"मलाई कबिता लेख्न मन छैन "
नेपाल आमाका सन्ततीहरु
दिनभरी परिश्रमको कुटो खनेर
साझ परेपछि उदास झुप्राहरुभित्र
जब भोको र अर्ध भोको पेटले सुत्न पुग्छन
म भित्रको शरणार्थी भावना धुरु धुरु रुनथाल्छ
बाध्य भएर अनि कलम समाउछु
केरकार पार्दै कबिता बनाउछु !
-----------------१ -----------------------
चर्केका घरका भित्ताहरु
रातो माटोले लिप्दै असि बर्षीया बुढी आमा
दियालोको धीप धीप दीपभित्र
जब बिदेसिएको लाहुरे छोराको यादमा
परेलीभित्र नुनिलो पानीको गण्डकी बगाउछिन
म भित्रको घाइते परेवा व्यथाले भुर्र उड्न थाल्छ
लाचार भएर रुवाईका शब्दहरु ओकल्छु
ओकलेका बमित बाक्यभित्र कबिता बनाउछु !
----------------२ ----------------------------------
के भनूँ खै !
अन्याय अत्याचार र शोषणभित्र पिल्सिएर
आफूलाई सुकेको बन्सो जस्तो भान हुनथालेपछि
ऐन, कानुन र नियमको उल्लङ्घन हुदै
आस्था र बिश्वासको बनमा डढेलो लागेपछि
मनभित्रको भावना धाजा धाजा भएर फाटिन पुग्छ
तनभित्रको सपना टुक्रा टुक्रा भएर टुक्रीदै फुट्छ
अनि शब्द जोडजाड पार्दै कलम समाउछु
शब्द तानतुन पार्दै कबिता बनाउछु।
------------------------३ -------------------
लाग्छ -
मेरो कबिता लेखन शरणार्थी भावनाको उत्कण्ठा हो
मेरो सृजना लेखन व्यथित मनोभावको उपज हो
मेरो साहित्य रचना पिडित बोधको प्रतिफल हो
यदि-
यी मेरा मनोभावलाई कसैले बुझिदिन्छ भने
यी मेरा भावनालाई कसैले हृदयंगम गरिदिन्छ भने
धरोधर्म,
म आजबाट कबिता लेख्दै लेख्दिन
किनकि-
स्वेच्छाले, उमंगले, उत्साहले र उत्प्रेरणाले
मलाई कबिता लेख्न मन छैन
मलाई कबिता लेख्न मन छैन।
--------------------४ -----------------------------
(समाप्त)
स्रष्टा : ड़ा दीपक यात्री
लेखनाथ-२७, कास्की
हाल :प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर नेपाल
रचना मिति : २०५३ साल भाद्र -४ गते (जन्म दिन )
No comments:
Post a Comment