Tuesday, May 20, 2025

स्वदेशको माया

 स्वदेशको माया

  हिमाल हिमालमा उपचार मागेर पुग्दैन

आफै संजीवनी बोकेर उक्लिनुछ

पहाड पहाडमा बिकास मागेर हुदैन

आफै बेल्चा, खन्ती गैची भएर खनिनुछ

तराई तराईमा खेती चाहेर हुदैन

आफै कुलो नहर भएर बगिनुछ।

 

किनभने ,

भित्र एकलव्यको आस्था भगीरथको साहस उब्जेका छन

भित्र स्वयम्भूका आँखा अरनिकोका औलाहरु चलमलाएका छन

भित्र बुद्दको ज्ञान सीताको शील जागेका छन

भित्र बलभद्रको देन अमरसिंहको राष्ट्रप्रेम जुर्मुराएका छन

 

त्यसैले ,

हिमाल पगाल्नुछ, पहाड फोर्नुछ, तराई जोत्नुछ

आफ्नो हत्केलाका भाग्यरेखा आफ्नै पसिनाले कोर्नुछ

जागृतीका ऋचाहरु पढ़नुछ, संप्राप्तिका बालीहरु गोड्नुछ

बिकासको सगरमाथा चढ्नुछ, उत्साहको कर्णाली तर्नुछ

 

अब,

आबश्यकताको बारीमा संप्राप्तिको बोधिवृक्ष रोप्नुछ

प्रेरणाको थालीमा कर्मका अक्षताहरु पुज्नुछ

पौरखको मन्दिरमा सेवाका नैवेद्यहरु चढाउनुछ

आस्थाको कलशमा  बिकासको दियालो बलाउनुछ

 

आखिर,

माटोको किरिया खाएर  भन्छु-

भित्र मात्र मुटु छैन, मुटुभित्र देश पनि अडेको

भित्र मात्र रगत छैन, रगतसंगै गण्डकी पनि बगेको

मसंग मात्र छाती छाती छैन, छातीभित्र हिमाल पनि अडेको

मसंग मात्र आँखा छैन, आँखाभित्र गुराँस पनि फुलेको

 

अन्त्यमा,

मेरी आमा मलाई साइतमा जुराएको दही अक्षता लगाईदिनू

मेरी आमा मलाई शुभमुहूर्तमा सगुनको रातो टीका लगाइदिनू

यो देश रोप्नुछ यो देशका कर्मठ रोपाहाराहरुसंग

यो देश गोड्नुछ यो देशका परिश्रमी बाउसेहरुसंग

   “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”

-------------------समाप्त --------------------------

 

  श्रष्टा: डा. दीपक यात्री

पोखरा -२७ कास्की

हाल : नेपाल क्यान्सर हस्पिटल , ललितपुर

मोबाइल नं: ९८१३४५६३७४

-मेल : deepak1.hclcdc@gmail.com

No comments:

Post a Comment