•जन्मस्थली र महत्ता•
बिर्सी दु:ख र दर्द बाल वयमा खेल्दै रम्यौँ जोसित
हुन्छन् ती वनशैल खेत र खला मस्तिष्कमा चित्रित।
मेटी मेट्न सकिन्न चित्र मनमा जे कोरियो कोरियो
जस्तो हुन्छ पवित्र जीवन दिने आमाहरूको मन
त्यस्तै पावन लाग्दछन् छत तथा चौगिर्द वा आँगन।
मानूँ चुम्बक जन्मभूमि जसले तानिन्छ लोहा मन
उस्तै हुन्छ महत्त्व मान महिमा जन्मस्थलीको पन।।
आमाबा गुरु, बन्धुबान्धव सखा हो पाठशाला घर
आफ्नो संस्कृति कर्मयोग ममता पाइन्छ शिक्षा भर
छाडोस् मानिस बाध्यता रहरले जन्मे बढेको घर
गाँसेको नङ-मासुतुल्य गहिरो सम्बन्ध तोडिन्छ र?
सीमातीत अवर्णनीय गरिमा देखिन्छ स्वाभाविकै
अन्योन्याश्रित जन्मभूमि जनको सम्बन्ध गाढा निकै।
जोडी तार र राग लिन्छ सजिलै यो जिन्दगीले लय
शिक्षा दिन्छ अभूतपूर्व घर नै हो विश्व-विद्यालय।।
बोलाएर उषा जहाँ विहगले सङ्गीत घन्काउँछ
पुग्दा लस्त शरीर शक्ति भरिई ऊर्जा नयाँ पाउँछ।
मानूँ पावन तीर्थ, पूज्य जननी, भूस्वर्ग सम्झाउँछ
आफ्नो आँगनझैँ पवित्र प्रिय के अर्को कुनै ठाउँ छ?
No comments:
Post a Comment