Thursday, June 17, 2021

महोत्सवमा प्रथम भएको चन्द्र रानाहँछाको कविता: ‘आँधीको यात्रा …’

                                            हातमा सपनाको फूल

र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु अाँधीको यात्रा … ।

सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरहेछ खोला
भुर्भुराइरहेछ आगो … ।

मलाई लिन
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।
कतै अल्मलिएला भनी बाटो देखाउन
मुस्कुराउँदै
उदाउनेछ जून ।

म हिँडेपछि –
गृहकार्य गरिरहेकी छोरीलाई
सोध्नेछन् अक्षरहरुले
जीवनको सौन्दर्य ।

एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएर बतासले
सोध्नेछ समय ।

साँझपख
आँसु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।

जुनबेला म –
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन
सद्भावको गीत गाउँदै छोइसक्नेछु आकाशलाई ।

काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न
उज्यालोको लौरो टेक्दै
पुगिसक्नेछु क्षितिजमा ।

मसँग –
मेरो हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ ।

आमा !
यै हत्केलामा कोरिएको बाटोले डोर्‍याउँदै
एकदिन –
ल्याइपुर्‍याउनेछ मलाई तिम्रो काखमा ।

No comments:

Post a Comment