Friday, July 21, 2017

# लेखेर मात्रै कविता हुँदैन #   ---मुकुन्द शरण उपाध्याय

पदावली सुन्दर होस् कि एस्तो
शब्दै पनिऽ कोकिल कण्ठ जस्तो
अर्थै नपाए पनि पढ्न बस्दा
असीम आनन्द उमंग जस्तो
तात्पर्य मात्रै सब थोक हैन
लेखेर मात्रै कविता हुँदैन
सम्प्रेषणा मौलिक होस् कि एस्तो
शब्दै पिछे नूतन भाव जस्तो
सत्यं शिवं को अनि सुन्दरं को
प्रकाश नौलो छरियो कि जस्तो
लागोस् त्यहाँँ अन्य विकल्प छैन
लेखेर मात्रै कविता हुँदैन
नहोस् नि आडम्बर तुच्छ एस्तो
रातै फलेको विषवृक्ष जस्तो
हुंकार जस्तो विकराल जस्तो
सद्भावना को अनिकाल जस्तो
हाँसेर मात्रै दिल खोलिँदैन
लेखेर मात्रै कविता हुँदैन
आदर्श होस् सम्भव हुन्छ जस्तो
उद्गार होस् दर्शन छुन्छ जस्तो
नहोस् कला केवल शास्त्र जस्तो
कानून को पुस्तक मात्र जस्तो
निर्देश ले हिर्दय पग्लँदैन
लेखेर मात्रै कविता हुँदैन
रहस्य होस् खुल्छ कि खुल्छ जस्तो
प्रकाश होस् भुल्छ कि भुल्छ जस्तो
नहोस् कला भौतिक वस्तु जस्तो
पाषाण जस्तो कि कपास जस्तो
चाहेर मात्रै प्रिय आउँदैन
लेखेर मात्रै कविता हुँदैन
प्रसंग एस्तो करुणा बगाओस्
कि लेख्न बस्दा पनि आँशु आओस्
नहोस् कला केवल रंग जस्तो
जहाँ कुनै आकृति छैन जस्तो
आँशुऽ विना हिर्दय धोइँदैन
लेखेर मात्रै कविता हुँदैन
ओजस्विता होस् मदघूर्ण एस्तो
पहाड नै पार्छ कि चूर्ण जस्तो
पढेर एस्तो बल रगरगाओस्
मानू सबै भूतल डग्मगाओस्
गर्जाइ ले वीर बनाउँदैन
लेखेर मात्रै कविता हुँदैन
नारा र गाली कविपक्ष हैन
वाः वाः र ताली पनि लक्ष्य हैन
कवित्व हो सुन्दर दिव्य उक्ति
समस्त संसार विकार मुक्ति
देखेर मात्रै सब पाइँदैन
लेखेर मात्रै कविता हुँदैन
-----मुकुन्द शरण उपाध्याय

No comments:

Post a Comment