"कबिता"
कबिता तिमीलाई मैले जुन दिनदेखि देखे
बास्तबमा संसारलाई त्यही दिनदेखि देखे
कबिता तिमीलाई मैले जुन क्षणदेखि पढे
बास्तबमा भावनाका पनहरु त्यही पलबाट पढे
कबिता मैले तिमीलाई जुन एकान्तदेखि लेखे
बास्तबमा यथार्थका गीतहरु त्यही एकान्तदेखि लेखे।
-------------१ --------------------------------
तिमीलाई देखेको दिनलाई म सधै सुदिन भन्छु
तिमीलाई पढेको क्षणलाई म सधै शुभक्षण मान्छु
तिमीलाई लेखेको एकान्तलाई म सधै निम्त्याउछु
त्यही सुदिन -
आज मेरो हर बेदनाको पर्याय बनेको छ
त्यही शुभक्षण -
आज हर प्रहरको साक्षी भएको छ
त्यही एकान्त -
आज मेरो हर भावनाको उद्गम बनेको छ।
--------------------२ ---------------------------------
त्यसैले त कबिता -
तिमी यस धरतीकी जल रहिछौ
म स्वयममा जलचर मत्स्य बनेछु
तिमी यस आकाशकी मेघ रहिछौ
म आफैमा घनघोर बर्षा भएछु
तिमी ऋतुमा शालीन बसन्त रहिछौ
म खुद हरियाली बन वृक्ष भएछु।
-------------------३ ----------------------
त्यसैले त -
तिमीलाई मन मस्तिष्कमा सजाएर
भावनै भावनामा बगाउन मन लाग्छ
अझ साच्चै भन्नुपर्दा -
आफूमाथि हावासंगै ओल्टाउदै पल्टाउदै
चंगाजस्तै माथि माथि उडाउन मनलाग्छ
नढाटिकन भन्दा-
यो गह्रौ छातिमा तिम्रो स्पर्श गरेर
भुवाजस्तै हलुका बनाउन मनलाग्छ
हृदयदेखि नै ब्यक्त गर्दा-
यी स्वच्छ आखाँहरुमा तिम्रो तस्बीर छरेर
परेलीभित्रका आँशुहरु झारिदिन मनलाग्छ।
------------------------४ -----------------------------
आऊ कबिता !
तिमी मसंगै आऊ !!
म आफ्ना कथा तिमीलाई मात्र सुटुक्क भनूला
म आफ्ना ब्यथा तिमीलाई मात्र निर्धक्क सुनाउला
म आफ्ना पिडा तिमीसंग मात्र निर्बिघ्न बिसाउला
म आफ्ना कष्ट तिमीसंग मात्र आपसमा साटूला
आऊ कबिता !
तिमी मसंगै आऊ !!
------------------------५ ------------------
(समाप्त)
स्रष्टा : ड़ा दीपक यात्री
लेखनाथ-२७, कास्की
हाल :प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर नेपाल
रचना मिति : २०७९ साल फाल्गुन २५ गते
No comments:
Post a Comment