Saturday, February 25, 2023

पहाडसंग एकछिन

         "पहाडसंग एकछिन "

 पहाड - एउटा महाभारत भएर उभिएको छ 

पहाड - एउटा चुरे भावर भएर ठडिएको छ 

पहाडमा बर्षाहुदा हिलो मैलो पखालिएला 

तर पहाडको सौन्दर्यतामा कुनै ह्रास आउदैन 

पहाडमा हावा हुरी चल्दा रुख बुट्यानहरु ढल्न सक्लान 

तर पहाडको स्वाभिमानमा कुनै झुकावट आउदैन 

पहाड - दरिलो छ 

पहाड - गर्विलो छ। 

----------------१ --------------------------------

पहाड- उसको परेलीमा लालुपातेहरु फुलेका छन

पहाड - उसको मुटुमा सालसिसौ बढेका छन 

कोदाको बालाहरु लहलहाउदै बालीहरु झुलेका छन 

पहाड तिनै बालीहरुसंग आफूलाई गर्ब गर्छ 

गुराँसको थुङ्गाहरु राताम्मे भएर फुलेका छन 

पहाड तिनै थुङ्गाहरुसंग आफूलाई स्वर्ग ठान्छ 

पहाड सुन्दर छ 

पहाड मन्जुल छ। 

------------२ -------------------------------

पहाड- उसको गगनचुम्बी शिरसम्म हेर्न 

मेरो भादगाऊले टोपी भुईमा  झर्छ 

पहाड  - उसको भीरको पैतालासम्म हेर्दा 

मेरो आखाँको चश्मा भुईसम्म खस्छ 

पहाड  - उसको नालीबेली परेको बाटो हेर्दा 

मेरो मन आफैमा अलमल्ल पर्छ। 

----------------३ --------------------------

पहाड - धेरै पटक उसको संदुकबाट

बिकासको फाइलहरु गायब भएकाछन 

पहाड - धेरै पटक उसको सिरानीबाट

ढाडसका कपाली तमसुकहरु हराएकाछन 

पहाड - धेरै पटक उसकै आँखा अगाडि

परिबर्तनका लालपुर्जाहरु दिनदहाडै जलेका छन। 

--------४  ---------------------------------------

तैपनि,

पहाड - हिमाललाई दैलोमा उभ्याएर हेर्छ 

पहाड - झरनालाई छातिमा झकझयाएर सुत्छ 

पहाड  - गुराँसलाई परेलीमा गाजल लगाएर हेर्छ। 

--------------------५  --------------------------------

त्यसैले,

म यो घरैघरको शहरबाट भागेर 

एउटा अग्लो पहाडमा रमाएर बस्नुछ 

म यो अस्तव्यस्त भीडबाट फुत्केर 

एउटा सुन्दर पहाडमा गएर रम्नुछ 

म यो रमणीय प्रकृतीमा रमाउदै 

एउटा पहाडको सुन्दर कबिता कोर्नुछ । 

----------------६ --------------------------

ए साथी !

तिमी पनि मसंगै आऊ 

हामी सबै मिलेर पहाडको कबिता लेखौ 

मैले भर्खरै मात्र 

पहाडको माटोको किरिया खाएर आएको छु 

पहाडको बुकीको सुबास साटेर आएको छु । 

-------------७ ----------------------

      (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १३  गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

No comments:

Post a Comment