शीर्षक :- सम्झनामा राष्ट्रकवि
(शार्दूलविक्रीडित छन्द)
भाषा भूषण भाव भव्य भरिला लालित्य शृङ्गारका
चाँदी चन्दन चित्तका चहकिला चौतर्फ सान्दर्भिक
विद्या बुद्धि विवेकले वचनले प्रख्यात सर्वाधिक~१
'गौरीशंकर' देवता सरि पिता माता मिता 'द्रौपदी'
आफू सज्जन सादगी सविनयी सत्कर्मका सोमती
रक्षा राष्ट्रियता अखण्ड मतका आदर्शका ओजका
मेधावी मकरन्दले मगमगी सत्सङ्गका सोचका~२
लेखे 'किन्नर-किन्नरी' कदरका 'गौरी' छ मर्मान्तक
'दुर्गासप्तशती' सुधा सरलता 'राजेश्वरी' रोचक
'नागानन्द' निमग्नका निखरका झन् ‘मालती मङ्गले'
निष्ठाका 'नवमञ्जरी'कुसुमका माला उने ढङ्गले~३
सज्जा सौम्य 'शकुन्तला' सरसका छन् 'घामपानी'मजा
तिष्टाका अनि काङ्गडा विजयका पुर्खाहरूका कथा
केभो काव्य 'ॠतम्भरा' विगतको चर्चा कहाँ थन्कियो
पढ्ने चाह समस्तका हृदयमा जस्तो जहाँ जे थियो~४
कैयौँ कालजयी विधा विरचना गर्ने महानायक
शैली शिल्प सुभावना सहितका साहित्यका साधक
नाना नाटक वा निबन्ध गतिला सुम्पेर जाने कवि
निर्माता नवनीतका नमनका छर्लङ्गिएका छवि ~५
बल्दा दीपक देशका दनदनी रत्नावली रोशनी
मैत्रीपूर्ण मिजासका मननका माधुर्यका मोहनी
कोहेनूर कमालका कलमका आजन्म आकर्षण
न्यानो आदरभाव "राष्ट्रकविमा" श्रद्धाञ्जली अर्पण~६
नोट:- प्रस्तुत कविता अनेसासमा पठाउँदा सम्म "ॠतम्भरा"
प्रकाशित भएको थिएन।अहिले प्रकाशित भैसकेको छ।
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका-१३
पुरानो नैकाप काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका ।
No comments:
Post a Comment