका उमंग हुन्। युवाका मस्तिष्कमा मातृभूमि, हातमा कर्म र आँखामा विश्व अटाएको हुन्छ। युवाका प्रत्येक ढुकढुकीमा राष्ट्रले सास फेर्छ, नसानसामा बग्ने रगतमा राष्ट्रियता सल्बलाएको हुन्छ। युवाको सोचाइ आत्माको इमानदारी हो, युवाको हिँडाइ विकासको परिचायक हो अनि युवाको माथ आत्मगौरवको प्रतीक हो। समग्रमा राष्ट्रिय उन्नति भन्नु युवा एकता र सामर्थ्यको परिणति हो। त्यसैले राष्ट्रिय समृद्धिको यात्रामा युवा वर्गको त्यति नै दायित्व छ जति जीवित रहन प्राणवायुको महŒव छ।

७९औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रथम भएको निबन्ध।

------------------------------------------------------

पूर्वी एसियाको दाहिने छातीमा ढुकढुकी बनेर धड्किरहेको मेरो देश अमरावतीजस्तै सुन्दर छ । विविधताको इन्द्रेणी रङ्ले सजिएको सानो भए पनि आफैँमा पूर्ण, मानौँ– ब्रह्माजीले फुर्सदका समयमा कल्पना गरेर सृष्टि गरेजस्तै । प्रभातमा सगरमाथाको कोमल वक्षमा रविको स्पर्श, स्पर्शको चरमोत्कर्षले मैनजस्तै पग्लिरहेका हिमालका मुटुहरू र कञ्चन जल बनेर ओरालो झर्दै गरेका हिमनदीहरू । यी दृश्यहरू हेरेर कहिल्यै अघाउँदैन न्नेपाली मनहरू । यिनै दृश्य, पर्यावरण र प्रकृति हेर्न मनमा कति ठुलो उत्साह बोकेर आउँछन्विदेशी पर्यटकहरू । सत्ययुगमा प्रकृतिका यस्तै मनोरम दृश्यहरू हेर्ने लालचले हिमशिलामा बसेर तपस्या गर्थे होला ऋषिमुनिहरू । हिमालयको छेउमा खुसीले उफ्रँदै बुर्कुसी मार्दै रमाइरहेका हिमजन्तुहरूको प्राकृतिक जिन्दगी देखेर साँच्चै लोभिन्छ मन । हिमाल र हिमनदीले कहाँ प्राकृतिक सुन्दरता मात्र बोकेका छन्र यसभित्र त समृद्धिको पञ्च रङ्गी ऐश्वर्य छचल्किएको छ । वसन्त ऋतुको आगमनसँगै नवपालुवा फेरेर मुस्कुराइरहेका हरिया वृक्षहरू, वासन्ती पवनको प्रभावले उत्तेजित भएर फक्रिरहेका लालीगुराँस, इन्द्रकमल र हजारौँ हजार पुष्पहरूले रङ्गीबिरङ्गी देख्दा रानीवनमा मिठामिठा कविता लेख्न हतारिन्छन् कविमन । मुग्ध भएर प्रकृतिको सुन्दरतामा एकैछिन हावाको वेग पनि रोकिन्छ । माथि जुरे पर्वततिर फुलेको देखेर चाँपका फूलहरू तल तराईबाट भुन्भुनाउँदै जान्छन् सयौँ हुल मौरीहरू । पुष्पको सुहागले उत्तेजित बनेका भ्रमरहरू होस गुमाएर झुम्मिन्छन् पुष्परस पान गर्नलाई । मौरीहरू पर्वततिर खोजिगरिरहेका हुन्छन् सञ्जीवनी फूल र ल्याइरहेका हुन्छन् लाखौँ करोडौँ वनौषधहरू । आयुर्वेदमा सबैभन्दा ठुलो औषधि मानिने मह बनाउनमा तल्लीन देखिन्छन् उनीहरू । नेपालका वनमा कहाँ सुन्दरता र हराभरा मात्र छ र ? यहाँ त मृतसञ्जीवनी बुटीहरू र तरुलताहरू छन्, अमृतजस्ता वनौषधहरू छन्। यसैमा अडिएर त ‘समृद्ध नेपाल, सुखी नेपाली’ को योजना तय गर्छन्नेपालीहरू । हामी राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताप्रति दृढ भएर एकसाथ देख्छौँ नेपालको समृद्धिको अभिनव सपना । गुणस्तरीय शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति, यातायात, आर्थिक उन्नति, सामाजिक, सांस्कृतिक विकास, अपराधनियन्त्रण, रोजगारी, उच्चस्तरीय जीवनयापन तथा ग्रामीण क्षेत्रको विकास, सेवासुविधा नै समृद्धिका आधारहरू हुन्। समृद्ध नेपाल निर्माणको सपना साकार पार्नका लागि देशका युवाहरूको उत्साहपूर्वक सक्रियता, अन्तःप्रेरणा, दृढता र सक्रियता अपरिहार्य छ नेपालमा । १६ वर्षदेखि ४० वर्ष उमेर समूहका मानिस युवा हुन्। युवावस्था नै मानवजीवनको सबैभन्दा महŒवपूर्ण र सक्रियताको स्वर्णिम अवधि हो । युवामनले चाहने हो भने असम्भव भन्ने कुरा केही छैन । असफलता र असम्भव भन्ने शब्द त मुर्खहरूको शब्दकोशमा मात्रै हुन्छ । यहाँ स्वामी विवेकानन्दको कुनै पनि देशको समृद्धि देशको युवाशक्तिले निर्धारण गर्छ भन्ने भनाई स्मरणीय छ । युवाहरू देशको मुहार चम्काउने शक्ति हुन् । जुन देशमा युवाको सङ्ख्या धेरै छ, युवा ऊर्जाको समुचित सदुपयोग भएको छ त्यस देशको विकास र समृद्धि निश्चित छ । विश्वका अधिकांश विकसित राष्ट्रहरूको विकास र समृद्धिको जड युवाहरू नै हुन्। वास्तवमा युवावस्था उमेर मात्र होइन, उत्साह, जाँगर र हौसला पनि हो। युवाहरूको आँखाले देखेको सपना कतिसम्म सम्भव हुन्छ भन्ने कुरा हामी नेपालमै जन्मिएका बुद्धको जीवनलाई हेरेर बुझ्न सक्छौँ । २९ वर्षका युवक बुद्ध आफ्नो दृढता र एकाग्रतापूर्वक प्राप्त गरेको ज्ञानामृतले नेपालमा मात्र नभएर विश्वको आकाशमा नै तारा बनेर चम्किए । उनको युवाजोस युवासपना र युवाविवेकले नै नेपाल शान्तिको देश भनेर विश्वको इतिहासमा सुपरिचित छ अनि बुद्ध ‘द लाइट अफ एसिया’ भनेर । मनमा आँट ऊर्जा र शक्ति बोकेका द्द युवाहरू राष्ट्र विकासका पहरेदार हुन् । युवाले मरुभूमिलाई हराभरा बनाउन सक्छन्। टाकुरा फाँट बनाएर बाँझो जमिनलाई शस्य शालिनी बनाउँछन् । युवा शरीरको नसामा रगत मात्र होइन, रगतका थोपाथोपामा साहस र उत्साहको सम्मिश्रण हुन्छ । उनीहरूले लिने पलपलको अक्सिजनमा सर्वोच्च साहस हुन्छ । यस्ता होनहार युवाहरूले नै राष्ट्रनिर्माण र राष्ट्रको समृद्धिका लागि उल्लेख्य प्रगति गर्न सक्छन् । हरेक मानिसले जे गर्न सक्छ त्योयुवावस्थामा नै गर्न सक्छ । राइट ब्रदरले बनाएको जहाज आकाशमा उड्नु पछाडिको कारण उनीहरूको युवा जाँगर र युवा साहस है हो । माइकल फराडे हुन् या ग्यालिलियो ग्यालिले, अल्वा एडिसन हुन् वा अल्बर्ट आइन्स्टाइन, न्युटन हुन् चाहे निकोला टेस्ला आजसम्म जति वैज्ञानिकहरूले खोज, अनुसन्धान, निर्माण र आविष्कार गरेका छन्ती सबै युवावस्थामा गरेका छन् । त्यसैले त युवावस्थालाई प्लास्टिक रबरका रूपमा मानिन्छ, जसलाई जति तन्कायो त्यति नै तन्किन्छ । यस्तै युवावस्थामा पनि जति जाँगर र साहस भयो त्यति नै बढी काम र सम्पन्न गर्न सकिन्छ । नेपालका सन्दर्भमा हेर्ने हो भने पनि युवाशक्ति र राष्ट्रिय समृद्धि एकअर्कामा परिपूरक छन् । कुल जनसङ्ख्याको ४० प्रतिशत हिस्सा ओगटेका युवाहरू वर्तमान समयमा सामाजिक, आर्थिक, शैक्षिक र खासगरी राजनीतिक क्षेत्रमा बढी क्रियाशील छन् । उनीहरूका आँखामा देशविकासको प्रमुख ध्येय छ जसलाई सङ्घीयताले ठुलो टेवा पु¥याएको छ । आफ्नो गाउँको विकास आफैँ गर्न पाएका छन्स्थानीय जनप्रतिनिधि बनेर । ग्रामीण क्षेत्रको विकास र स्थानीय स्रोत साधनको भरपूर प्रयोग गरी आर्थिक उपार्जन गर्नका लागि स्थानीय तहले घरेलु तथा साना उद्योग व्यवसायलाई प्रोत्साहन, घरेलु उद्योग सञ्चालनका लागि सहुलियत ऋण कर्जाको व्यवस्था, स्वरोजगारमूलक कार्यक्रमहरूको सञ्चालन, आधुनिक कृषिप्रविधिको प्रयोगजस्ता कार्यक्रमहरूलाई अगाडि बढाएको छ । यसका लागि ग्रामीण क्षेत्रमा युवाहरूलाई परिचालन र सदुपयोग गरेको छ । यसमा सरिक भएर राष्ट्रिय आयलाई उकास्नु युवाहरूको दायित्व हो। नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । युवाहरू प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै नेपालको अर्थतन्त्रकोविकासका लागि प्रमुख सर्त हुन् । पर्यटकहरू नेपालका वनजङ्गल, हरियाली र हिमशृङ्खलालाई अथाह प्रेम गर्छन् । शुभ्र हिउँसँग खेल्दै, रमाउँदै हिमालका चुचुरामा पुगेर गर्व गर्न हतारिन्छन् । यस्तो अवस्थामा नेपाली युवाहरूले व्यवस्थित, समयसापेक्ष र पर्यटकको रुचिलाई बुझेर होमस्टे सञ्चालन गर्नु र राष्ट्रिय समृद्धिको यात्रामा साझेदारी गर्नु प्रमुख कर्तव्य हो । एकपटक ढिँडो, खोले र गुन्द्रुकको स्वाद लिएर गए भने पटकपटक त्यही अभिलाषाले आइरहन्छन् पर्यटकहरू नेपालमा । नेपालको मौलिकतामा जिन्दगी बिताउन तत्पर हुन्छन्उनीहरू । वसन्तमा प्रकृति नवदुलही जस्तै हराभरा बनेर सजिएका बेला, सुनाखरीको बोटमा सुनगाभाहरू फक्रिएका बेला, घुम्टोभित्र प्रकृतिको सुदीप्त मुहार लुकेका बेला कुन प्रकृतिप्रेमीलाई मन लाग्दैन र मन्द पवन बनेर प्रकृतिका सुललित सुकोमल अधरमा स्पर्श गरेर स्वर्गीय सुख अनुभूत गर्न ? मयुर बनेर कसलाई नाँच्न मन हुँदैन र पुष्पोद्यानमा ? मृग बनेर उफ्रिँदै नाँच्दै वनवन घुम्न कसलाई मन लाग्दैन र ? त्यसैले त नेपालको पर्यावरणमा प्रकृतिमा र मौलिकतामा अर्थतन्त्र सुदृढीकरणको बलियो सम्भावना छ । विश्वमा कतै पैसाको बोट छ भने त्यो नेपालको प्रकृतिमा छ नकि अरबको मरुभूमिमा । पहाडका खोचबाट उफ्रँदै छङछङ गर्दै, सङ्गीत भर्दै, लयात्मक ताण्डव नाच्दै बगिरहेका मन्दाकिनीका उपज खोलानालाहरू, झरनाहरू यिनीहरूमा कहाँ स्वच्छता मात्र छ र यहाँ त जलविद्युत् उत्पादनको अमाप्य सम्भावना छ । यिनीहरूलाई सदुपयोग गरेर, युवावर्गको श्रमशक्तिको प्रयोग गरेर जलविद्युत्उत्पादन गर्ने हो भने नेपालले समृद्धिको सुदीर्घ फड्को मार्ने कुरामा दुईमत छैन । नेपाल अहिले प्रविधिसँग परिचित बन्दै गएको छ । आधुनिक विज्ञान तथा प्रविधिलाई आत्मसात्गरेर नेपाललाई समृद्धिका मार्गमा अगाडि बढाउनु युवाहरूको प्रमुख दायित्व हो। संसारमा हुने कुन कुरा छैन र नेपालमा अकबरे, अम्रिसो, अलैँची, अदुवा, चिया, उखु, आलु जस्ता नगदेबाली लगाएर विश्वबजारमा निर्यात गर्ने हो भने आज कुनै मदनलेआफ्नी प्राणप्यारी मुना र बुढी आमालाई घरमा एक्लै छोडेर रगत पसिना र जवानीसँग पैसा साट्न ल्हासा जानुपर्दैन । युवाहरू अरबको मरुभूमिमा पसिना घ बगाउँन जानाले बाँझो रहेको गैरीखेत अब युवाहरूले नै पौरख गरेर हराभरा बनाउने समय आएको छ । आफ्नो माटोमा पसिना बगाउने हो भने सुन फल्छ । त्यसैले त नेपालको समृद्धिका लागि पहाड बनेर दुःखका आँधीहरू सामना गर्नु, बाँध बनेर अभावका सुनामीहरू छेक्दै ढाल बनेर गरिबीका प्रहारहरू सहने दायित्व युवावर्गको छ । नेपालमा रहेका विभिन्न जडीबुटी तथा कच्चा पदार्थहरूको प्रयोग गरेर औषधि उत्पादन गर्नु, उद्योगहरू सञ्चालन गर्नु, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी निरक्षता उन्मूलन गर्नु, चेलीबेटी, तथा प्रौढशिक्षा सञ्चालन गर्नु विद्यालय, अस्पताल, आवास गृह, कलकारखाना निर्माण तथा सञ्चालन गर्नु, सडकसञ्जाल विस्तार गर्नु, वन संरक्षण ग्रामीण तथा सहरी विकास कार्यक्रमहरू सञ्चालन गर्नु युवाहरूको प्रमुख दायित्व हो। वर्तमान समयमा युवाहरूको क्षमता विकास, राष्ट्रिय हितका लागि उनीहरूको सही परिचालन, रोजगारी र हरेक पक्षमा युवाहरूलाई सक्रिय बनाउनका लागि सरकारले योजनावद्ध तबरले नीतिगत कार्यक्रमहरू थालनी गरेको छ । युवा सरोकारका विषयलाई व्यवस्थित रूपमा सम्बोधन गरी नेपालमा दिगो शान्ति तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि विशेष आवश्यकता महसुस गरी २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको छ । युवाशक्ति राष्ट्रको अनमोल सम्पत्ति हो । युवा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका र समाज परिवर्तनका संवाहक हुन् । कुनै पनि युवा अरबमा श्रम बेच्न जानु नपरोस्, राष्ट्रको समृद्धिका लागि देशमै बसेर हातेमालो गर्न सकुन्भनेर युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित कार्यक्रम तथा योजनाहरू ल्याइरहेको छ । सरकारले युवानीति २०६६ लागु गरेको थियो । जसमा युवाहरूमा उद्यमशीलताको विकास, नैतिकता, चारित्रिक गुण तथा अनुशासनको विकास, शिक्षाआर्जन तथा वृत्तिको अवसर, हरेक हिसाबले युवा सशक्तीकरण, युवामा रहेका अन्तरनिहित क्षमताको प्रस्फुटन, सिप र कौशलको उत्पादनशील क्षेत्रमा प्रयोग, युवाहरूमा सकारात्मक र वैज्ञानिक सोचको विकास, प्रतिभावान युवालाई देशमै वृत्तिविकासको अवसरजस्ता नीतिहरू रहेका थिए । त्यसपछि सरकारले राष्ट्रिय युवानीति २०७२ लागु गरेको छ । यस नीतिमा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहभागिता तथा परिचालन, लागुपदार्थ दुव्र्यसन नियन्त्रण, मानवतस्करी तथा बेचबिखन नियन्त्रण, अपराध तथा हिंसाबाट युवालाई मुक्त गर्ने, विज्ञान तथा सूचना प्रविधिमा युवाहरूको पहुँच विकास गर्ने, शान्ति स्थापना र द्वन्द्व समाधानमा युवा सहभागिता, समानता, समावेशीकरण र समविकासजस्ता कुराहरू स्पष्ट रूपमा उल्लेख गरेको छ । राष्ट्रिय विकास र समृद्धिको रथ हाँक्ने सारथी युवाहरू हुन् । आज त्यो लगाम युवाहरूका हातमा छ । समृद्ध नेपाल निर्माणको महायज्ञमा चरु बनेर होमिनुपर्ने दायित्व युवावर्गको छ । जीवनको सबैभन्दा ऊर्जाशील समय र सम्भावना बोकेका युवाहरूले राजनीतिमा कुशल नेतृत्व गर्न सक्छन्। युवामा भएको जोस, जाँगर, सिप र उत्साहलाई देशकै स्रोतसाधन प्रयोगमा लगानी गरेर पनि सजिलै जीवनस्तर, आर्थिक समृद्धि र राष्ट्रिय आयमा वृद्धि गर्न सकिन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियान पूरा गर्नका लागि नयाँ सोच र ऊर्जाले भरिएको दक्ष र प्रविधियुक्त मानवस्रोत प्रमुख सर्त हुन् । हरेक प्रकारको श्रमलाई सम्मान गर्ने, देशमै नयाँ अवसरको खोजी र सिर्जना गर्ने काम युवाको हो । देशविकासका लागि प्राणको बाजी लगाउनु युवाको दायित्व हो ।

लेखक परिचय

रेजिना आपगाईँ साहित्य लेखनमा नव प्रतिभाको रुपमा उदाएकी छिन् । उनले राष्ट्रब्यापी निबन्ध प्रतियोगितामा द्वित्तिय स्थान समेत हासिल गरेकी छिन् 






-----------------------------------------------------------------------------------------


समृद्धि हामी सबै नेपालीको चाहना र आशा हो । विकास प्रयासको उच्चतम प्राप्ति हो । नेपाली वृहत् शब्दकोशका अनुसार समृद्धिको अर्थ धनधान्य आदिले सम्पन्न, पुगिसरी आएको, उन्नतशील वा उन्नत हो । संक्षेपमा ‘समृद्धि’ शब्दले व्यक्तिको सम्पन्नतालाई जनाउँछ । यो सम्पन्नता विशेष गरी आर्थिक क्षेत्रसँग बढी सम्बन्धित रहेतापनि वृहत् अर्थमा समृद्ध भन्नाले सम्पूर्ण सर–सुविधायुक्त, कुनै कुराको पनि अभाव नरहेको अवस्था हो । हरेक नेपाली परिवारले मानवोचित जीवन जिउन पुग्नेगरी खर्च गर्ने सामथ्र्य प्राप्त गर्नु नै हाम्रो अर्थ र परिवेशको व्यवहारिक समृद्धि हो ।

Advertisement

विकास हासिल गरेपछि त्यसको पहिलो प्रभाव समृद्धि हो भने अन्तिम उपलब्धि सुख हो । समृद्धि विकासको भौतिक पक्ष हो भने सुख वा खुसी आध्यात्मिक/आत्मिक पक्ष हो । कुनैपनि देशको समृद्धि त्यही देशका नागरिकहरुका तन, मन, धन र विज्ञानबाट मात्र सम्भव हुन्छ । विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपूर्ण सम्पन्नता सहितको समृद्धि निर्माण गर्नु नै आजको आवश्यकता हो । उच्च दरको आर्थिक वृद्धि, सम्मानित रोजगारीको सिर्जना, व्यापार सन्तुलन, पर्यावरणीय सन्तुलनलाई केन्द्रविन्दूमा राखी नागरिकलाई शान्तिपूर्ण स्वतन्त्रता, स्वःशासन, समतामूलक तथा स्वाभिमानको प्रत्याभूतिसहित सम्पूर्ण विशेषताहरुको उपलब्धता भएको समाज निर्माण गर्नु नै वास्तविकरुपमा समृद्धि हो ।

युवाशक्ति परिवर्तनको संवाहक हो । समृद्धिको मेरुदण्ड हो । युवा उमेरमात्र होईन, प्रवृत्ति हो, दृष्टिकोण हो, जोश जाँगर र हिम्मतको पर्याय पनि हो । भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा जनसंख्यालाई संसारभरिका देशहरुले आ-आफ्नै उमेरको परिधीमा राखेको पाईंन्छ । नेपालको सन्दर्भमा भने राष्ट्रिय युवा परिषद ऐन, २०७२ले १६ बर्ष देखि ४० बर्षको उमेर समूहलाई युवा जनसंख्या मानेको छ । २०६८को जनगणना अनुसार कुल जनसंख्याको करिब ४० प्रतिशत युवा छन् ।अझै पनि झण्डै आधाजसो युवा श्रमशक्ति जीविकाको लागि कृषिमा आश्रित छन् । देशका युवाशक्तिलाई मुलधारमा समाहित गर्न नसकेर नै हाम्रो समृद्धिको आकांक्षा साकार हुन नसकेको हो । समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा हुनै नसक्ने कल्पना होईन । लियो टल्सटयले भनेका छन्–‘क्रान्ति विचारको उपज होइन, यो त युवावर्गको परिवर्तनको चाहना हो । त्यस्तै स्वामी विवेकानन्द भन्छन्–कुनैपनि देशको समृद्धि त्यो देशको युवा शक्तिले निर्धारण गर्दछ ।

युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जेपनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो । उनीहरुलाई परिवर्तनका संवाहक मानिन्छ । समाज विकासको लागि युवा शक्ति निडर र निस्वार्थ भै लाग्नुपर्छ यसका लागि उनीहरुलाई संगठित र परिचालन गर्न युवा मैत्री कार्यक्रम स्थानीय स्तरसम्म लैजानुपर्छ । अहिले ‘युवा भिजन–२०२५’ र दश वर्षे रणनीतिक योजना र कार्यक्रम मार्फत युवाका समस्या र चुनौती पहिचान गरि उनीहरु लक्षित कार्यक्रम र अवसर प्रदान गर्ने जमर्को गरिएको छ । यो सराहनीय छ ।

समृद्धिको ढोका कसरि खोल्ने ? विकासको मूलस्रोत कहाँबाट आउँछ ? विभिन्न विकसित देशका हेर्दा युवा शक्ति नै देश विकास र समृद्धिको मुहान भएको तथ्य पाईंन्छ । जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन् ती देशमा मरुभूमिमा पनि पानीको मूल फुटेको छ । पहाड मैदान भएका छन् । उजाड जमिनमा सुन्दर, शक्तिशाली भव्य भवन, विद्यालय, अस्पताल, आवासगृह, उद्योग कलकारखाना खुलेका छन् । तर बिडम्बना नै भन्नुपर्छ हाम्रो देशका युवाले आफ्नो देश निर्माणको अभिभारा लिन पाएका छैनन् । अवसरको खोजिमा विदेशिन बाध्य छन् । उचित अवसर नहुउँदा प्रतिभा पलायन झन बढ्दो छ ।

कागज र भाषणमा जतिसुकै लेखेपनि विकास र समृद्धि त्यसै आउँदैन । त्यसका लागि आधुनिक सिप, क्षमता, जाँगर भएका परिश्रमी युवा शक्ति नै चाहिन्छ समृद्धिको सपना साकार पार्न । जबसम्म हामीले आफ्नै पसिनाको मूल्यको महत्व थाहा पाउँदैनौं तबसम्म हामीले समृद्धि प्राप्त गर्न सक्दैनौं । एकातिर गाउँका उर्वर भूमिहरु त्यसै बाँझो पल्टिएका छन् । हरेक वर्ष अन्न, फलफूल र तरकारी आयात गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था छ । अर्कोतिर लाखौं युवाहरु परदेशमा पसिना बगाउन अभिषप्त छन् । तसर्थ युवालाई सिर्जनशील, सिपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि राज्यका नीति र कार्यक्रममार्फत युवाका चासोहरुलाई समुचित ढङ्गले सम्वोधन गरिनुपर्छ । राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन गरिनुपर्छ ।

देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागिता, युवाहरु बीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाहरुको संरक्षण र सम्वद्र्धनको व्यवस्था, राष्ट्र विकासमा युवाको उर्जा, ज्ञान, सिप र क्षमताको उपयोग गर्नेजस्ता विषयलाई संवोधन गरिनुपर्छ । हाम्रा युवाहरु खाडी मुलुकहरु, कोरिया, जापान, मलेसिया लगाएतका देशमा पसिना बगाईरहँदा यता गाउँमा मलामीसम्म नभेटिने अवस्था बिद्यमान छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको पैसाले क्षणिक समृद्धिजस्तो देखिएपनि दिर्घकालिन हिसाबले देश विकास हुँदैन । दिनहुँजसो बाकसबन्द भएर आउने नेपाली युवाका शवहरु अनि तिनका आश्रित परिवारका आँशुको मुल्य रेमिट्यान्सको मुल्यसँग तुलना गर्न सकिदैन । युवाहरु देशका गहना हुन, महत्वपूर्ण निधी हुन । अब उनीहरुलाई विदेशिन नपर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

विकासको अग्रगामी सोंच र त्यो सोंचमा भरपर्दो तागत भरेर देशलाई समृद्ध बनाउने दायित्व युवाहरुको हो । ‘युवा उमेर भनेको धनी बन्न तथा गरीब बन्न दुबै अवस्थाको लागि सहि उमेर हो।’ यो भनाई हो दार्शनिक युरपिडिजको । त्यस्तै ए पि जे अब्दुल कलाम भन्छन्–मैले मेरो जीवनमा करिब दुई करोड युवा भेटेँ र हरेक युवा अरुभन्दा फरक बन्न चाहेको पाएँ । हरेक युवाले राष्ट्रपतिको दायित्व बोध गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्न सक्छन् । हरेक परिवारबाट युवाहरु बिदेश पलायन हुने र त्यसैलाई प्रतिष्ठा र गौरव ठान्ने सामाजिक मनोविज्ञान जबरजस्त रुपमा स्थापित भएको छ आजकाल । यसलाई अब त्याग्नुपर्छ । हिन भावना र मनोविज्ञान त्याग्नुपर्छ ।

युवावर्ग निराशा र कुण्ठा बोकेर बस्ने होइन, आशावादी भएर कर्ममा तल्लिन हुनुपर्दछ । विगतको अनुभवबाट सिक्दै भविष्यप्रति आशावादी चिन्तन मननमा लाग्नुपर्छ । अनिमात्र सम्भव हुन्छ समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय अभिभारा । देशको सामाजिकआर्थिक अवस्था र राजनीतिक नेतृत्वलाई दोष लगाएर विदेश पलायन हुने प्रवृत्ति बढ्दो छ । करिब ४५ लाख युवा यतिबेला विदेशी भूमिमा मिहिनेत गरिरहेका छन् । विदेशी भूमिमा श्रम, सिप र पसिना बगाएतापनि संकटको बेला मातृभूमि नै प्यारो हुदोरहेछ भन्ने गतिलो पाठ कोभिड–१९ संक्रमणको बेला हामी सबैले अनुभव ग¥र्यौं।

राष्ट्रनिर्माणमा अनुसन्धान, सिर्जना, नवीनता र उद्यमशील गुण बोकेका युवाहरुको नेतृत्व आवश्यक हुन्छ । देशमा विद्यमान समस्याहरुको पहिचान गरेर समाधानको लागि विकल्प खोजी गर्ने बहस चलाउनुपर्छ र यसको नेतृत्व युवाले गर्नुपर्दछ । समृद्धिको नयाँ दृष्टिकोण सहितको योजना तर्जुमा गरिनुपर्छ । विदेशी विकासका नमूना होइन कि हाम्रो माटो सुहाउँदो मौलिक मोडेल विकास गर्नुपर्छ । विश्व दृष्टिकोण बुझ्दै स्थानीय आवश्यकता सँग तालमेल हुने व्यवहारिक कार्ययोजना र नीति निर्माणमा युवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । सबैतहका सरकारमा युवाहरु सम्मिलित ‘विशेषज्ञ समुह’ निर्माण गरि युवा शक्तिलाई परिचालन गर्न सकिन्छ । प्रतिभा पलायनको जुन कहाली लाग्दो अवस्था छ, अहिले त्यसलाई रोक्न राष्ट्रिय सङ्कल्प र प्रतिवद्धता चाहिन्छ ।

समृद्ध राष्ट्र निर्माणको लागि आधुनिक समयको मागअनुसारको दक्ष र प्राविधिक जनशक्ति पहिलो शर्त हो । अनुशासित, स्वावलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति अर्को महत्वपूर्ण आधार हो । राष्ट्रिय, पहिचान, राष्ट्रिय गौरव एवम् स्वाभिमानयुक्त नीति र नेतृत्वबाट मात्र युवावर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । यसका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकास निर्माण लगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । क्रान्ति, राजनीतिक परिवर्तन, स्वतन्त्रता र अधिकार प्राप्तिको लडाईं सकिएको छ । अबको मार्ग विकास र समृद्धिको हो । संविधानका अक्षरमा लेखिएका कुराले समृद्धि यत्तिकै प्राप्त हुने होईन । अक्षरका भावना अनुसारको सामाजिक आर्थिक रुपान्तरण गर्न सकियो भनेमात्र सार्थक हुन्छ ।

समृद्धिको पहिलो खुड्किलो हो आफ्नै गाउँघरमा आधारभूत मानवीय आवश्यकताको सम्वोधन हुने गरि जीविकोपार्जनको प्रबन्ध । शान्ति सुरक्षा, पहिचान, वृत्तिविकास, सामाजिक सद्भाव, सामाजिक सुरक्षा, मनोरञ्जन, सार्वजनिक सेवा र सुविधा, पारदर्शिता, गोपनीयता, स्वतन्त्रता, अन्तरसम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, दीगोपन जस्ता अनिवार्य एवम्पूरक तत्वहरु नै समृद्धिका शर्तहरु हुन । यी प्राप्त गर्न एउटा व्यक्तिको तत्परता र सपनाले मात्र सम्भव हुँदैन । आलोचना गर्नेहरु भन्छन-हैट ! राम्रोसँग एक पेट खान र एकसरो जीउ ढाक्ने साधन त पर्याप्त छैन के को समृद्धि ? कहाँबाट आउँछ समृद्धि ?

सर्वप्रथम हामीले हाम्रो बाँच्ने तरिका बदल्नु पर्दछ । सकेसम्म धेरैभन्दा धेरै सम्पत्ति थुपार्ने,सकेसम्म सरकारलाई कर नतिर्ने वा कमभन्दा कम तिर्ने । देखासिकी गर्ने, सके यूरोप अमेरिका नसके अरु विकसित देश पस्ने, त्यो पनि नभए राजधानी या विकसित सहर ताक्ने । सन्तानलाई माध्यमिक शिक्षा सक्ने वित्तिकै विदेश पठाउने, सकेसम्म कुनै पनि काम नगर्ने तर सम्पत्ति थुपार्नुपर्ने जस्ता विकृत सोचाई त्याग्नुपर्छ । हामी सामाजिक प्राणी हौं त्यसैले हाम्रो सोच आत्मकेन्द्रीत मात्र हुनुहुन्न । कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढी युवा हुनु हाम्रा लागि जनसाङ्ख्यिक हिसाबले महत्वपूर्ण सबल पक्ष हो । किनकी यो वर्ग आर्थिक रुपमा सक्रिय, आत्मनिर्भर र उर्जावान शक्ति हो । युवालाई राज्य संचालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट आशातित लाभ उठाउन सक्दैन । उनीहरु कुलत, विकृति, Þद्वन्द्व र अस्थिरतामा फस्ने स्थिति आउन सक्छ । परिवर्तनका संवाहक युवाहरुको भूमिका अनन्त हुन्छ ।

यतिबेला युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाहरुको काँधमा छ । जसरी विगतमा युवाहरुको सहभागितामा सबैखाले आन्दोलन, परिवर्तन, युद्ध भए अब त्यसैगरि युवाशक्तिलाई उपयोग गर्न सके अवसर हुन्छ नभए चूनौती । हाम्रा गाउँघरमा अचेल पहिलेजस्तो युवाहरुको उपस्थिती छैन । अध्ययन र रोजगारीको सिलसिलामा देश बाहिर छन् । उनीहरुको महत्वलाई राष्ट्रको समृद्धिको मार्गमा समाहित गर्न ढिलो भैसकेको छ । राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व अहम हुन्छ । चारैतिर बेथिती र अराजकताको चक्रव्यूहमा फसेको देशलाई सहि दिशा निर्देश गरेर समृद्धिततर्फ लैजानु युवावर्गको कर्तव्य र दायित्व हो । यसका लागि युवा आफै रोल मोडेल बन्न सक्नुपर्छ । भिडको पछि क्षणिक स्वार्थका लागि कुद्ने प्रवृत्ति त्याग्नुपर्छ । उद्यमशील हुनुपर्छ । राज्यले उचित नीति निर्माण गरेर उनीहरुलाई समेट्नुपर्छ ।

Tuesday, January 10, 2023

मेरो देशसंग फूल :

 मेरो देशसंग फूल :

फुल्छन फूलहरु हिमालभरी गुरासँका 

फुल्छन फूलहरु पहाडभरी लालुपातेका 

अझै मेरो प्यासी आँखालाई फूलको तिर्खा मेटिएन

अझै मेरो ------- दृष्टिलाई फूलको दृश्य भरिएन 

फूल त फूल -

माटोको पनि बन्न सक्नुपर्छ। 

फूल त फूल -

खेतको आली र बाझो टारीमा पनि फुल्न सक्नुपर्छ। 

फूल त फूल -

नवोईलिने र नझर्ने प्रकृतीको पो हुनुपर्छ। 

--------------1 -------------------------------------

अब,

श्रम र पसिना धर्तीमा मुछेर,

सयपत्री फूलको थुङ्गामा शरद बिच्छ्याउनुपर्छ। 

फूल फूल मिलेर सुबासिएको फूलबारी जस्तै 

रमाइलो सुन्दर बिहानी निम्त्याउनुपर्छ। 

नटुंगिने खोलाको गीत जस्तै शालीन,

चार बर्ण, छत्तिस जातको फूलबारी सजाउनुपर्छ। 

-----------------------------२ -------------------------------

जागौ अब,

केस्रै केस्रामा विभक्त नभई,

फूल जस्तै गुच्छै गुच्छामा फक्रन सकौ 

त्यान्द्रै त्यान्द्रामा लात्रिनु सट्टा,

धान जस्तै बालै बालामा झुल्न सकौ  

बयरको गेडा झैँ झार्नुको साटो ,

अनारको दाना दानामा कस्सिन सकौ 

--------------------३ ---------------------------------

अब म माटोको किरिया खाएर भन्छु,

हामी नेपाली तारा तारा भएर उदाएपनि 

जून बनेर अन्धकारमा  पूर्णिमा झैँ  चम्काउनुछ 

ऋचा ऋचा भएर छरिए पनि ,

चार बेदका श्लोक सिर्ज्याउनुछ 

औला औला भएर ठडिए पनि 

दुई हात जोडेर ताली बजाउनुछ। 

-----------------४ ----------------------------

अनि,

फूलको पत्रैपत्राको छरपष्ट भूमीलाई,

थुङ्गोजस्तै  सग्लो ढिक्का नेपाल बनाउनुछ। 

थुङ्गोजस्तै  सग्लो ढिक्का नेपाल बनाउनुछ। 

---------------५ ------------------

    (समाप्त )

  डा दीपक यात्री 

रचना मिति : २०७९ पौष १४ गते