Wednesday, March 8, 2023

ऐना:

 ऐना:

मान्छेले आफ्नो प्रतिबिम्ब आफैले हेर्ने हो भने

मान्छेले आफ्नो छबि आफैले उजागर गर्ने हो भने 

आफ्नो हृदयको शिशा आफैले चट्ट पुछ 

अनि आफ्नो मुहार ऐन अगाडि प्रस्तुत गर 

कृपया याद गर -

ऐनाको पछाडिपट्टिको इनामेलबाट 

तिम्रो घमण्डको प्रकाशको चुहावट पो भएको छ कि !

-----------------१ ---------------------------------------

यो पनि ध्यान राख -

ऐनाको शिशा पुछ्न

तिम्रो हृदयको सुषुप्त भावनालाई ब्युझाउ 

ऐनाको इनामेललाई गाढा पार्न 

तिम्रै अनुभवको रंगले  रंग्याऊ। 

--------------------------२ ----------------------------

अब-

तिमीभित्र कल्पनाको एउटा सिकर्मी जन्मोस 

जसले कविताको सुन्दर फ्रेम तयार गर्नेछ 

तिमीभित्र सृजनाको एउटा डकर्मी जन्मोस 

जसले गजलको  स्वादिलो पर्खाल निर्माण गर्नेछ 

अनि शिशा, इनामेल र फ्रेमको संगम

शिल्प, कला र श्रमको संयोजन हुनेछ। 

---------------३ -------------------------------

पुन:-

आफैले निर्धक्क हेर कतै अहमताका डण्डीफोर र घाऊहरु 

आफैले गौणले नियाल कतै धृष्टताका चाया र फोहोरहरु 

आफ्नै बिश्वासमा हेर आफ्ना बेखुशी, दु:ख र पीडाहरु 

आफैले स्पष्ट देख आफ्ना हर्ष, उन्माद र खुशीहरु 

---------------------४ ----------------------------------------

अबदेखि,

यदि तिमी आफ्नो प्रतिबिम्ब आफै हेर्न चाहन्छौ भने 

आफैभित्रको आत्मीय ऐनाबाट हेर्न सक्छौ 

यदि तिमी आफ्नो छबि आफैले चिन्न चाहन्छौ भने 

आफैभित्रको मौलिक ऐनाबाट देख्न सक्छौ। 

-----------------------५ -------------------------

(समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति :  २०७९ साल फाल्गुन २५  गते 

No comments:

Post a Comment