" मेरो देश, मेरो भावनामा "
हामी आफ्नो निर्धो बर्तमानमा
आफ्नै देशको मेची महाकाली कुद्नुपर्छ
हामी आफ्नै मुर्चुङ्गा र सारंगीको रेटाइहरुमा
आफ्नै चाचरी र लैबरीका भाका अट्नुपर्छ।
-------------------------१ ------------------------
हाम्रा आफ्नै रंग बिरंगका विखण्डित मनहरु
अनारको दाना झैँ सर्लक्क सिंगो मिल्नुपर्छ
हामी केस्रा केस्राका विभाजित बिचारहरु
माहुरी झैँ एकै चाकामा जुट्नुपर्छ।
-------------------२ -------------------------------
हाम्रो चेतनाको बाझो बारीमा जन्माएका अन्धबिश्वासहरु
बाउसे, कोदालो र खान्तिले बाझो फोर्नुपर्छ
अशिक्षा र बैमनुष्यहरुले उब्जाएका बाझो टारीहरु
शिक्षा र जागृतीको मलले आफै मल्नुपर्छ।
-----------------३ ------------------------------
हामी आफ्नै परिचयको पराग लिएर
फूलजस्तै रंगीन फुल्नुपर्छ
हामी हाम्रै धरातलको स्वाभिमानमा अडिग हुदै
सगर जस्तै निर्बिघ्न ठडिनसक्नुपर्छ।
-----------------------४ --------------------
हामी हाम्रै नगल्ने पानीको अक्षय लिएर
पन्चामृतले चोखिनुपर्छ
हामी जूनको आशुले निथ्रुक्क भिजेर
बिहानीको शीतसंगै उदाउन सक्नुपर्छ।
-----------------५ ------------------------------
हामी आफ्नै पाखाहरुमा गुराँस फुलाउदै
हरेक बसन्तमा कोईलीको गीत गुञ्जाउनसक्नुपर्छ
हामी हाम्रै कोशीको कन्चन पानीमा
आफ्नो स्निग्ध अनुहार पखाल्नसक्नुपर्छ।
----------६ ---------------------------------
हामी हाम्रै इन्द्रेणीको सप्तरंगीमा
बिकासको रंगिन माला पहिराउनसक्नुपर्छ
हामी हाम्रै जातजातीको सुन्दर बगैचाभित्र
बिश्वास र भातृत्वको फलहरु फलाउनसक्नुपर्छ।
-----------७ ---------------------------------------
(समाप्त )
No comments:
Post a Comment