मेरो देशसंग फूल :
फुल्छन फूलहरु हिमालभरी गुरासँका
फुल्छन फूलहरु पहाडभरी लालुपातेका
अझै मेरो प्यासी आँखालाई फूलको तिर्खा मेटिएन
अझै मेरो ------- दृष्टिलाई फूलको दृश्य भरिएन
फूल त फूल -
माटोको पनि बन्न सक्नुपर्छ।
फूल त फूल -
खेतको आली र बाझो टारीमा पनि फुल्न सक्नुपर्छ।
फूल त फूल -
नवोईलिने र नझर्ने प्रकृतीको पो हुनुपर्छ।
--------------1 -------------------------------------
अब,
श्रम र पसिना धर्तीमा मुछेर,
सयपत्री फूलको थुङ्गामा शरद बिच्छ्याउनुपर्छ।
फूल फूल मिलेर सुबासिएको फूलबारी जस्तै
रमाइलो सुन्दर बिहानी निम्त्याउनुपर्छ।
नटुंगिने खोलाको गीत जस्तै शालीन,
चार बर्ण, छत्तिस जातको फूलबारी सजाउनुपर्छ।
-----------------------------२ -------------------------------
जागौ अब,
केस्रै केस्रामा विभक्त नभई,
फूल जस्तै गुच्छै गुच्छामा फक्रन सकौ
त्यान्द्रै त्यान्द्रामा लात्रिनु सट्टा,
धान जस्तै बालै बालामा झुल्न सकौ
बयरको गेडा झैँ झार्नुको साटो ,
अनारको दाना दानामा कस्सिन सकौ
--------------------३ ---------------------------------
अब म माटोको किरिया खाएर भन्छु,
हामी नेपाली तारा तारा भएर उदाएपनि
जून बनेर अन्धकारमा पूर्णिमा झैँ चम्काउनुछ
ऋचा ऋचा भएर छरिए पनि ,
चार बेदका श्लोक सिर्ज्याउनुछ
औला औला भएर ठडिए पनि
दुई हात जोडेर ताली बजाउनुछ।
-----------------४ ----------------------------
अनि,
फूलको पत्रैपत्राको छरपष्ट भूमीलाई,
थुङ्गोजस्तै सग्लो ढिक्का नेपाल बनाउनुछ।
थुङ्गोजस्तै सग्लो ढिक्का नेपाल बनाउनुछ।
---------------५ ------------------
(समाप्त )
डा दीपक यात्री
रचना मिति : २०७९ पौष १४ गते
No comments:
Post a Comment