Monday, August 19, 2024
Saturday, August 17, 2024
मुटु चोर (लघुकथा )
"मुटु चोर" (लघुकथा )
रमेश संगीताको आनीबानी, रुपरंग, लवाई, खुवाई सबै चीजदेखि अति प्रभावित थियो। संगीता उसको हृदय र मानसपटलमा एउटा अमिट छाप बनेर बसेकी थिई। संगीताको रुपरेखा र लवाई खुवाई पनि हुरुक्कै खालको थियो। संगीताको चार कोशे झाडीजस्तो बाक्लो कालो कपाल, मृगको जस्तो ठूला ठूला र गाजलु आँखा, चन्द्रमाजस्तो हँसिलो मुहार, दारिमको फल जस्तो सलक्क मिलेको जीऊडाल , सुन्तलाको केस्रा जस्तो भरिलो ओठ, बारुले कम्मर, उठेका नितम्ब, अनार दाना दात साच्चिकै रमेशको आँखाको नानीमा हरदम घुमिरहन थाले। यो क्रम बढ्दै जादा रमेशको नजर संगीताको नजरमा र संगीताको नजर रमेशको नजरमा आमने सामने र आदान प्रदान हुनथाल्यो। बिस्तारै दुबैका दुई आँखा मिलेर बेला बेलामा चार आँखा हुन थाले।
रमेश मन भरीको मायाप्रेम शब्दमा बोली मार्फत ब्यक्त गर्न चाहन्थ्यो तर सक्दैनथ्यो। मुख खोल्न नपाउदै उसको मुटुको धड्कन बढ्थ्यो, दिल धर्मराउथ्यो , केही ब्यक्त गर्न सक्दैनथ्यो।
रमेश बढी भाबुक, काल्पनिक, ठट्टाबाज र रोमाञ्चित किशोर हो। उसलाई क्रोध र रिसको मनस्थितिमा कहिल्यै भेटिदैन , भेटिहालिएछ भने पनि निरास र उदास मनस्थितिमा। नत्र सधै हासीखुशी र प्रसन्न मुहार नै उसको पर्याय हो। उता संगीता रुपले अति सुन्दरी छिन। सायद राक्षस गण र सिंह राशी भएर होला, कसैले उनको बिरुद्द ओठ र अगुली मात्रै उठाईहाले पनि उनी मुखले कडा प्रतिक्रिया दिने मात्र हैन , हात खुट्टा जीऊ सबैले एकैचोटि प्रतिक्रिया दिन्छिन। एकदिन सबेरै सूर्योदय हुनैलाग्दा मर्निङ्गवाकको समयमा रमेश र संगीताको दुई दुई नयन मिलेर चार नयन बनिदिन्छ। रमेशले आफ्नो श्वासलाइ बढाउदै, चेहरा अलिकति रातो पिरो पार्दै पहिलो पटक संगीता सामु आफ्नो मुख खोल्छ।
रमेश : संगीता तिमीसंग एउटा कुरा खोलूँ ?
संगीता : एउटा हैन, दुई चार ओटै खोलन। संगीताले मुसुक्क मुस्कुराएर शालीन जबाफ दिन्छिन।
रमेश : तिमीलाई देखेर मैले धेरै कुरा गुमाए। रमेशले एकोहोरो संगीताको मुहारमा हेर्दै भन्छ।
संगीता : गुमाए ! गुमाए !! त्यसमा पनि धेरै कुरा ?? संगीताले निधारमा गाठो पार्दै आश्चर्य र आक्रोशको प्रतिक्रिया दिईन ।
रमेश : हो त, तिमीलाई हेर्दा हेर्दै मैले सारा संसार भुल्छु। तिमीले मेरो सारा संसार चोर्यौ ? रमेशले एकोहोरो बोलिरह्यो।
संगीता: चोर्यौ ? चोर्यौ ?? चोर्यौ ??? (अझै उत्तेजित हुदै ) मैले तेरो के चोरे ?। मैले तेरो बाऊको के चोरे ? तलाई चोर , त चोर कि म चोर ?
त साले चोर , गधा, डाका, फटाहा, अपराधी ! मलाई चोरको कसूर कसरी लगाउने साहस गरिस ? ( उनी लगातार गालीको बर्षा बर्साउन थालिन। अरु तीन मिनट चोर शब्द दोहोर्याउदै तेहेराउदै नानाभाती सराप गर्न थालिन। )
रमेश न कुनै एक शब्द फर्काउछ , न अनुहारमा कुनै परिबर्तन नै देखाउछ। संगीताले सराप्न अन्त्य भएजस्तो आभास पाएपछि अलि सानो स्वरमा बोलि फर्काउछ।
रमेश : हो साच्चिकै तिमीले मेरो एकथोक चोर्यौ , त्यो हो मुटु चोर्यौ। संगेता तिमीले मेरो मुटु चोर्यौ , दिल चोर्यौ , हृदय चोर्यौ। रमेश प्रत्येक बोलीमा अरु गम्भीर हुन थाल्यो।
संगीताले एकाएक छेपारोले रंग फेरे झैँ आफ्नो आक्रोशित मुहारलाई चन्द्रमा जस्तो हसिलो बनाइन अनि फूलको अङ्कुर जस्तै मुसुक्क मुस्कुराउदै मलिन स्वरमा भनिन " हँ , साच्चिकै मुटु चोरे ! दिल चोरे !! हृदय चोरे !!! कसरी तिमीजस्ता इमान्दार, कर्मठ र जेहेन्दार
युवाको मुटु चोर्न सके मैले ?
संगीताको मुस्कानमा दोब्बर मुस्कान भर्दै मलिन स्वरमा रमेशले बोली फर्काउछन : साच्चिकै तिमी रुपवती र अप्सराले म कुरुपको नानीमा अटाएर मुटु चोर्यौ , रातको नीद हर्यौ, दिनको प्यास चोर्यौ।
संगीता लामो खुशीको स्वास तान्दै प्रसन्न मुद्रामा भन्छिन : हे प्रभु ! मेरो भाग्य , तिम्रो मुटु चोर्नुभन्दा दुइटा मुटु एउटै भए , न चोर्नुपर्थ्यो , न त हर्नुपर्थ्यो।
रमेश र संगीता दुवैको अनुहारमा एउटै भाव , उस्तै मुस्कान !
भनिरहनु नपर्ला, आखिर यी दुई मुटुहरु लगन गाठोमा बाधिएर अन्तत: एक ढिक्का श्रीमान श्रीमती बनेका छन।
(समाप्त )
(समाप्त )
डा दीपक यात्री
लेखनाथ -२७ , कास्की
हाल : प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर
सम्पर्क फोन नं : ९८१३४५६३७४
ई-मेल :