Wednesday, February 22, 2023

मनसँग भलाकुसारी

      " मनसँग भलाकुसारी "

  मन एउटा ब्रम्हाण्ड हो 

जसको भावना अथाह हुन्छ 

मन एउटा धरती हो 

जसको सहनशीलता अपार हुन्छ 

मन एउटा आकाश हो 

जसको हृदय बिशाल हुन्छ। 

-------------------१ --------------------

यही मन मन जोडिएर 

गहिरो मायाप्रीति बसेको हुन्छ 

यही मन मन फैलिएर 

भाइचारा बढेको हुन्छ 

यही मन मन गहिरिएर 

आत्मीय नाता जोडेको हुन्छ। 

-----------२ ------------------------

यही मनको सिमानाभित्र 

नालापानी र लिपुलेकको नक्सा कोरिएको हुन्छ

यही मनको बिराङ्गानासित 

अमरसिंह र बलभद्र जोडिएको हुन्छ 

यही मनको करुणाभित्र 

हिरोसिमा र नागासाकीको दर्दनाक लेखिएको हुन्छ। 

--------------३ --------------------------------------

अब मन भित्रको खेतबारीमा 

हर्ष र उन्मादको खेती उमार्नुछ 

अब मनभित्रको खोरियामा 

बिश्वास र इमानको बीऊ अङ्कुराउनुछ 

अब मनभित्रको जङ्गलभित्र 

पवित्रताको श्रीखण्ड मौलाउनुछ। 

-----------------४ --------------------------

म त भन्छु,

प्रियसीको मन जित्नु 

महाभारतको युद्द जित्नुभन्दा ठूलो कर्म हुन्छ 

आमाबाबुको मन बुझ्नु 

चारधाम तीर्थभन्दा पवित्र पुण्य हुन्छ 

गरीब बृद्दहरुको मन खानु 

मानव सेवा भन्दा ठूलो धर्म  हुन्छ। 

----------------५ ------------------------

निष्कर्ष -

मनभित्र सम्पूर्ण संसार हुन्छ 

मनभित्र अथाह भण्डार हुन्छ। 

--------६ ---------------------------

      (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १० गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

No comments:

Post a Comment