Sunday, June 25, 2017

पहाडकाे चुल्ठाे भरि फुलेकाे
गुराँसकाे रङ
र मधेसकाे मजेत्राे भरि लत्पतिएकाे
रगतकाे रङ
सूर्यकाे तापले पग्लिरहेकाे
हिमालकाे रङ
र अाफ्नै पैतालाकाे प्रेमले पृथ्वीमा उम्रेकाे
पसिनाकाे रङ
फरक छन् रङहरू
तर तिमी भन्छाै – रगत सबैकाे राताे हुन्छ
पसिनाकाे रङ उस्तै हुन्छ ।
जसरी
फर्फराइरहेकाे सबै झण्डा
उचालिएका सबै मुठ्ठी
मुक्तिका लागि
हुन सक्दैनन्
गाइएका सबै गीत
लेखिएका सबै कविता
परिवर्तनका लागि हुन सक्दैनन्
त्यसरी नै
फरक छ तिम्राे र मेराे संघर्ष
हाे तिमी
जुलुशकाे अघि-अघि
फहराउँछाै विजयकाे झण्डा
शहीद मन्च,पार्टी कार्यालय
र जन्माेत्सवहरूमा गाउँछाै गीत
म,
काेदालाे, बेल्चा
र अाफ्नै हात,पाउ शीर,शरीरलाई
बनाउछु झण्डा
भीर पहरा , खेत खलियान
र अाफ्नै असमायिक मृत्युमा गाउँछु जीवनकाे गीत
तिमी भन्छाै
विचारले
दर्शनले
उदेश्यले
हामी दुई छुट्टिनै नसकिने
गाढा राताे भइसक्याैँ
अथवा
गहिराे नीलाे भइसक्याैँ
र भन्छाै –
रगत सबैकाे राताे हुन्छ
पसिनाकाे रङ उस्तै हुन्छ
तर मित्र !
मलाई थाहा छ याे धर्तीकाे दुखकाे सहस्र अनुहार
त्यसैले,
हामी उस्तै-उस्तै देखिए पनि
हामी दुबै गहुँगाेराे देखिए पनि
फरक छ हाम्राे भित्री रङ
फरक छ हामी दुईकाे पसिनाकाे रङ ।
***
२०७४ असार ९ गते १७:४३ मा प्रकाशित (२०७४ असार १० गते १३:०१मा अद्यावधिक गरिएको)

No comments:

Post a Comment