Saturday, September 24, 2022

"परदेशीलाई बिरानो तिहार"

 "परदेशीलाई बिरानो तिहार"

सयपत्री फूलहरुले बारी रंगीन पार्यो होला !
झिलिमिली दीपबत्ती,औशीले नि हार्यो होला !!
दिदी बहिनी भान्जीहरु मिली माला बुने होलान !
गलाभित्र छिर्न साटो वैलिएर झरे होलान !!
--------------अ -----------------------------------
झ्यालदेखि आँगन पिढी दीपहरु जल्दै होलान !
फूलजस्तै हासो भर्दै लालाबाला रम्दै होलान !!
गाई, गोरु, कुकुर, काग पुजिएर प्रसन्न भई !
घासपात हेर्न छाडी अन्न मात्रै खादै होलान !!
-----------आ ---------------------------------
कोजाग्रत रातमा जम्दै जुवातास खेल्दै खेल्दै !
लाहुरे छुट्यो यसपाली भन्दै भन्दै रम्दै होलान !!
गाइतिहार भैलो देउसी बलिराजा बक्दै बक्दै !
गाऊघरे ठिटाठिटी गाउघर घेर्दै होलान !!
-------------इ -------------------------------
ओखरको गेडा फोडी आयु लामो होवोस भन्दै !
दिदीबैनी परदेशी भाइ तिम्लाई भन्दै होलान !!
कचौरीको तेलभित्र हरा लामो दूबो डुबाउदै !
परेलीको नयनमा नुनपानी झारे होलान !!
---------ई ----------------------------------
मेरो जस्तै कर्म फुट्ने अभागी ती भाइहरु !
बिरानोमा आशु पुछ्दै तिहार गीत लेख्दै होलान !!
लक्ष्मीपूजा,लक्ष्मीदिवस भन्दै तिहार गीत लेख्दै !
बिद्धुतीय संजाल र छापाहरुमा छाप्दै होलान !!
-----उ ---------------------------
(समाप्त )
स्रष्टा : इ दीपक यात्री
प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर नेपाल

No comments:

Post a Comment