मेरो देश, मेरो प्रतिबिम्ब :
जब म हेर्छु -
मेरा हातका लामाछोटा औलाहरु
औलाबिचका छुट्टाछुटै कापाहरु
लाग्छ औला जस्तै चुच्चेबुच्चे पहाड पर्बतहरु
लाग्छ कापाजस्तै भन्ज्यांग अनि गल्छेडाहरु
जब म देख्छु -
मेरो हत्केलाका सलक्क परेका रेखाहरु
भन्छु, म संगै बगिरहेछन कर्णाली, गण्डकी र कोशीहरु !
----------------------१ ----------------------------------------------------
जब म देख्छु -
हिउले सेताम्मे घुम्टो ओंढीरहेकी सगर हिमाल
कचेरा भरिएको आखाँजस्तै रारा र फेवाताल
हिऊद र बर्षा झेलेका धूपी र सल्लाका चारकोशे झाडी
नागबेली लहराजस्तै घुम्दै फिर्दै बगेका खोला र नदी
उस्तै उस्तै लाग्छ मलाई -
भन्छु, असि बर्षिय आमाको दिब्य रुप हो नेपाल !
------------------२ -----------------------------------
जब म भेट्छु -
खण्ड खण्ड मुहारभित्र
पत्रैपत्रा भएर चाउरिएका उजाड बस्तीहरु
कुप्रिदै कुप्रिदै गतीहिन बन्दै गरेका
डाडा पाखा, थुम्का थुम्कीहरुको रुग्ण हविगत
तराई मधेशभित्र पानीको नथामिएको भेल
उस्तै उस्तै लाग्छ मलाइ -
भन्छु, मेरो असि बर्षिय बाबाको दिब्य रुप हो नेपाल !
-------------------------३ ---------------------------------
यथार्थमा,
कुनै साल बाढी आउदा
पाखाहरु स्वयम हाम फाल्लान
कुनै बर्ष भू-कम्प आउदा
धरहराहरु आफै भत्केलान
तर मलाइ गर्ब छ -
न कुनै प्रकोपले सगरमाथाको उचाई घट्नेछ !
न कुनै बिपत्तीले नेपालको झण्डा झुक्नेछ !!
-------------------------४ ---------------------------------
(समाप्त )
डा दीपक यात्री
लेखनाथ -२७, कास्की नेपाल
No comments:
Post a Comment