Saturday, July 8, 2023

धरहरासंग एकछिन

 धरहरासंग एकछिन :


धरहरा,

प्रत्येक बिहान झिसमिसेमा 

चेतनाको कालो भालेसंगै 

जागरुकताको लागि बास्ने गर्छ। 

--------१ -----------------------

धरहरा,

प्रत्येक मध्यान्हको चर्को घाममा 

अनुभवको खलखली पसिना निकाल्दै 

पैदल यात्रीलाई निरन्तर नियाल्ने गर्छ। 

-----२ ----------------------------------

धरहरा,

प्रत्येक साझपखको व्यस्त भीडभाडमा 

सुरक्षाको पहरेदार बनेर 

अविछिन्न निरन्तर  खटिईरहन्छ।   

--------------३ -----------------------------

धरहरा,

प्रत्येक रातको जूनेली रातमा 

जूनको प्रकाशले चकमन्नित पारेर 

रानीपोखरीमा सत्यताको  बिम्ब हेरिरहन्छ। 

------------------४ ----------------------------

भो,

धरहरालाई घन्टाघरको घंटीले ब्युताउनुपर्दैन

धरहरालाई रानीपोखरीको मन्दिरले पनि सम्झाउनुपर्दैन 

धरहरालाई रत्नपार्कको फूलले  पनि लोभ्याउनुपर्दैन। 

---------------------५ ----------------------------------

धरहरा अडिग छ,

धरहरा अटल छ 

बरु म पनि -

धरहराजस्तै निर्भिक हुन सकूँ

धरहराजस्तै निडर बन्न सकूँ

  "म झुक्दै नझुक्ने नेपालको छोरो "


-------------------६ -------------------------


                (समाप्त )

No comments:

Post a Comment