Saturday, February 25, 2023

पहाडसंग एकछिन

         "पहाडसंग एकछिन "

 पहाड - एउटा महाभारत भएर उभिएको छ 

पहाड - एउटा चुरे भावर भएर ठडिएको छ 

पहाडमा बर्षाहुदा हिलो मैलो पखालिएला 

तर पहाडको सौन्दर्यतामा कुनै ह्रास आउदैन 

पहाडमा हावा हुरी चल्दा रुख बुट्यानहरु ढल्न सक्लान 

तर पहाडको स्वाभिमानमा कुनै झुकावट आउदैन 

पहाड - दरिलो छ 

पहाड - गर्विलो छ। 

----------------१ --------------------------------

पहाड- उसको परेलीमा लालुपातेहरु फुलेका छन

पहाड - उसको मुटुमा सालसिसौ बढेका छन 

कोदाको बालाहरु लहलहाउदै बालीहरु झुलेका छन 

पहाड तिनै बालीहरुसंग आफूलाई गर्ब गर्छ 

गुराँसको थुङ्गाहरु राताम्मे भएर फुलेका छन 

पहाड तिनै थुङ्गाहरुसंग आफूलाई स्वर्ग ठान्छ 

पहाड सुन्दर छ 

पहाड मन्जुल छ। 

------------२ -------------------------------

पहाड- उसको गगनचुम्बी शिरसम्म हेर्न 

मेरो भादगाऊले टोपी भुईमा  झर्छ 

पहाड  - उसको भीरको पैतालासम्म हेर्दा 

मेरो आखाँको चश्मा भुईसम्म खस्छ 

पहाड  - उसको नालीबेली परेको बाटो हेर्दा 

मेरो मन आफैमा अलमल्ल पर्छ। 

----------------३ --------------------------

पहाड - धेरै पटक उसको संदुकबाट

बिकासको फाइलहरु गायब भएकाछन 

पहाड - धेरै पटक उसको सिरानीबाट

ढाडसका कपाली तमसुकहरु हराएकाछन 

पहाड - धेरै पटक उसकै आँखा अगाडि

परिबर्तनका लालपुर्जाहरु दिनदहाडै जलेका छन। 

--------४  ---------------------------------------

तैपनि,

पहाड - हिमाललाई दैलोमा उभ्याएर हेर्छ 

पहाड - झरनालाई छातिमा झकझयाएर सुत्छ 

पहाड  - गुराँसलाई परेलीमा गाजल लगाएर हेर्छ। 

--------------------५  --------------------------------

त्यसैले,

म यो घरैघरको शहरबाट भागेर 

एउटा अग्लो पहाडमा रमाएर बस्नुछ 

म यो अस्तव्यस्त भीडबाट फुत्केर 

एउटा सुन्दर पहाडमा गएर रम्नुछ 

म यो रमणीय प्रकृतीमा रमाउदै 

एउटा पहाडको सुन्दर कबिता कोर्नुछ । 

----------------६ --------------------------

ए साथी !

तिमी पनि मसंगै आऊ 

हामी सबै मिलेर पहाडको कबिता लेखौ 

मैले भर्खरै मात्र 

पहाडको माटोको किरिया खाएर आएको छु 

पहाडको बुकीको सुबास साटेर आएको छु । 

-------------७ ----------------------

      (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १३  गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

Friday, February 24, 2023

नदीसंग एकछिन

  "नदीसंग एकछिन"

  ढुंगै ढुंगाको पहरे वजनलाई छिचोलेर 

चट्टानै चट्टानको धारिलो पहरालाई फोडेर 

जतिसुकै बिघ्न बाधा आएपनि 

जतिसुकै दु:ख कष्ट झेलेपनि

नदी रोकिन जान्दैन 

नदी मोडिन मान्दैन। 

--------------१ -------------------------------------

चाहे पहाडे वजन आफूतिर परोस

चाहे दबेर पृथ्वी छिया छिया बनोस 

नदी, खोला र नाला लिएर बगिरहन्छ 

नदी ढुंगा र मुढा पछार्दै अघि बढिरहन्छ

नदी अलिकति पनि थिचिन जान्दैन 

नदी अलिकति पनि किचिन मान्दैन। 

------------२ ----------------------------

नदी बग्नुको नियति उसको प्रगाढ आस्था हो 

नदी बढ्नुको प्रकृति उसको अमर स्वाभिमान हो 

नदीको प्रबाह आफ्नै मौलिक अधिकार हो 

नदीको हिडाई आफ्नै उत्सर्ग निष्ठा हो 

नदी पहाड पर्बत घुमेर बग्छ 

नदी अन्त्यमा समुन्द्र पुग्छ। 

-----------३ ------------------------

नदीको युधिष्ठिर सत्यबादितालाई 

दुर्योधनको घमण्डले रोक्न सक्दैन 

नदीको समुन्द्र पुग्ने गन्तव्यलाई 

पहाड तराईको कुरूक्षेत्रले छेक्न सक्दैन 

नदीको शालीनताको सच्चा रामलाई 

रावणको मुर्ख्याईले डगाउन सक्दैन। 

-----------------४-----------------------

आखिर,

 म पनि नदीजस्तै शालीन बग्न सकूँ 

म पनि नदीजस्तै सत्य बन्न सकूँ 

१ ) गण्डकीजस्तै गहिरो -----------

२) कोशीजस्तै  ठूलो --------------

३) कर्णालीजस्तै लामो ---------------

-------------५ --------------------------

         (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १२  गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

Thursday, February 23, 2023

साच्चै अर्चले अति सुन्दर छ

 

"साच्चै अर्चले अति सुन्दर छ "
 
सातैतालको यो संगम थलो |
भित्तेरी काउरे पाखा पखेरो ||
पूर्वमा दिपांग अनि बेगनास |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------१--------------------------
उत्तरमा शालीन हिमगिरी |
अन्नपूर्ण र सेतो धौलागिरी ||
पश्चिममा बेशी खास्टे ताल छ |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------२----------------------
धारापानी र ठुलो पधेरो |
बुढाको चौर खेल्ने पखेरो ||
सुमीडाडा स्कूल प्राथमिक |
साच्चै अर्चले अति सुन्दर छ ||
-------------३--------------
जन्मेर कबि बने शिरोमणी |
बुद्धि बिनोद र तरुण तपसी ||
जन्मायो गाऊ कबि लेखनाथ |
साच्चै अर्चले अति सुन्दर छ ||
------------------४-------------------
काटौंन भन्ज्यांग डाडानाकबाट |
पैदल लाग्ला सवाघण्टा एक ||
हेरौ पोखराको सौम्य दृश्य |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------५----------------------
कोलाको स्वार,माथि टुटुंगो |
बाघगोट्टी खेल्ने त्यो भुत्ते ढुङ्गो ||
डिहीको माथि बतासे चौर |
साच्चै अर्चले अति सुन्दर छ ||
-----------------६----------------
पूर्वमा घाम झुल्किदा खेरी |
टल्कीन्छ हिमाल बनी सुनेली ||
राखिको डाडा टाढा कास्कीकोट | |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------७----------------
(समाप्त)
--- डा दीपक यात्री ;लेखनाथ-२७ कास्की नेपाल

Wednesday, February 22, 2023

मनसँग भलाकुसारी

      " मनसँग भलाकुसारी "

  मन एउटा ब्रम्हाण्ड हो 

जसको भावना अथाह हुन्छ 

मन एउटा धरती हो 

जसको सहनशीलता अपार हुन्छ 

मन एउटा आकाश हो 

जसको हृदय बिशाल हुन्छ। 

-------------------१ --------------------

यही मन मन जोडिएर 

गहिरो मायाप्रीति बसेको हुन्छ 

यही मन मन फैलिएर 

भाइचारा बढेको हुन्छ 

यही मन मन गहिरिएर 

आत्मीय नाता जोडेको हुन्छ। 

-----------२ ------------------------

यही मनको सिमानाभित्र 

नालापानी र लिपुलेकको नक्सा कोरिएको हुन्छ

यही मनको बिराङ्गानासित 

अमरसिंह र बलभद्र जोडिएको हुन्छ 

यही मनको करुणाभित्र 

हिरोसिमा र नागासाकीको दर्दनाक लेखिएको हुन्छ। 

--------------३ --------------------------------------

अब मन भित्रको खेतबारीमा 

हर्ष र उन्मादको खेती उमार्नुछ 

अब मनभित्रको खोरियामा 

बिश्वास र इमानको बीऊ अङ्कुराउनुछ 

अब मनभित्रको जङ्गलभित्र 

पवित्रताको श्रीखण्ड मौलाउनुछ। 

-----------------४ --------------------------

म त भन्छु,

प्रियसीको मन जित्नु 

महाभारतको युद्द जित्नुभन्दा ठूलो कर्म हुन्छ 

आमाबाबुको मन बुझ्नु 

चारधाम तीर्थभन्दा पवित्र पुण्य हुन्छ 

गरीब बृद्दहरुको मन खानु 

मानव सेवा भन्दा ठूलो धर्म  हुन्छ। 

----------------५ ------------------------

निष्कर्ष -

मनभित्र सम्पूर्ण संसार हुन्छ 

मनभित्र अथाह भण्डार हुन्छ। 

--------६ ---------------------------

      (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १० गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

Sunday, February 19, 2023

मान्छे र मान्छेको परिभाषा

 "मान्छे र मान्छेको परिभाषा "


चार खुट्टा टेकेर घिसृएको मान्छे
भनिरहनु नपर्ला
दुइ खुट्टा टेक्न सजिलै सफल हुन्छ
अंतर्चेतानामा जेलिएको मान्छे
आखिर धर्तीमा अवतरित हुन्छ
आमाको काख च्यापिदै बाबुको हातमा पुग्छ
संसारको संस्कारभित्र आफू अरुको हुन्छ |
------------------------------------------------
मान्छे;
मान्छेकै परिधिभित्र बन्धित हुन्छ
उ बस्तुभाऊको बच्चा जस्तै
जन्मजात हिड्न बोल्नपनि सक्दैन
सायद यसरी नहिड्नु नाबोल्नुमै उ पूर्ण ठहरिन्छ
नारीको सन्ध्याबाट सृष्टी भएको नाङ्गो मान्छे
धरती टेक्नुसंगै उसका अंगहरु ढाकिन्छन
सायद यसरी ढाकिनाले नै उ मान्छे भएको हुनसक्छ|
छैटौ एघारऔ र बर्षौका दिनहरु निम्ताऊदै
उ धर्तिमाथि आफ्नो विजय देखाउछ
सायद;यसरी देखाउनुबाटनै
उसको मान्छेबन्ने शक्ति उद्घाटित हुन्छ |
--------------------------------------------------
अ हँ चाहिदैन चाहिदैन
पशुको जस्तो
जन्मजात हिड्ने र बोल्ने शक्ति मान्छेलाई
यहाँ त् बोल्नुभन्दा धेरै अघि
असत्य र झूठहरु जान्नुपर्दोरहेछ
  धर्तीमा आउनुसंगै शरीर ढाकेर
आफू अलिकति अदृश्य बनेको भानपर्दै
आफ्नो गोपनियता सम्झी लुकाउनुपर्दो रहेछ
अरु मान्छेभन्दा चलाख सम्झी
अलिकति छिपाउन सिक्नुपर्दोरहेछ
धर्तीमा खुट्टा राख्नुसंगै
उत्सव र समारोहको शान देखाउन जन्नुपर्दोरहेछ |
-------------------------------------------
त्येसैले  त म मान्छे;
झन्डै एक बर्ष प्रयाश नगरी
अगाडी पछाडी हिड्न चाहन्न |
झन्डै दुइ बर्ष संसार अबलोकन नगरी
आफ्नो मुख फोर्न कदापी चाहन्न |
|त्यसैले त;
म मान्छे मान्छेको परिभाषा नगरी
म मान्छे मान्छेको यथार्थ नबुझी
मान्छे हुन चाहन्न
१ )उभिन
२)बोल्न
३) हिड्न
.
.
.
.(समाप्त )
दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
लेखन  मिति :कार्तिक १४ गते ,बि.स. २०५६
 स्थायी ठेगाना :लेखनाथ -६ ,अर्चले कास्की
 

Saturday, February 18, 2023

लेखूँ यस्तो कबिता

 लेखूँ यस्तो कबिता :

सखारै,

मेरी बुढी आमा

घासको भारी आँगनतिर  बोकेर

बारीबाट उक्लिंछिंन 

अनि घामले पनि 

कुहिरो हुस्सुको पर्दा उघार्दै 

कलिला किरणले मेरी आमामा चमक पार्छ 

मलाई लाग्छ-

उषाको किरणजस्तै एउटा तेजस्वी कबिता लेखूँ। 

--------------------------१ -----------------------------------

दिनदहाडै,

मेरो प्यारो चन्चले छोरासँग 

कपर्दी र डन्डीबियो खेल्दै

मेरै आगनीको डिलमुनि 

प्रचण्ड गर्मी बर्षाउदै 

घामले खेतबारी बालीनाली हसाउछ

मलाई लाग्छ -

घामको प्रचण्डता जस्तै एउटा शक्तिशाली कबिता लेखूँ। 

----------------२ ----------------------------------------------

साझपाख,

पहाडको थुम्कीमा 

हली खेतालाहरुले सुस्केरा हाल्दै 

पाटी पौवा र चौतारीहरुमा विश्रामको स्वाश फेर्दै गर्दा 

गोधुली रङ्गको क्षितिज 

सुर्यास्तसंगै बिलिन भइरहेको देख्दा 

मलाई लाग्छ -

गोधुली साझजस्तै एउटा रङ्गी बिरङ्गी कबिता लेखूँ। 

-----------------३ -------------------------------------

रातपख,

आफूमाथिको सेतो आकाश 

कालो मसि मिलाएर अध्यारिदै गर्दा 

गन्तब्यमा यात्रा गर्दै गरेका बटुवाहरु 

आफ्नै पिढीमा बास माग्न ओइरिएपछि 

जूनको कुनै अस्तित्व र उपस्थिति नदेखिएपछि 

मलाई लाग्छ -

अध्यारोको बिरुद्दमा एउटा प्रभावशाली कबिता लेखूँ 

-------------------------३ --------------------------------

समष्टिमा,

प्रत्येक प्रभातमा किरणहरु फैलन सकून 

प्रत्येक मध्यान्हमा घाम्हारू टन्टलापुर हुन् सकून 

प्रत्येक साझमा क्षितिजहरु रंगीन गोधुली बनून 

प्रत्येक रातमा आकाशहरु जूनसंगै चम्किरहून 

अनि मेरो कबिता -

चारै प्रहर जस्तै सधै अमर बनोस 

मेरो सृजना -

चारै प्रहर जस्तै सधै अजर बनोस।  

-----------४  ------------------------------------

             (समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल फाल्गुन ६ गते 

Thursday, February 16, 2023

फूलसंग एकछिन :

 फूलसंग एकछिन :

फूलको रहर !

फुल्दा सबैले मोह बर्षाउछन

फूलको सुबास !!

फैलदासम्म पुतली साथै रमाउछन 

फूलको बैश !!!

फक्रदासम्म माहुरी चुस्न रमाउछन। 

---------------१ -------------------------

फूललाई घामले पोले पनि 

पोलाईको कुनै क्रन्दन निस्किदैन 

फूललाई झरीले रुझाए पनि

रुझाईको कुनै रोदन  पाइदैन 

फूललाई हुरीले हल्लाए पनि

हल्लाईको कुनै कष्ट देखिदैन। 

--------------२ -------------------------------------

हामी पनि फूलजस्तै,

रिसमा पनि आफ्नो कोमलता सम्हाल्न सकौ

दुखमा पनि आफ्नो सौन्दर्यता जोगाउन सकौ 

बिपतमा पनि आफ्नो सुबास छरिराख्न सकौ। 

-----------३ ------------------------------------

             (समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल फाल्गुन ४  गते 

Wednesday, February 15, 2023

यसपटक कबिता लेखिएन :

 यसपटक कबिता लेखिएन :

यसपटक -

कबिता लेखूँ भन्छु 

बेहुली कविताको सिन्दुर पुछिएपछि 

कविताको शीर्षक नै भेटिएन  |

----------------१ ---------------------------

यसपटक -

कबिता लेखूँ भन्छु 

फूलजस्तो कोमल शब्दहरु 

फलामजस्तो कठोर मनमा अटाउनै सकिएन। 

-------------------२ --------------------------

यसपटक -

कबिता लेखूँ भन्छु 

पहाडजस्ता अग्ला भावनाहरु 

स्वयम पहिरोसंगै बगेपछि भावना पोखनै सकिएन । 

---------------३ ------------------------------

यसपटक -

कबिता लेखूँ भन्छु

अक्षर बोकेर उभिएको सेतो हिमाल 

हुस्सुले अनुहार छोपेपछि शब्दको रुप दिनै सकिएन। 

------४ ----------------------------------------

यसपटक -

कबिता लेखूँ भन्छु

अनूभूति सहितका पवित्र मनोभावहरु 

तरंगहिन भएपछि ब्यक्त गर्ने सकिएन। 

-----------------५ -------------------------

यसपटक -

कबिता लेखूँ भन्छु

पाखा पखेराबिच फुलेका गुराँसका मनोबेगहरु 

फुल्नु अगावै निमोठिएपछि अभिव्यक्त गर्ने सकिएन। 

---- --- ६--------------------------------

          (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल फाल्गुन ३  गते 

Tuesday, February 14, 2023

चरासंग कल्पिदै :

 
     चरासंग कल्पिदै :
चरा,
स्वछन्द आफ्नै पखेटाको भरमा
उमंग आफ्नै मौलिक परिबेशमा
हरियाली भरेका बोटहरु चहार्दै
स्वतन्त्र स्वतन्त्र उडीरहेछन।
-----------------१ ------------------------
 चरा  एक हुल जत्था बनेर,
चारै दिशा घुम्दै भौगोलिक यात्रा गर्छ
चरा एक बथान जत्था बोकेर
भूगोलको कुना काप्चामा सयर गर्छ
चरालाई कुनै प्रादेशिक बन्धन छैन
चरालाई कुनै भौगोलिक रोकावट छैन।
----------------२---------------------------
मधुरम चिरबिराहाट  चराहरुको
कसैले चुच्चोमा बुझो लगाउन सक्दैन
मधुरम बोलि कोईलीको
कसैले बोलीमा कुहु कुहु रोक्न सक्दैन
अनुपम नृत्य मुजुरको
कसैले पंखमा सुन्दरताको खोट लगाउन सक्दैन।
-------------------३ -------------------------------------------
चरा बसन्तमा पालुवासंगै रमाउछ
चरा हेमन्तमा शिशिरसंगै बहलाउछ
कुनै पनि बेला आफ्नै स्वेच्छाले
रुख फेरी फेरी गुड बनाउछ
अनि जुरेली र भगरी चरीको नाममा बसन्तमा
धीतै मर्नेगरी सबैका आँखा लोभ्भ्याउछ ।
-------------४ ----------------------------------
म पनि चराजस्तै स्वतन्त्र सपनाहरु
आकाश भरी भरी उडाउन चाहन्छु
म पनि चरा जस्तै स्वछन्द बिचारहरु
वृक्ष फेरी फेरी बसाउन चाहन्छु
म पनि चराजस्तै सद्भाव प्रेमहरु
पखेटा फिजाएर देशै भरी भरी पोख्न चाहन्छु
बस नेपाल आमा,
मलाई चरा जस्तै चमक भरेको जीउ देऊ !
मलाई चरा जस्तै उमंग भरेको मन देऊ !!
----------------------५ ---------------------
(समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री
लेखनाथ-२७, कास्की
हाल :प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर नेपाल
दिनांक : २०७९ साल फाल्गुन १  गते

Friday, February 10, 2023

परदेशीको सपना :

 परदेशीको सपना :

म परदेशमा बस्दै 

स्वदेशको सम्झना बाडिरहेछु 

जन्मभूमीको माया साटिरहेछु 

मेरो सानो घरको झुपडी

पिरो धुवासंग आँसु झार्दैहोला 

मेरो तलाबारीको तोरीबारी 

सपनाजस्तै फुलेर पहेलियोहोला 

मेरो पैतेको टारी खेत 

उर्लेको बैश झैँ श्रावणमा बढ्दै होला 

मेरो टाउके गराको बारी 

मेरैलागि बाझो तिर्खा कुरिरहेको होला 

-----------------१ --------------------

परदेशमा,

खेल्दै गरेको खेलौना देख्यो, छोराछोरी सम्झन्छु 

फुल्दै गरेको फूल देख्यो, प्रियसी सम्झन्छु 

ढल्दै गरेको सूर्य देख्यो , आमाबाबु सम्झन्छु 

------------२ ---------------------

 अरुको त के कुरा,

एकाबिहानै तरकारी पाक्दा 

ठूलागराको साग नटिपेर पहेलियोकि लाग्छ 

सूर्योदयसंग चिया पिउदै गर्दा 

माली गाईको दुध गौवाभारी दुहेको याद आउछ 

बिहानै खाना पस्कदै गर्दा 

बुढी आमाको सुकेका हातले खाना पस्किए झैँ लाग्छ 

----------३ -----------------------------------------

अब,

म सुन टिप्छु भनेर बिदेसिएको भए 

आफ्नै माटामा सुन फलाउनेछु 

जून टिप्छु भनेर परदेसिएको भए 

आफ्नै आमाको ओठमा जून उदाउनेछु 

परदेश परदेशमा रहेर कल्पनु सट्टा

आफ्नै आगनीमा बसेर कबिता फुराउनेछु 

आफ्नै पिढीमा बसेर साहित्य सिर्ज्याउनेछु 

---------------------४ -------------------------------

         (समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्दि 

ललितपुर नेपाल


दिनांक : २०७९ साल माघ २६  गते 

मेरो देश, मेरै परिबेशमा :

 मेरो देश, मेरै परिबेशमा :

भीरको टाकुरीमा फुलेका छन

सपनाका राताम्मे गुराँसहरु 

खै ! कसरी टिप्ने र सिउरिने  हो 

शैलुङ्गेमा शेर्पिनीको चुल्ठोमा !

---------------------१ -------------------

धमिलो आकासमा उजाडिएको बादल 

फगत फोस्रो रुप लिएर कुदिरहेछ 

खै ! कसरी गर्जिएर बर्षने हो 

तराई, मधेश र पहाडी खेतहरूमा !

---------------२ -------------------------

अविराम बग्दै गरेका जीवनका नदी 

फगत भासिई रहेछन अप्ठ्याराका बालुवाहरुमा 

खै !कसरी पुग्ने भाईचाराको समुन्द्रसम्म 

आकांक्षाका सप्तकोशी र गण्डकीहरु !

--------------३ -----------------------------

उत्साहको आकासमा मडारिरहेको कालो बादल 

सेता गेडी असिनारुपी उत्पातसंग बर्सिएछ 

खै ! कसरी अपेक्षाको झरी बर्षने हो 

खडेरीग्रस्त नेपालीको मन मुटुहरुमा !

-------------------४ ----------------------------

सपनाको सागरमा सजिएका आखाँका नानीहरु 

देशको बलेसीबाट बलिन्द्र अश्रुधार बगाइरहेछन 

खै ! कसरी फुल्ने हुन बिकाशशील आखाँहरु 

भरभराउदो र बैशालु प्रगतीशील राष्ट्रियतामा !

------५ ----------------------------

अब,

मभित्र मुटु मात्रै हैन,

मुटुभित्र देश पनि लिएर 

मभित्र आत्मा मात्रै हैन ,

आत्माभित्र बुद्द पनि लिएर 

असजिलोको तगारो फडकदै

असम्भवको गजवार उघार्दै 

कहिलेकाही -

भोक लाग्न सक्ला अड्चनको 

प्यास लाग्न सक्ला ब्यबधानको 

निन्द्रा आउनसक्ला ढिलासुस्तीको !

--------------------६ ------------------

आऊ,

तिमी पनि मसंगै आऊ 

जीवनको चौतारीमा थकाई मारौ र बढौ 

अब,

यो देशका  काँडाहरु रुपान्तरित हुनेछन फूलहरुमा 

यो देशका बगरहरु रुपान्तरित हुनेछन खेतहरुमा 

यो देशका हिलोहरु संग्लिनेछन पवित्र जलहरुमा 

----------७ --------------------------------------

(समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, 

ललितपुर नेपाल

दिनांक : २०७९ साल माघ २६  गते