Saturday, July 8, 2023

धरहरासंग एकछिन

 धरहरासंग एकछिन :


धरहरा,

प्रत्येक बिहान झिसमिसेमा 

चेतनाको कालो भालेसंगै 

जागरुकताको लागि बास्ने गर्छ। 

--------१ -----------------------

धरहरा,

प्रत्येक मध्यान्हको चर्को घाममा 

अनुभवको खलखली पसिना निकाल्दै 

पैदल यात्रीलाई निरन्तर नियाल्ने गर्छ। 

-----२ ----------------------------------

धरहरा,

प्रत्येक साझपखको व्यस्त भीडभाडमा 

सुरक्षाको पहरेदार बनेर 

अविछिन्न निरन्तर  खटिईरहन्छ।   

--------------३ -----------------------------

धरहरा,

प्रत्येक रातको जूनेली रातमा 

जूनको प्रकाशले चकमन्नित पारेर 

रानीपोखरीमा सत्यताको  बिम्ब हेरिरहन्छ। 

------------------४ ----------------------------

भो,

धरहरालाई घन्टाघरको घंटीले ब्युताउनुपर्दैन

धरहरालाई रानीपोखरीको मन्दिरले पनि सम्झाउनुपर्दैन 

धरहरालाई रत्नपार्कको फूलले  पनि लोभ्याउनुपर्दैन। 

---------------------५ ----------------------------------

धरहरा अडिग छ,

धरहरा अटल छ 

बरु म पनि -

धरहराजस्तै निर्भिक हुन सकूँ

धरहराजस्तै निडर बन्न सकूँ

  "म झुक्दै नझुक्ने नेपालको छोरो "


-------------------६ -------------------------


                (समाप्त )

भ्रष्टाचार विरुद्ध कविता

भ्रष्टाचार विरुद्ध  कविता

 

कमाउन त मूर्दाले पनि कात्रो कमाउला

कमाउन त चोरले पनि पैसा कमाउला

तर ,

मलाई इमानको एउटा लगौटी भए पुग्छ

मलाई साधुको एउटा कमण्डलु भए हुन्छ।

===========१ ===========

आऊ,

मसंगै आऊ ,

भ्रष्टचार बिरुद्दमा एउटा युद्दको शुभारम्भ गरौ

अभिमन्यू बनेर अब हामीले

दुराचार र भ्रष्टाचारको चक्रव्युह फोड्न सकौ

राजर्षी भागीरथको तपस्या बनेर हामीले

भ्रष्टचारको गंगालाई थाम्न सकौ।

===========२ ===========

सुन,

मसंगै गीताको एउटा श्लोक सुन ,

" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।। "

बास्तबमा,

श्रीखण्डको बोटमुनि तपस्या गर्दैमा

निधारमा चन्दन मगमगाउदैन |

 

हातका नंग्रा माटोमा नाखियाईकन

माटोमा हिरामोती बर्सदैन ||

===========३ ===========

" “ मेरा साना दुखले आर्ज्याको मुलुक हैन "”

“ घुस लिन्या र घुस दिन्या सवै देशका शत्रु हुन ”

यी दिव्योपदेश अब आलेखमा मात्रै हैन

यी पबित्र भावना अब इतिहासमा मात्रै हैन

हामी हर नेपालीसंग आफूभित्र धड्किने मात्र मुटु हैन

मुटुको हर धड्कनभित्र राष्ट्र पनि बाचिरहेछ

सिंगो देशभित्र आफूमात्र बाचिरहेको हैन

हर पल पलमा इमानको स्वाभिमान पनि जिईरहेछ।

===========४ ===========

बस ,

नेपाल आमा अब मलाई

कर्मको अक्षता र पौरखको नैवेद्य देऊ

बुद्दको उपदेश र सीताको शील देऊ

संजीवनी जडिबुटी र गायत्री मन्त्र देऊ

अब म ,

एकलव्यको आस्था र भगीरथको साहससंगै

बीरभद्रको बीरता र अरनिकोको कलासंगे

भ्रष्टचारको बिरुद्दमा एउटा अभियान चलाउनेछु

शालीनदीमा स्नान गरी एउटा संकल्प बनाउनेछु।

===========५ ===========

=========समाप्त =========

Friday, July 7, 2023

बग्दै गरेको नदीसंग

       "बग्दै गरेको नदीसंग "

  नदी कति शालीन छ 

नदी कति शान्त छ 

कति सजिलै बोकेको छ यसले शहरको मैलो 

कति आरामले थेगेको छ यसले दुर्गन्धको भारी 

पिठ्युमा बोकेको छ बालुवा र चट्टानको ठूलो बोझ 

शिरमा बोकेको छ, हिऊको भीमकाय कवच। 

------------१ --------------------------------

नदी त -

बर्षामा जुकाले टोक्दापनि अभ्यस्त रोपहाराजस्तै दत्तचित्त छ 

नदी त -

झरीमा शरीर भिज्दा पनि अडिग बाऊसेजस्तै एकचित्त छ 

नदी त -

श्रावणमा खोलाको छालमा पनि दृढ हलीजस्तै अडिग छ। 

-----------------२ ----------------------------------------

आखिर नदी त-

हिलो मैलो धमिलो पखाल्ने सुत्र रहेछ 

जर्जरलाई सिञ्चनदिने साधन रहेछ 

बाझोलाई उर्बरदिने सिर्जना रहेछ 

-----------------------३ ------------------------

त्यसैले म भन्छु -

म पनि नदीजस्तै स्वच्छ भावनामा बगिरहू। 

म पनि नदीजस्तै  अविरल पसिना बगाईरहू।। 

र म सदा जपिरहू -

"गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली"

---------------------४ ------------

                   (समाप्त )

Friday, June 30, 2023

अत्याशिलो परिवेश

          अत्याशिलो परिवेश:

आषाढको मुशलधारे बर्षा 

पहिरोले भत्किएको उजाड पहाड 

पहिरोसंगे लच्किएका कलिला बोटहरु 

कहिल्यै फर्किएनन हरा बन्न सकेर !

----------------१ -------------------

चैत बैशाखको सिरेटो हुरीसंगै 

भत्किएका गुडहरुसंग बिचल्लिएका चराहरु 

त्यही हुरीसंगे बत्तासिएर क्षितिजमा 

कहिल्यै फर्कन सकेनन बासस्थानमा !

-------------२ -------------------------

विनाशकारी भू-कम्प्को प्रलयसंगै 

भत्किएको मन्दिर र ढलेको पाठशाला 

भत्किएकै अमिलो मनसँग 

कहिल्यै पुनर्निर्माण भएनन सत्यदेव बनेर !

----------३ ---------------------------

पशुपतिको आर्यघाटसंगै 

बजिरहेछ क्रन्दनको बाँसुरी 

सखी  र आमाको आखाँबाट 

बगिरहेछ आँशुको गण्डकी !

------------४ --------------------

         (समाप्त )

Sunday, June 25, 2023

म र बास्तबिकता

          "म र बास्तबिकता"

मैले दनदनी बलेको आगो देखेपनि 

बस,

मलाई एक झिल्को मात्र आगो भए पुग्छ 

किनकि ,

मलाई आगोले मात्र एक छाक चुल्हो बले पुग्छ 

म नदीमा पानीको भेलसंग तैरिएपनि 

बस,

मलाई एक घुट्की पानी भए पुग्छ 

किनकि,

मलाई पानीले  मात्रै एक पटक प्यास मेटे पुग्छ। 

--------------१ ------------------------------------

अहँ,

मलाई शहरको गगनचुम्बी महल चाहिदैन 

बरु,

खरको एकसरो झुपडी भए पुग्छ 

अहँ ,

मलाई सुनको बहुमुल्य सिक्री चाहिदैन 

बस,

सयपत्री फूलको एउटा माला भए पुग्छ। 

------------------------२ ------------------------

म मान्दिन,

इश्वरको मूर्तीले पनि "हरि ॐ" बोल्छ भन्ने कुरा

किनकि,

मान्छे आफ्नोलागि आफै बोल्नुपर्छ। 

म मान्दिन,

मन्दिरको घण्टा पनि "तथास्तु" बक्छ भन्ने कथा 

किनकि,

मान्छे आफ्नो प्राप्तिको निम्ति आफै कर्म गर्नुपर्छ। 

म मान्दिन,

धातुको मुर्ति पुज्नुपर्छ भन्ने आस्था

किनकि,

मान्छे आफ्नो आत्मा आफै पुज्नुपर्छ। 

---------------३ ------------------------

त्यसैले,

आजभोलि त बिश्वास

मेघमाथि उड्ने हैन ,

मेरो आत्मादेखि पलाउन थालेको छ 

मेरो हृदयदेखि टुसाउन जानेको छ। 

किनकि,

मलाई कल्पनाको आकासमा चरा झैँ उड्नुछैन 

बरु, यथार्थताको धरातलमा गोरु झैँ जोतिनुछ 

मलाई अबिश्वासको सगरमा चील झैँ आकासिनुछैन 

बरु, बास्तबिकताको तलाऊमा माछा झैँ पौडिनुछ । 

----------------४ ------------------------------------

आखिर,

म यो धर्तीको खुम्चिएको अनुहारलाई

साझको चिसो स्पर्शले हसाउन चाहन्छु 

म यो पृथ्वीको कठ्यांग्रीएको बिहानीलाई 

सूर्यको किरणले तताउन चाहन्छु 

म यो धर्ती आकासको बिशाल छातीमा 

स्वर्णिम सपनाहरु सजाउन चाहन्छु 

किनकि,

 मेरो कानमा राष्ट्रप्रेमको गीत सदा गुन्जिरहन्छ :

"बनेको छ पहराले यो छाति मेरो 

म झुक्दै नझुक्ने नेपालको छोरो "

      ------- ५ ----------------

     (समाप्त ) 

Tuesday, June 20, 2023

पानीसंग नजिस्क

       "पानीसंग नजिस्क"

    पानी,

पोखरीमा बन्द भएर बसेको छु 

इनारमा गुप्त भएर रहेको छु 

तैपनि,

म किचिएर बस्न जान्दिन 

म थिचिएर बस्न मान्दिन !

-------------------१ ----------------------

पानी,

म नदी भएर स्वतन्त्र बग्न चाहन्छु 

म तलाऊ भएर निश्छल रहन चाहन्छु 

म चाहे ,

नदीबाट कुलोमा परिणत हुन्छु 

हर खेतको बालीमा सोसिञ्छु

म चाहे,

बर्षाबाट थोपामा रुपान्तरित हुन्छु 

हर मुट्ठी माटोमा बिलिन हुन्छु 

म चाहे,

नदी भएर बाधमाथि टरवाईनसंग घुम्छु 

आफ्नो पौरखले बिजुलीको उर्जाशक्ति दिन्छु 

-------------------------------२---------------

तर,

 म पानीसंग नाजिस्क,

म सरल छु 

म तरल छु 

बलजफ्ती मेरो बेगले  रोक्दा ;

यहाँ भीषण प्रकोप हुनसक्छ 

बाध्यताले मेरो गतिलाई रोक्दा,

यहाँ महाप्रलय हुनसक्छ !

-----------३ ----------------------

आखिर,

म छताछुल्ल भई पोखिन चाहन्छु

म यत्रतत्र सर्बत्र बग्न चाहन्छु 

म भलभली उम्लेर पोखिन चाहन्छु 

म ह्वालह्वालती खहरे झैँ उर्लिन चाहन्छु !

-------------४ ------------------------------------------

तर याद  गर,

म पानी नदी झैँ शालीन सलल बग्न पनि सक्छु 

म पानी तलाऊ झैँ शान्त बस्न पनि सक्छु 

बरु तिमी पनि मजस्तै,

समय र परिस्थितीमा उर्लन पनि सिक 

शान्त सद्भावमा संयमित हुन पनि सिक 

किनकि,

म पानी सरल छु 

म पानी तरल छु। 

----------५ --------------------

         (समाप्त )

Monday, June 19, 2023

जूनसँग एकछिन

 जूनसँग एकछिन   

   

साझपाख,

दिनभरीको हली बाउसे भएर 

खेत खन्दै र जोत्दै गरेर 

कछुवा चालमा बिस्तारै उकालो लाग्दा 

जूनेली साझको शीतल उज्यालोमा 

बर्षातको चिप्लो रातोमाटोमा 

जूनले आफ्नो यौबन साट्दो रहेछ। 

-----------१ -------------------------

साझ्पख,

बेशीको खेतदेखि पहाडको चुलीसम्म 

हली खेतालाको गहिरो पिडा लुकाउदै 

घर पुगेर छत्री र स्याखु बिछ्याउदै 

मुनाजस्तै चंचल शिशुहरुसंगे 

आगनीको जूनेली  उज्यालोमा हास्तै र रमाउदै 

जूनले पनि किसानसँग माया साट्दो रहेछ। 

---------------२ ---------------------------------

रातसंगै,

अध्यारोको मैलो घुम छोडेर,

कालो मसिको आकासलाइ

 रोशनीको बिरंगी  किरण छरेर 

रमाइलो परिवेश र जूनेली गगनमा 

घुर्मैलो पर्यावरण बनाउदो रहेछ। 

------------------३ --------------------

बिहान सखारै,

अरुलाई दिनुको स्वार्थ मोह 

आफ्नो हतियारले टुक्र्याउदै टुक्रीदै 

दूबो र झारकोमुनि शीतल आँशु थुपार्दै 

आफै झरेर बिलाउदो रहेछ। 

----------४ --------------------------

आखिर,

 जूनले कसैसंग नबोली 

जूनले कसैलाई  नपोली

शीतल प्रकाश दिदो रहेछ 

पूर्णिमाको रातसंगै हास्तै खेल्दै 

अध्यारोको बिरुद्द कबिता लेखाउदोरहेछ 

रातको बिरुद्द शृजना गराउदो रहेछ। 

----------५ -------------------------

          (समाप्त )