Tuesday, May 28, 2024

नेपालको गीत

 भैरवी भूगोल

ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन ।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ–
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ–
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको शिर,
ज्ञान–विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको बिरुवा
विकास गरौँ–
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरूमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरूका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियून्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखून् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरू ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
शिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि
नेपाली मन, पहिचान बोकेर
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहून्
मेरा सन्ततिहरू
गाइरहून् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।

(नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित
कविता महोत्सव २०७७ मा प्रथम कविता )  

नेपाली स्वदेश गान

 https://www.youtube.com/watch?v=Evw246e77zs


Monday, May 27, 2024

आज मे २८ गते ! विश्व रक्त क्यान्सर दिवस (world Blood Cancer Day)

 आज मे २८ गते ! विश्व रक्त क्यान्सर दिवस (world Blood Cancer Day)

यो दिवस विश्वभरी रक्त क्यान्सर बिरुद्द बिबिध जनचेतनामुलक कार्यक्रम गरी मनाउने गरिन्छ ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका हेम्याटोलोजी विभागीय प्रमुख, कन्सल्टेन्ट क्लिनिकल हेम्याटोलोजिस्ट ड़ा अमित श्रेष्ठ (Amit Shrestha) भन्नुहुन्छ :
पहिला नेपालमा ब्लड क्यान्सरको उपचार असम्भब मानिन्थ्यो भने अहिले हेम्याटोलोजी क्षेत्रमा आधुनिक प्रविधिको विकास भएसंगै विभिन्न किसिमका ब्लड क्यान्सरका रोगहरुको गुणस्तरीय उपचार नेपालमै सम्भव हुनथालेको छ। प्रारम्भिक चरणमै निदान , परिक्षण र उपचार हुन सकेमा ब्लड (रक्त) क्यान्सरका बिरामीहरुले पनि एउटा स्वस्थ जीवन बिताउन साथै आममानिस जस्तै दैनिक जीवन यापन गर्न सक्छन।
ब्लड (रक्त) क्यान्सर बारेमा हाम्रो समाजमा अझै पनि जन चेतनाको कमि छ। त्यसैले ब्लड (रक्त) क्यान्सरका लक्षणहरुको बारेमा समयमै जानकारी हुन जरुरी छ।
कसैलाई ज्वरो आइराख्ने ,छालामा रातो वा नीलो दाग धब्बा देखिएमा ,नाक गिजाबाट रगत बग्ने, गल्ने थाक्ने, चक्कर लाग्ने, जोर्नी तथा हड्डी दुख्ने , शरीरका भागहरुमा गीर्खागीर्खीहरु आउने र फियो कलेजो सुन्निने समस्या देखिएमा यो ब्लड क्यान्सरको लक्षण हो कि भनेर समयमै हेम्याटोलोजिस्टसंग परामर्श गर्नुपर्ने हुन्छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center ) हेम्याटोलोजी बिभाग आज ब्लड (रक्त) क्यान्सर डे का दिन शंकास्पद लक्षण देखिए तुरुन्तै निदान र उपचार गर्न अनुरोध गर्दै सबैलाई रक्त क्यान्सर बिरूद्ध लड्न र एक्यबद्दता जनाउनुहुन हार्दिक अनुरोध गर्दछ।