लेखूँ यस्तो कबिता :
सखारै,
मेरी बुढी आमा
घासको भारी आँगनतिर बोकेर
बारीबाट उक्लिंछिंन
अनि घामले पनि
कुहिरो हुस्सुको पर्दा उघार्दै
कलिला किरणले मेरी आमामा चमक पार्छ
मलाई लाग्छ-
उषाको किरणजस्तै एउटा तेजस्वी कबिता लेखूँ।
--------------------------१ -----------------------------------
दिनदहाडै,
मेरो प्यारो चन्चले छोरासँग
कपर्दी र डन्डीबियो खेल्दै
मेरै आगनीको डिलमुनि
प्रचण्ड गर्मी बर्षाउदै
घामले खेतबारी बालीनाली हसाउछ
मलाई लाग्छ -
घामको प्रचण्डता जस्तै एउटा शक्तिशाली कबिता लेखूँ।
----------------२ ----------------------------------------------
साझपाख,
पहाडको थुम्कीमा
हली खेतालाहरुले सुस्केरा हाल्दै
पाटी पौवा र चौतारीहरुमा विश्रामको स्वाश फेर्दै गर्दा
गोधुली रङ्गको क्षितिज
सुर्यास्तसंगै बिलिन भइरहेको देख्दा
मलाई लाग्छ -
गोधुली साझजस्तै एउटा रङ्गी बिरङ्गी कबिता लेखूँ।
-----------------३ -------------------------------------
रातपख,
आफूमाथिको सेतो आकाश
कालो मसि मिलाएर अध्यारिदै गर्दा
गन्तब्यमा यात्रा गर्दै गरेका बटुवाहरु
आफ्नै पिढीमा बास माग्न ओइरिएपछि
जूनको कुनै अस्तित्व र उपस्थिति नदेखिएपछि
मलाई लाग्छ -
अध्यारोको बिरुद्दमा एउटा प्रभावशाली कबिता लेखूँ
-------------------------३ --------------------------------
समष्टिमा,
प्रत्येक प्रभातमा किरणहरु फैलन सकून
प्रत्येक मध्यान्हमा घाम्हारू टन्टलापुर हुन् सकून
प्रत्येक साझमा क्षितिजहरु रंगीन गोधुली बनून
प्रत्येक रातमा आकाशहरु जूनसंगै चम्किरहून
अनि मेरो कबिता -
चारै प्रहर जस्तै सधै अमर बनोस
मेरो सृजना -
चारै प्रहर जस्तै सधै अजर बनोस।
-----------४ ------------------------------------
(समाप्त )
स्रष्टा : ड़ा दीपक यात्री
लेखनाथ-२७, कास्की
हाल :प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर नेपाल
दिनांक : २०७९ साल फाल्गुन ६ गते
No comments:
Post a Comment