जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
आमाले तानमा गुन्द्री बुन्दै गर्दा
मैले देश बुनिदै गरेको देखेको छु।
बाबाले डोको बुन्दै गर्दा
मैले शान्ति र समृद्ध बुनिदै गरेको भेटेको छु।
हली बाले खेतको गरा जोत्दै गर्दा
मैले देश उर्वर भएको देखेको छु।
खेताला दिदीले धानको बीऊ रोप्दै गर्दा
मैले राष्ट्रियता रोपिएको देखेको छु।
बाऊसे दाईले खेतबारी खन्दै गर्दा
मैले बिकासको आली लगाइएको देखेको छु।
--------------१ ---------------------------
मलाई त अझै,
चुहिने पालामा धीप धीप गरेर
बाले झैँ लाग्छ यो देशको स्वाभिमान।
पुषको जाडोमा थरथर गरेर
कापे झैँ लाग्छ यो देशको राष्ट्रियता।
चैतको खडेरीमा तपतप पसिना चुहाएर
निथ्रुक्क भए झैँ लाग्छ यो देशको अखण्डता ।
----------------------२ -----------------------------
बस नेपाल आमा,
मलाई एउटा प्रकाशरुपी टुकी देऊ
विश्वासका पालाभरी तेल थप्दै पानस सल्काउनुछ यो देशको स्वाभिमान।
मलाई पौरखी हातसंगै च्यांग्राका ऊन देऊ
प्रेमको गलबन्दी र स्वीटरले न्यानो पार्नुछ यो देशको राष्ट्रियता।
मलाई पुष्पमाधुर्य सहितको सिरसिरे बायु देऊ
शीतल र स्वच्छ पार्नुछ यो देशको अखण्डता।
------------------३ ---------------------------------
हुन त !
यो देश भित्र मात्र मान्छे हैन
मान्छेभित्र पनि देश अडेको हुन्छ।
यो शरीरभित्र मात्र मुटु हैन
मुटुभित्र राष्ट्रियता पनि जोडेको हुन्छ।
त्यसैले त,
आखाँभरी फलाउनुछ समृद्धिको सपना
छातिभरी सजाउनुछ राष्ट्रियताको कल्पना
जागौ ,
उठाऔ धरतीको एकमुठी माटो
र खाऔ माटोको किरिया
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"
---------------------४ --------------------------
(समाप्त)
शृजना मिति : जून १५ २०२४ /आषाढ १ गते २०८१