Wednesday, March 21, 2018

आँसूका भलमा उर्ले

आँसूका भलमा उर्ले कविका कविता कति।
रुवाउने तिमी छौ र न भए के छ जिन्दगी।।
रोएरै निस्कियो गौरी राष्ट्रका कविको बुझ।
मीठो रोदनको काव्य मेघदूत सधै प्रिय ।।
...
नरोई काव्य बन्दैन मलाई रुन दे अब।
थामिए अश्रु के लेख्नु लेख्न चाहन्छु क्यै अझ ।।
मुनाका आँसुमा भिज्दा भयो अमर त्यो कला ।
मुनामदन ताजा छ सधै आज गलागला ।।
आँखामा रहदा पानी आँसू यो नाम सुन्दर।
बहेपछि नदी नाला पुगेपछि समुन्दर ।।
जम्दा ताल तलाऊ हो पानी हो तर तर्तरी।
बाच्छिटा पनि पानी हो हाइकू कविता सरी ।।
महाकाव्य सुसाएर बहेका छन् निन्तर।
समुद्रको सुनेका छन् बोलाबट सधै भर।।
डुबुल्किदा त्यता शब्द खारिने रछ आखिर।
शालिग्राम हुने रैछ ढुङ्गा पनि त्यतातिर ।।
नवर्षदा मेघ हो त्यो वर्षे वर्षा निरन्तर ।
आखाँमा रहदा आँसू खस्दा मोती छ सुन्दर।।
न झर्नुमा मजा छैन झरेकै हुन्छ सुन्दर ।
नरोई जन्मने हुन्न रोएकै हुन्छ सुन्दर।।
हे ईश्वर यहाँ मेरा परेली अझ भिज्न दे।
म त्यसै सुक्न चाहन्न मलाई अझ रुझ्न दे ।।
म त्यसै जम्न चाहन्न खोला भै बग्न दे अब।
झरना झर्न चाहन्छु छङ्छङ् भै रम्न दे अब ।।

------प्रियाबन्दना  आचार्य  काफ्लेको फेश्बुकबाट  हु -बहु

No comments:

Post a Comment