Monday, April 5, 2021

"चाहिन्न केही अरू"

 कविता, "चाहिन्न केही अरू" शार्दूलविक्रीडित छन्द

मेरो सिर्जन सार्थ होस् विपुलता, उद्गार होस् चिन्तन।
इन्द्रेणीमय रंगदार छविझैं, सौन्दर्य होस् काञ्चन।।
पीडा दु:ख र दर्द शोक जनका, सन्ताप सारा हरूँ।
मेरो देश अखण्ड एक नमरोस् ! चाहे म आफैं मरूँ।।१।
मेरो “मन्दिर” आर्तको घर बनोस्, सेवा बनोस् पूजन।
मेरो हात पुगोस् सधैं जखममा, दुख्तै गरेका मन।।
जाँदा लान सकिन्न साधन कुनै, द्रव्यत्व जेथाहरू।
बाँचेसम्म सदैब मानिस बनूँ, चाहिन्न केही अरू।।२।।
मेरो जीवन लम्कियोस् जगतमा ! सम्मानभन्दा अघी।
मान्छेको शुभ नाम धारण गरोस्, विद्वान भन्दा पनि।।
मेरो देह ढलेर “पार्थिव” हुँदा, मेरा मलामी हरू।
रोउन् लास समीप सज्जनहरू ! चाहिन्न केही अरू।।३।।
आशा लोभ नहोस् किमार्थ कहिले, सामर्थ्य आफैं गरूँ।
आफ्नै राष्ट्र - समाज चित्रण गरी, चौधुन्न शोभा भरूँ।।
लागुन् यी पद नित्य अग्र पथमा, आघात आओस् बरू।
मेरो देश अखण्ड एक नमरोस् ! चाहे म आफैं मरूँ।।४।।
लाऊँ दैनिक वस्त्र एक सुकिलो, थोत्रो पुरानो बरू।
खाऊँ पेट भरेर गुन्द्रुक ढिँडो, तृप्ती यसैमा गरूँ।।
चाहे दु:ख अभाव खात चुलियोस्, आक्रान्त पारोस् बरू।
मेरो देश अखण्ड एक नमरोस् ! चाहे म आफैं मरूँ।।५।।
✍️ २०७७//नारायणप्रसाद निरौला

No comments:

Post a Comment