मेरो देश मेरो शरीरसँग :
जब म आफैलाई ऐनामा हेर्छु,
मेरो पुष्ट गाला,
लाग्छ मेरो पहाडको टाकुरा जस्तै
मेरो फराकिलो निधार,
लाग्छ मेरै तराईको समथर भू-भागजस्तै
मेरो सलक्क परेको कपाल
लाग्छ चारकोशे जंगलको झाडि जस्तै !
------------------------१ -------------------
जब म आफ्नो बस्त्र आफै नियाल्छु,
मैले ओढ्दै गरेको बाक्लो पछ्यौरी
मेरै हिमालको गुराँसले छोपेको जंगलजस्तै
मैले पहिरिदै गरेको सक्कली ढाकाटोपी
सेताम्मे बिधवा हिमालको प्रतिक जस्तै
मैले लगाउदै गरेको दौरा र सुरुवाल
मेरै देशको मिलेको लेक र बेसी जस्तै !
---------------------२ -------------------
जब म आफैले आफूलाई नियाल्छु,
मेरो हातका लामा छोटा औलाहरु
लाग्छ मेरै देशका चुच्चेबुच्चे पहाड जस्तै
हत्केलाका सलक्क परेका रेखाहरु
गण्डकी, कोशी र कर्णाली नदी जस्तै
हातखुट्टाका औलाका कापाहरु
भन्ज्यांग र देउरालीका बिचका गल्छेडाहरु जस्तै !
------------------३ -----------------------------
त्यसैले त -
मेरो शरीर मेरो देशको पर्याय हो
मेरो पहिरन मेरै देशको पोशाक हो
मेरो अंगप्रत्यंग मेरै देशको गहना हो !
--------------------४ ------------------------
बस नेपाल आमा,
मलाई बिशाल तराईको छातिमा
एक मिठो निन्द्रा सुत्न देऊ
मलाई अग्लो हिमालको सागरमा
एक मिठो चुम्बन चुम्न देऊ
मलाई भिरालो पहाडको टाकुरीमा
गुराँसजस्तै एक मुस्कान छर्न देऊ !
--------५ -------------------------------
(समाप्त )
स्रष्टा : ड़ा दीपक यात्री
लेखनाथ-२७, कास्की
हाल :प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर नेपाल
दिनांक : २०७९ साल माघ ८ गते
No comments:
Post a Comment