Friday, February 24, 2023

नदीसंग एकछिन

  "नदीसंग एकछिन"

  ढुंगै ढुंगाको पहरे वजनलाई छिचोलेर 

चट्टानै चट्टानको धारिलो पहरालाई फोडेर 

जतिसुकै बिघ्न बाधा आएपनि 

जतिसुकै दु:ख कष्ट झेलेपनि

नदी रोकिन जान्दैन 

नदी मोडिन मान्दैन। 

--------------१ -------------------------------------

चाहे पहाडे वजन आफूतिर परोस

चाहे दबेर पृथ्वी छिया छिया बनोस 

नदी, खोला र नाला लिएर बगिरहन्छ 

नदी ढुंगा र मुढा पछार्दै अघि बढिरहन्छ

नदी अलिकति पनि थिचिन जान्दैन 

नदी अलिकति पनि किचिन मान्दैन। 

------------२ ----------------------------

नदी बग्नुको नियति उसको प्रगाढ आस्था हो 

नदी बढ्नुको प्रकृति उसको अमर स्वाभिमान हो 

नदीको प्रबाह आफ्नै मौलिक अधिकार हो 

नदीको हिडाई आफ्नै उत्सर्ग निष्ठा हो 

नदी पहाड पर्बत घुमेर बग्छ 

नदी अन्त्यमा समुन्द्र पुग्छ। 

-----------३ ------------------------

नदीको युधिष्ठिर सत्यबादितालाई 

दुर्योधनको घमण्डले रोक्न सक्दैन 

नदीको समुन्द्र पुग्ने गन्तव्यलाई 

पहाड तराईको कुरूक्षेत्रले छेक्न सक्दैन 

नदीको शालीनताको सच्चा रामलाई 

रावणको मुर्ख्याईले डगाउन सक्दैन। 

-----------------४-----------------------

आखिर,

 म पनि नदीजस्तै शालीन बग्न सकूँ 

म पनि नदीजस्तै सत्य बन्न सकूँ 

१ ) गण्डकीजस्तै गहिरो -----------

२) कोशीजस्तै  ठूलो --------------

३) कर्णालीजस्तै लामो ---------------

-------------५ --------------------------

         (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १२  गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

No comments:

Post a Comment