Monday, September 22, 2025

यस पालिको दशैं म आउन पाइन

  यस पालिको दशैं  म आउन पाइन   (छन्द :झ्याउरे )


मखमली फुल्दा, मर्सी धान झुल्दा म आउन पाइन !

सानोमा खेल्ने बतासे पिङ्ग , म खेल्न पाइन !!

आशिष दिने ती धिताल बाबा म भेट्न पाइन !

अक्षता भर्ने सुब्बिनी आमा यसपाली आइन !!

----------------१ ----------------------------------

गाउघरतिर दशैं नि आयो परदेशमा बिरानो !

लठठे र रोटे पिङ्ग मच्चे होलान बिदेशमा अकेलो !!

गाऊघरदेखि धेरै नै टाढा बिरानो मुलुक !

लेख्दैछु सारा पोखेर आफ्नो बेदना बिरह !!

---------------------२ -------------------------

ती जुम्ली बाबा बुढाको चौर बसेर कुर्दा हुन !

पिङ्गको लट्ठो बटार्दै सारा हामीलाई सम्झे हुन !!

टीकाराम बाबा लगाउदै उर्दी बाटोलाइ खन्नलाई !

पौडेल बाबा गुहार्दै होलान गाऊघरे ठिटालाई !!

------------------३ --------------------------

सापकोटा बारी कालिका माथि चौडाले पिङ्ग होला !

झाझरमारे कालिका माइको पूजामा भीड होला !!

चण्डीको पाठ पढेर पण्डित महाकाली भन्दा हुन !

सप्तमसती दुर्गाको पूजा गरेर बस्दा हुन !!

-----------------४ ---------------------------------

मखमली फुल्दा, मर्सी धान झुल्दा म आउन पाइन !

चार बीस उमेर ढल्केका बाबा म टीका भ्याइन !!

फुटेकै कर्म रहेछ आमा परदेशी छोराको !

यही गीत लेख्दै पुछेर आँशु बुझाए मन मेरो !!

--------------------------५ --------------------------

     (समाप्त)

डा. दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४