Wednesday, March 8, 2023

ऐना:

 ऐना:

मान्छेले आफ्नो प्रतिबिम्ब आफैले हेर्ने हो भने

मान्छेले आफ्नो छबि आफैले उजागर गर्ने हो भने 

आफ्नो हृदयको शिशा आफैले चट्ट पुछ 

अनि आफ्नो मुहार ऐन अगाडि प्रस्तुत गर 

कृपया याद गर -

ऐनाको पछाडिपट्टिको इनामेलबाट 

तिम्रो घमण्डको प्रकाशको चुहावट पो भएको छ कि !

-----------------१ ---------------------------------------

यो पनि ध्यान राख -

ऐनाको शिशा पुछ्न

तिम्रो हृदयको सुषुप्त भावनालाई ब्युझाउ 

ऐनाको इनामेललाई गाढा पार्न 

तिम्रै अनुभवको रंगले  रंग्याऊ। 

--------------------------२ ----------------------------

अब-

तिमीभित्र कल्पनाको एउटा सिकर्मी जन्मोस 

जसले कविताको सुन्दर फ्रेम तयार गर्नेछ 

तिमीभित्र सृजनाको एउटा डकर्मी जन्मोस 

जसले गजलको  स्वादिलो पर्खाल निर्माण गर्नेछ 

अनि शिशा, इनामेल र फ्रेमको संगम

शिल्प, कला र श्रमको संयोजन हुनेछ। 

---------------३ -------------------------------

पुन:-

आफैले निर्धक्क हेर कतै अहमताका डण्डीफोर र घाऊहरु 

आफैले गौणले नियाल कतै धृष्टताका चाया र फोहोरहरु 

आफ्नै बिश्वासमा हेर आफ्ना बेखुशी, दु:ख र पीडाहरु 

आफैले स्पष्ट देख आफ्ना हर्ष, उन्माद र खुशीहरु 

---------------------४ ----------------------------------------

अबदेखि,

यदि तिमी आफ्नो प्रतिबिम्ब आफै हेर्न चाहन्छौ भने 

आफैभित्रको आत्मीय ऐनाबाट हेर्न सक्छौ 

यदि तिमी आफ्नो छबि आफैले चिन्न चाहन्छौ भने 

आफैभित्रको मौलिक ऐनाबाट देख्न सक्छौ। 

-----------------------५ -------------------------

(समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति :  २०७९ साल फाल्गुन २५  गते 

Tuesday, March 7, 2023

कबिता

   "कबिता"

कबिता तिमीलाई मैले जुन दिनदेखि देखे

बास्तबमा संसारलाई त्यही दिनदेखि देखे 

कबिता तिमीलाई मैले जुन क्षणदेखि पढे 

बास्तबमा भावनाका पनहरु त्यही पलबाट पढे 

कबिता मैले तिमीलाई जुन एकान्तदेखि लेखे

बास्तबमा यथार्थका गीतहरु त्यही एकान्तदेखि लेखे।  

-------------१ --------------------------------

तिमीलाई देखेको दिनलाई म सधै सुदिन भन्छु 

तिमीलाई पढेको क्षणलाई म सधै शुभक्षण मान्छु 

तिमीलाई लेखेको एकान्तलाई म सधै निम्त्याउछु 

त्यही सुदिन -

आज मेरो हर बेदनाको पर्याय बनेको छ 

त्यही शुभक्षण -

आज हर प्रहरको साक्षी भएको छ 

त्यही एकान्त -

आज मेरो हर भावनाको उद्गम बनेको छ। 

--------------------२ ---------------------------------

त्यसैले त कबिता -

तिमी यस धरतीकी जल रहिछौ 

म स्वयममा जलचर मत्स्य बनेछु 

तिमी यस आकाशकी मेघ रहिछौ 

म आफैमा घनघोर बर्षा भएछु 

तिमी ऋतुमा शालीन बसन्त रहिछौ 

म खुद हरियाली बन वृक्ष भएछु। 

-------------------३ ----------------------

त्यसैले त -

तिमीलाई मन मस्तिष्कमा सजाएर 

भावनै भावनामा बगाउन मन लाग्छ 

अझ साच्चै भन्नुपर्दा -

आफूमाथि हावासंगै ओल्टाउदै  पल्टाउदै 

चंगाजस्तै माथि माथि उडाउन मनलाग्छ  

नढाटिकन भन्दा-

यो गह्रौ छातिमा तिम्रो स्पर्श गरेर 

भुवाजस्तै हलुका बनाउन मनलाग्छ 

हृदयदेखि नै ब्यक्त गर्दा-

यी स्वच्छ आखाँहरुमा तिम्रो तस्बीर छरेर 

परेलीभित्रका आँशुहरु झारिदिन मनलाग्छ। 

------------------------४ -----------------------------

आऊ कबिता !

तिमी मसंगै आऊ !!

म आफ्ना कथा तिमीलाई मात्र सुटुक्क भनूला 

म आफ्ना ब्यथा तिमीलाई मात्र निर्धक्क सुनाउला

म आफ्ना पिडा तिमीसंग मात्र निर्बिघ्न बिसाउला 

म आफ्ना कष्ट तिमीसंग मात्र आपसमा साटूला 

आऊ कबिता !

तिमी मसंगै आऊ !!

------------------------५ ------------------

(समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति :  २०७९ साल फाल्गुन २५  गते 

Saturday, March 4, 2023

प्रकृतिसंग

    प्रकृतिसंग 

 प्रकृति गतिशील छ 

प्रकृति स्वचालीत छ 

ऊ नदी हो, जति रोक्न खोज उति अघि बग्छ 

ऊ हावा हो , जति छेक्न खोज उति बेगले चल्छ 

नदीको बेगलाई मान्छेको बाधले रोक्नुहुदैन 

हावाको रफ्तारलाई हत्केलाको आडले छेक्नुहुदैन। 

-------------१ ----------------------------------

ऊ प्रकाश हो , जति छेक्न खोज उति फैलिदैजान्छ 

ऊ क्षितिज हो, जति पुग्न खोज उति टाढिदै जान्छ 

प्रकाशको पुञ्जलाई मान्छेको हत्केलाले छेक्न सक्दैन 

क्षितिजको घेराईलाई मान्छेको हिडाईले भेट्न सक्दैन 

त्यसैले,

प्रकृतिसंग नाजिस्क, यो स्निग्ध हुन्छ 

स्वरुपतासंग नचिढ, यो सौम्य हुन्छ। 

--------------२ ----------------------------------------

प्रकृति -

ऊ सहनशील पृथ्वी हो 

ऊ ब्यापक बिशाल ब्रम्हाण्ड हो 

ऊ फराकिलो आकाश हो 

ऊ गहिरो बृहत समुन्द्र हो 

ऊ लामो बगिरहने नदी हो। 

--------३ -----------------------------

प्रकृतिसंग रम्नु जीवनको अद्भुत रमाइलो हो 

प्रकृतिसंग जुध्नु जीवनको ठूलो सन्तुष्टी हो 

प्रकृतिको उपभोग गर्नु जिन्दगीको एउटा आनन्दता हो 

प्रकृतिसंग हास्नु जिन्दगीको एउटा सुख हो 

प्रकृति -

जिबनको पर्याय हो 

जीवनको अपरिहार्य हो 

-------------------४---------------------------

त्यसैले म पनि ,

प्रकृतिसंग आफूलाई शापित बनाउछु, अभिशाप खोपिएर 

प्रकृतिसंग आफूलाई बिष पिलाउछु, सुकरात बनेर 

प्रकृतिसंग आफूलाई क्रसमा सजाउछु, जिसस बनेर 

प्रकृतिसंग आफूलाई ज्ञान प्राप्त गराउछु, बुद्द बनेर 

प्रकृतिसंग-

आफूलाई पर्याय बनाउछु

आफूलाई अपरिहार्य बनाउछु। 

-------------------५ --------------------------------

आऊ,

तिमी पनि म संगै आऊ 

प्रकृतिको आकाश जस्तै बिशाल भाइचारा बनाऔ

प्रकृतिको समुन्द्र जस्तै गहिरो बन्धुत्व जगाऔ

प्रकृतिको नदीजस्तै लामो भातृत्व बनाऔ

 " ॐ सर्वे भवन्तु सुखिनः 

सर्वे सन्तु निरामयाः 

सर्वे भद्राणि पश्यन्तु 

मा कश्चित् दुःख भाग्भवेत्। "

--------६ ------------------------

  (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति :  २०७९ साल फाल्गुन २० गते 

Friday, March 3, 2023

ऊ कबि थियो


ऊ 

एउटा मात्र त्यो ब्यक्ति हो

जो एकान्तमा 

नयाँ नयाँ बिचार जगाउथ्यो 

र नीरबतामा

आफूसंग आफै रमाउथ्यो 

अनि शून्यतामा 

कुन्नि कोसंग लजाउथ्यो 

र मौनतामा 

कलम कापी समाउथ्यो 

ऊ कबि थियो। 

-----------१ ------------------------------

ऊ 

एउटा मात्र त्यो ब्यक्ति हो

जो टुक्रिएको आभासमा 

आफ्नो पीडा, बेदना र बिरहलाई 

खालि बिगतको टुक्रामा बिसाउथ्यो 

स्तब्धतामा,

आफ्नो हृदयलाइ मसिभित्र खनाउथ्यो 

र उदासी समयहरुलाई 

भावनाको लहरमा बगाउथ्यो 

ऊ कबि थियो। 

------------२ ------------------

ऊ 

एउटा मात्र त्यो ब्यक्ति हो

जो अविरल ग्लानीमा 

आफ्नो सुन्दर संसार बनाउथ्यो 

असह्य पिडामा 

सुखद कल्पनाको महल बनाउथ्यो 

अनि आन्तरिक बिरक्तिमा 

स्वयम भाबुक सृष्टि जन्माउथ्यो 

र एकैछिन घोरिएर 

कलम कापी समाउथ्यो 

ऊ कबि थियो। 

----------३ -----------------

ऊ 

एउटा मात्र त्यो ब्यक्ति हो

जो उदासी समयहरुमा 

आफै आफैसंग गुनगुनाउथ्यो 

निस्सार मोहहरुसंग 

टाढैदेखि अघाउथ्यो 

अनि आर्तगत जीबनसंग 

तर्क बितर्कहरु जगाउथ्यो 

र एकांकी बाताबरणमा 

कलम कापी समाउथ्यो 

ऊ कबि थियो। 

---------------४ ----------------

ऊ 

एउटा मात त्यो ब्यक्ति हो 

जो सुनसान बाताबरणमा 

आफू एक्लैपनि रमाउथ्यो 

संसारको बिचित्रतालाई 

आफ्नो पात्र बनाउथ्यो 

अनि कल्पनाको सागरमा 

आफू आफैभित्र रमाउथ्यो 

क्षणभरको सोचाइसंगै 

कलम कापी समाउथ्यो 

ऊ कबि थियो। 

----------५ ----------

    (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति :  २०५२  साल चैत्र  ५  गते

म हुर्किएको अर्चले नगरी

 "म हुर्किएको अर्चले नगरी"

म हुर्किएको नगरी यही हो !

बाल्य र बयस्क जीवनी यही हो !!

म जाऊ जहाँ नगरी यही छ !

म गाऊ गीत पखेरी यही छ !!

---१ -------------------------

मेरो बतासे सफा बतास !

मेरो अर्चले खुला आकास !!

बहन्छ हावा बनी हृदयको !

झुल्केर सूर्य बनी सुनौलो !!

-----२ ----------------------

कति स्वच्छ अनि सफा बतास !

म हुर्किएको त्रिपाठी निवास !!

वल्ला र पल्ला घरका छिमेकी !

पालो र पैचो गर्थ्यौ गाऊबेशी !!

-----------३ ------------------------

भैसी र बाख्रा हेरेको चरण !

उत्तिकै हरियो सदाबहार !!

सुक्दैन पानी ठूलो पधेराको !

मेट्दैछ तीर्खा प्यासी गलाको !!

-----४ -----------------

म हुर्किएको नगरी उज्यालो !

भएको रहेछ बनी बिजुलीको !!

बाटो र घाटो सडक पो भएछ !

पोखरा लेखनाथ नगरी भएछ !!

----५--------------------------

यो अर्चलेको ममता पुरानो !

बल्दैछ आगो बनी प्राणप्यारो !!

कसरी नलेखू स्वर्ग देखी देखी !

म हुर्किएको अर्चले नगरी !!

-------(समाप्त) ---------------

 --डा . दीपक यात्री

 प्रमुख सूचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

ललितपुर 

 स्थायी ठेगाना: अर्चले , पोखरा लेखनाथ –२७ ,कास्की नेपाल

रचना मिति : २०७४ श्रावण १४ गते 

   

Thursday, March 2, 2023

बिडम्बना

  "बिडम्बना"

 लटरम्म फलेको बयरको झाङ्गको फेदमा 

धारिलो परेका काँडा हुदारहेछन

स्निग्ध सुगन्धित गुलाफको बोटमा 

तीखा काँडा चिथोर्न तयार रहेछन 

तर बिडम्बना ,

बयर खस्दा र फूल भूईमा झर्दा पनि

ती तीता काँडा त बोटमै हुदा रहेछन। 

----------------१ -----------------------

हिराको टलक झैँ चम्केका चम्किला ताराहरु 

अन्तत: झिसमिसेमा जूनसंगै झर्दारहेछन 

आकाश छेडुला झैँ बढेका बासका लिङ्गाहरु

आखिर डालीमा चरी चढेपछि भुईतिर नुग्दारहेछन

तर बिडम्बना ,

त्यही नुगेको बासले पनि 

सारा नेपालीको झुपडी ठड्याउने रहेछन। 

--------२ ----------------------------

बर्षामा छ्यांगछ्यांग बगेका खहरे खोलाहरु

हिउदमा कसरी सपक्क सुक्दारहेछन 

बर्षामा छयालफ्याल किनारा नाघेका नदीहरु 

गृष्ममा कसरी किनारा छाडी बग्दारहेछन

तर बिडम्बना ,

सुकेको खहरे खोला र छोडेको किनारामा पनि 

बालुवा त अवशेष हुदारहेछन। 

-------------------३ ---------------------

शिशिरमा बिरूप भएर उजाडिएका रुखहरु 

बसन्तमा कसरी पालुवासंगै पलाउदारहेछन 

बसन्तपछि हरियाली कसरी झाङ्गिदै 

श्रावण महिनामा ढपक्क ढाकिनेरहेछन 

तर बिडम्बना ,

गुड बनाएर रुखमा बसेको चरा

हर ऋतु र याममा पनि रुखसंगै बस्ने रहेछन। 

--------------४ ----------------------------

 (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति : २०७९ साल फाल्गुन  १८ गते 

Wednesday, March 1, 2023

स्त्रीत्व अनुभूति

 "स्त्रीत्व अनुभूति "

एकान्तमा जब मुटुको ढुकढुकी छाम्छु

धड्कनले स्त्रीत्वको अनुभूति दिन्छ। 

स्पन्दन स्पन्दनमा प्रेमको झड्का दिएर। 

हृदयमा जब भावनाको स्पर्श गर्छु 

स्पर्शताले स्त्रीत्वको अनुभूति दिन्छ 

छाति रसाएर र एक मुटु अनेकतामा बाडेर। 

आँखा जब क्षितिज क्षितिजसम्म फैलाउछु 

दृश्यले स्त्रीत्वको अनुभूति दिन्छ

मनोरम दृश्य र अपार सौन्दर्यको ईच्छा गरेर। 

जब नङ गालामा एकपटक रगडेर हेर्छु 

रगड़ाईले स्त्रीत्वको अनुभूति दिन्छ 

सौम्य, कोमल र कान्त स्पर्श दिएर। 

------------१ ------------------------------

ए !

म सोह्रै आना स्त्रीत्व अनुभव गरिरहेछु 

मेरो हृदयको कुना कुनाबाट स्त्रीत्व छचल्किरहेछ 

मेरो मुटुको तलाउबाट मातृत्व छताछुल्ल पोखिरहेछ। 

मेरो आत्माको बीज बीजबाट 

युबतीत्व उत्पत्ति भइरहेछ 

म त बास्तवमा स्त्री नै रहेछु। 

-----------२ -----------------

अझै शंका लाग्छ,

एकान्त कोठामा गएर स्त्रीत्वको पहिचान खोज्छु 

त्यहा त रजश्वालाको कुनै संकेत छैन 

ऐना अगाडि निर्बस्त्र मूर्ति ठड्याएर अबलोकन गर्छु 

त्यहा त कुनै मातृत्वको स्तन छैन 

फेरी अन्धकारमा लुकेर युबतीत्वको खोजि गर्छु

त्यहा त कुनै घोप्टो कौडीको सुन्दरता छैन। 

-----------------------३ -------------------------

म अन्यौलमा पर्छु,

प्रकृतिले मलाई पुरुषको अंग दिएर 

सम्पूर्ण रुपले स्त्रीको स्वभाव दिएकाछन

केवल बाहय दृश्य पुरुषको बनाबटी दिएर 

भित्री मुटु र हृदय साच्चि नै स्त्रीको दिएका छन् 

त्यसैले त,

हरेक क्रियाकलापमा 

म युबतीत्वको अनुभूती पाउछु 

म मातृत्वको अनुभूती पाउछु 

समष्टिमा स्त्रीत्वको अनुभूती पाउछु। 

-----------४ --------------------------


 (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति : २०५३ साल पौष १७ गते 

मलाई कबिता लेख्न मन छैन

"मलाई कबिता लेख्न मन छैन "

नेपाल आमाका सन्ततीहरु 

दिनभरी परिश्रमको कुटो खनेर 

साझ परेपछि उदास झुप्राहरुभित्र 

जब भोको र अर्ध भोको पेटले सुत्न पुग्छन 

म भित्रको शरणार्थी भावना धुरु धुरु रुनथाल्छ 

बाध्य भएर अनि कलम समाउछु 

केरकार पार्दै कबिता बनाउछु !

-----------------१ -----------------------

चर्केका घरका भित्ताहरु 

रातो माटोले लिप्दै असि बर्षीया बुढी आमा 

दियालोको धीप धीप दीपभित्र 

जब बिदेसिएको लाहुरे छोराको यादमा 

परेलीभित्र नुनिलो पानीको गण्डकी  बगाउछिन 

म भित्रको घाइते परेवा व्यथाले भुर्र उड्न थाल्छ 

लाचार भएर रुवाईका शब्दहरु ओकल्छु 

ओकलेका बमित बाक्यभित्र कबिता बनाउछु !

----------------२ ----------------------------------

के भनूँ  खै !

अन्याय अत्याचार र शोषणभित्र पिल्सिएर 

आफूलाई सुकेको बन्सो जस्तो भान हुनथालेपछि 

ऐन, कानुन र नियमको उल्लङ्घन हुदै 

आस्था र बिश्वासको बनमा डढेलो लागेपछि 

मनभित्रको भावना धाजा धाजा भएर फाटिन पुग्छ 

तनभित्रको सपना टुक्रा टुक्रा भएर टुक्रीदै फुट्छ 

अनि शब्द जोडजाड पार्दै कलम समाउछु 

शब्द तानतुन पार्दै कबिता बनाउछु। 

------------------------३ -------------------

लाग्छ -

मेरो कबिता लेखन शरणार्थी भावनाको उत्कण्ठा हो 

मेरो सृजना लेखन व्यथित मनोभावको उपज हो 

मेरो साहित्य रचना पिडित बोधको प्रतिफल हो 

यदि-

यी मेरा मनोभावलाई कसैले बुझिदिन्छ भने 

यी मेरा भावनालाई कसैले हृदयंगम गरिदिन्छ भने 

धरोधर्म,

म आजबाट कबिता लेख्दै लेख्दिन 

किनकि-

स्वेच्छाले, उमंगले, उत्साहले र उत्प्रेरणाले 

मलाई कबिता लेख्न मन छैन 

मलाई कबिता लेख्न मन छैन। 

--------------------४ -----------------------------

          (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति :  २०५३ साल भाद्र -४ गते (जन्म दिन )