Monday, September 14, 2026

मेधावी प्रेमीको कथा

        

           मेधावी प्रेमीको कथा

        उमेरको अठारौं वसन्त टेक्दै गरेको समीर जीवनको त्यो मोडमा उभिएको छ, जहाँ ऊर्जा र सपनाहरूको तीव्र ज्वारभाटा चल्ने गर्छ। समाजको पिँधमा पारिएको दलित विश्वकर्मा कुलको कोखबाट उदाएको ऊ फगत एउटा साधारण नाम मात्र होइन; पुर्खाको आरनमा तप्त फलामजस्तै आफ्नै पसिनाको ज्वालामा खारिँदै गएको एक सशक्त अस्तित्व हो। उसका आँखामा परम्परागत विभेदका साँघुरो घेराहरू तोडेर क्षितिजपारि पुग्ने अदम्य सङ्कल्प छ।

        समीर एउटा प्रतिभावान ब्यक्ति हो  जसले जिन्दगीमा कहिल्यै द्वितीय स्थान ल्याउन परेन।  जसले अघिल्लो बर्ष मात्रै सर्बाधिक ए प्लुस ल्याएर एस ई परिक्षा समुत्तिर्ण भएको थियो। ऊ असाधारण परिश्रम र प्रखर प्रतिभाको यस्तो सङ्गम हो, जसले हत्केलामा परेका ठेलाहरूलाई आफ्नो पहिचानको गहना सम्झन्छ र मस्तिष्कको चेतनालाई जीवनको मूल हतियार। कठिन परिस्थितिहरूको भुमरीबीच पनि उसको जेहेन्दार व्यक्तित्व अँध्यारो रातमा टल्किने ध्रुवताराझैं चम्किरहेको छ। आरनको कोइलाबाट निस्कने आगोको झिल्काझैं, समीर आफ्नै लगन, इमानदारी र अटुट साधनाको बलमा भविष्यको नयाँ इतिहास कोर्न तत्पर एक उदीयमान प्रकाशपुञ्ज हो।

        विद्याकी अनवरत साधक सावित्री आफ्ना स्वर्णिम सपनाहरूलाई साकार रूप दिन अहोरात्र समर्पित थिइन्। सन् २०१५ को एसईई (SEE) परीक्षारूपी जीवनको पहिलो ठूलो अग्निपरीक्षालाई सफलतापूर्वक पार लगाउने दृढ सङ्कल्पका साथ, उनले ज्ञानको गहिराइ नाप्न सक्ने एक योग्य पथप्रदर्शकको खोजी गरिन्।त्यही ज्ञानपिपासा र सफलताको उत्कट चाहनाले उनलाई समीरको सान्निध्यमा पुर्‍यायो। समीरको प्रखर चेतना र बौद्धिक निष्ठाबाट प्रभावित भई, उनले आफ्ना शङ्का र जिज्ञासाहरूलाई मेट्न ऊसँगै अध्ययनको यात्रा आरम्भ गरिन्। सामाजिक पर्खाल र कुलीनताका परम्परागत परिधिभन्दा पर, ज्ञानको निष्कलङ्क आँगनमा ती दुई मेधावी प्रतिभाहरूको बौद्धिक मिलन भयो—जहाँ एउटा खारिएको चेतनाले सिकाउँदै थियो भने अर्को निष्ठावान् प्रतिभाले सफलताको नयाँ उचाइ चुम्न प्रत्येक अक्षर र सूत्रहरूलाई आफ्ना स्मृतिहरूमा सजाउँदै थिइन्।खुला किताबका पानाहरू पल्टाउँदा शब्दहरू भन्दा बढी ध्यान एकअर्काको उपस्थितिमा अल्झिन थालेको थियो। गणितका जटिल हिसाबहरू सुल्झाउन समीरले कापीमा कोरेका हरेक रेखा सावित्रीको नजरमा कुनै सुन्दर चित्र झैं लाग्थे। विज्ञानका शुत्रहरू घोक्ने बहानामा जब दुई जोडी आँखा ठोकिन्थे, तब कोठाभित्रको मौनता नै सबैभन्दा प्रखर संवाद बनिदिन्थ्यो।

       समीर प्रश्नको उत्तर बुझाउन जति एकाग्र देखिन खोज्थ्यो, सावित्रीको नजिकिँदो सुगन्ध र उत्सुक मुहारले उसको ध्यान उति नै विचलित बनाउँथ्यो। सिसाकलम समातेका काँप्दा औंलाहरू, कापीको छेउमा सँगै लेखिएका अस्पष्ट अक्षरहरू, अनि स्पष्टीकरण दिँदादिँदै हराउने स्वरयी सब किशोरावस्थाको पहिलो, निष्कपट र अबोध कौतूहलका साक्षी थिए।सावित्रीले नबुझेको बहाना गरेर दोहोर्‍याउन लगाएका पाठहरू केवल पढाइमा सीमित थिएनन्; ती त केवल त्यो मन्द मुस्कान र मिठो सम्झौतालाई केही बेर अझ लम्ब्याउने निर्दोष चाहना थिए। बाहिर बतासले झ्यालका पर्दा हल्लाउँदा, भित्र भने पुस्तकका हरफहरू बिस्तारै प्रेमको पहिलो पाठमा रूपान्तरण हुँदै थिए, जहाँ परीक्षाको डर हराएर केवल सँगै सिकिने पलहरूको मिठास मात्र बाँकी रहन्थ्यो।

          मध्यरातको चिसो हावा झ्यालका पर्दाहरू चिर्दै कोठाभित्र पस्थ्यो, तर समीरको निद्रा धेरै टाढा हराइसकेको थियो। पुरानो सहरको एकान्त गल्लीमा रहेको त्यो सानो कफी पसल त्यहाँ हरेक साँझ देखिने त्यो रहस्यमयी नारी नै अहिले उसको सम्पूर्ण चेतनाको केन्द्र थिइन्। उनी को थिइन्, कहाँबाट आउँथिन्, कसैलाई थाहा थिएन। तर जब उनी कुनाको टेबलमा बस्थिन्, वरपरको हावामा समेत चमेलीको मन्द सुगन्ध एक अव्यक्त कम्पन फैलन्थ्यो।उनको वर्ण हिउँजस्तै चहकिलो थियो, आँखामा भने कुनै गहिरो तालको मौनता झल्किन्थ्यो। उनी कहिल्यै हतारमा देखिन्नथिन्। समीरले महिनौँदेखि उनलाई हेरिरहेको थियो, तर त्यो हेराइ केवल आँखाको तृष्णा मात्र थिएन। त्यो उसको अन्तरमनको गहिरो, दमित तृप्ति रहस्यको खोजी थियो। समीरको मनभित्र एक अनौठो द्वन्द्व निरन्तर चलिरहन्थ्योके उनी यो भौतिक संसारकी साधारण नारी थिइन्, वा उसका आफ्नै अवचेतन मनका असन्तुष्ट इच्छाहरूले जन्माएको कुनै जीवित भ्रम ?

              एक दिन झरी दर्किरहेको साँझ, कफी पसलमा ती नारी समीरबाहेक कोही थिएन। बाहिर गड्याङगुडुङको आवाजसँगै बिजुली चम्कियो, अचानक ती नारीले आफ्नो नजर पुस्तकबाट उठाएर सिधै समीरको आँखामा जुधाइन्। त्यो एक पल समीरका लागि युगौँ लामो बन्यो। उनको ओठमा एउटा मन्द, लगभग अदृश्य मुस्कान तैरियो, जसमा आमन्त्रण पनि थियो चेतावनी पनि। समीरको मुटुको धड्कन यति तीव्र भयो कि उसलाई आफ्नै सास भारी लाग्न थाल्यो। उसको शरीर त्यहीँ कुर्सीमा स्थिर थियो, तर मन भने कुनै जादुयी सम्मोहनमा परेर उनको सामुन्ने पुगिसकेको थियो।समीरले बिस्तारै पाइला चाल्यो उनको टेबलनजिक पुग्यो। उनले कुनै असहजता देखाइनन्, केवल आफ्ना ती रहस्यमयी आँखाले उसलाई तलदेखि माथिसम्म नियालिन्। "तिमी मलाई हरेक दिन खोज्छौ, होइन?" उनको आवाज कुनै पुरानो मन्दिरको घण्टीको प्रतिध्वनि जस्तै मधुर गम्भीर थियो।समीरले शब्दहरू जुटाउन सकेन, केवल घाँटी हल्लायो। उसलाई लाग्यो, कुनै स्त्रीसँग होइन, आफ्नै आत्माको सबैभन्दा लुकेको, सुन्दर भयानक पाटोको अगाडि उभिएको छ।"मान्छे जसलाई देख्न चाहन्छ, आँखाले त्यही रचना गर्छ," (फ्रान्सेली दार्शनिक हेनरी बर्गसन), उनले कफीको कप समात्दै भनिन्। समीरले उनको हात छुन खोज्यो, तर औँलाहरू केवल चिसो हावामा मात्र अल्झिए। अर्को पल बिजुली गयो, क्षणभरको अन्धकारपछि जब बत्ती आयो, टेबल खाली थियो। केवल एउटा नछोइएको कफीको कप टेबलमा चमेलीको एउटा सेतो फूल बाँकी थियो।

              समीर बाहिर सडकमा निस्कियो। पानी थामिइसकेको थियो सडकमा कुहिरो बाक्लो बन्दै थियो। उसलाई थाहा थिएन कि उनी साँच्चै थिइन् वा केवल उसको मानसिक कल्पनाको उत्कर्ष। तर त्यो रातपछि, समीरको मनमा एउटा अनौठो शान्ति कहिल्यै नमेटिने तृष्णा सँगसँगै बाँचिरह्यो। बुझ्दथ्योकेही सौन्दर्यहरू पाउनका लागि होइनन्, केवल मनको गहिराइमा रहस्य बनेर बाँधिनका लागि जन्मन्छन्।

केही समयमा एस ई परीक्षा शुरु भयो, उनको काफी तयारी भएको कारण  परीक्षा राम्रोसंगै दिईन र सोही बमोजिम परिक्षाफल पनि ए प्लस नै आयो।

 त्यसपछि पहिले झैँ उनीहरुको भेट साझको गोधुली प्रकाशमा त्यही क्याफेमा भयो। साँझको मन्द हावाले बलेसीका पातहरू हल्लाइरहँदा सावित्रीको हातमा नतिजाको त्यो चहकिलो पाना थियो, जहाँ उसको वर्षौँको साधना ‘ए प्लस’ बनेर मुस्कुराइरहेको थियो। आँखाभरि कृतज्ञताको असीम सागर बोकेर उसले समीरको आँखामा हेरी।सावित्रीले समीरका आँखामा आफ्ना कृतज्ञ दृष्टिहरू बिसाउँदै मसिनो स्वरमा भनिन्, “समीर, यदि तिमीले मेरो अलमलमा विश्वासको ज्योति नजलाइदिएको भए, म सायद आफ्नै क्षमताको पर्खाल नाघ्न सक्दिनथेँ। यो सफलताको वास्तविक हकदार तिमी नै हौ।

समीरका ओठहरूमा सन्तुष्टिको गहिरो मुस्कान फैलियो। उनले भावुक हुँदै भने, “सावित्री, बीउले माटो चिरेर पलाउन आफ्नै प्राण खर्चिनुपर्छ, बादल केवल पानी बनेर झरिदिने माध्यम मात्र हो। मैले तिमीभित्रको सम्भावनालाई बाटो मात्र देखाएको हुँ; यात्रा तिम्रो आफ्नै साहसको थियो।समीरले बिस्तारै उनका हातहरू आफ्नो हातमा समाउँदै भने, “तिमीले पाएको यो सफलताले मलाई संसारको सबैभन्दा सम्पन्न मान्छे बनाएको , सावित्री। तिम्रो आँखामा देखिएको यो गर्व नै मेरो सबैभन्दा ठूलो उपहार हो। परीक्षा एउटा चरण मात्र थियो, जीवनका आगामी हरेक मोडहरूमा पनि यसरी नै तिम्रो साथमा रहिरहनेछु।

        त्यसपछि पहिले झैँ उनीहरुको भेट साझको गोधुली प्रकाशमा त्यही क्याफेमा भयो। महिना दिनको पर्खाइपछि पुन: त्यही क्याफेमा त्यही समयमा समीर र सावित्रीको भेट भयो।  साँझको चिसो हावा चलिरहेको थियो। क्याफेको कुनामा बसेर कफीको चुस्की लिँदै समीरले ल्यापटप बन्द गर्‍यो अगाडि टेबलमा लोकसेवाका मोटामोटा किताब पल्टाइरहेकी सावित्रीलाई हेर्‍यो।

समीर: सावित्री, अझै कति पढ्छौ? बिहानदेखि संविधान, ऐन कानुनका धारा मात्र रटिरहेकी छौ। दिमागलाई पनि अलिकति रिबुट हुन देऊ !

सावित्री: (किताबबाट आँखा उठाउँदै, हल्का मुस्कुराएर) तिमी पो कोडिङ गर्दागर्दै थाकेपछि दिमाग रिबुट गर्छौ समीर। मेरो अगाडि यति ठूलो लक्ष्य छ। सरकारी अधिकृत बन्नु भनेको केवल एउटा जागिर खानु मात्र होइन, देशको नीति निर्माण जनताको प्रत्यक्ष सेवा गर्ने ठाउँमा पुग्नु हो। अलिकति पनि लापरबाही गर्ने छुट छैन मलाई।

समीर: तिम्रो समर्पण बुझ्छु सावित्री। तर हेर , संसार कति चाँडो प्रविधिको पछि दौडिरहेको छ। एउटा कुशल कम्प्युटर इन्जिनियर बनेर यस्ता सफ्टवेयरहरू बनाउन चाहन्छु जसले लाखौँ मानिसको जीवन सहज बनाओस्। विश्व बजारमा आफ्नो सीपले नयाँ पहिचान बनाउने मेरो सपना छ।

सावित्री: सपना तिम्रो पनि निकै ठूलो समीर। तिमी प्रविधिको संसारमा नयाँ क्रान्ति ल्याउन चाहन्छौ, चाहिँ प्रशासनिक प्रणालीभित्र बसेर आम जनतालाई न्याय छिटोछरितो सेवा दिन चाहन्छु। तर कहिलेकाहीँ सोच्छु, तिम्रो रातभरको कोडिङ अनि मेरो दिनरातको लोकसेवा तयारी... हामी दुवैका बाटा कति फरक छन् है?

समीर: (सावित्रीको हात समात्दै) बाटा फरक भए पनि हाम्रो गन्तव्य भावना एउटै हो नि। तिम्रो सपना प्रशासनिक नेतृत्व सम्हाल्ने, मेरो सपना प्रविधिको नेतृत्व गर्ने। बरु सोच , भोलि तिमी शाखा अधिकृत भएर सरकारी कार्यालयमा बस्दा तिम्रो कार्यालयका ढिलासुस्ती झन्झट हटाउने खालको उत्कृष्ट सफ्टवेयर बनाइदिउँला।

सावित्री: (हाँस्दै) त्यो साँच्चै गज्जबको कुरा गर्‍यौ! -गभर्नान्सको जमाना , मलाई त्यस्ता प्राविधिक कुरामा तिम्रो सहयोग पक्कै चाहिन्छ। तिमीले सिस्टम बनाउने, मैले त्यसलाई इमानदारीपूर्वक चलाउने।

समीर: बिल्कुल। प्रेममा एकअर्काको सपना त्याग्नु पर्दैन, बरु त्यसको पखेटा बन्नुपर्छ। तिमी लोकसेवाको नाम निकाल्न दिनरात मिहिनेत गर, यता सफ्टवेयर कोडिङको दुनियाँमा उत्कृष्ट बनेर देखाउँछु।

सावित्री: तिम्रो यही विश्वासले मलाई अझ धेरै ऊर्जा दिन्छ समीर। हामी दुवैले आफ्नोआफ्नो क्षेत्रमा सफलता हासिल गरेपछि हाम्रो यो संघर्ष झनै अर्थपूर्ण लाग्नेछ।

समीर: पक्कै पनि। अब किताब बन्द गर कफी चिसो हुनुअघि पिऊ। भोलिदेखि फेरि तिम्रो नयाँ अध्ययन मेरो नयाँ कोड सुरु हुन्छ।

सावित्री: हुन्छ, समीर। दुवैको सपना पूरा नभएसम्म रोकिने छैनौँ!

 

साँझको धमिलो उज्यालो कोठाको झ्यालबाट भित्र छिरिरहेको थियो। समीरका औँलाहरू ल्यापटपको किबोर्डमा एकछिन रोकिए, अनि उसका आँखा अगाडि टेबलभरि फिँजारिएका ऐन, कानुन नीतिका ठेलीहरूमा घोरिरहेकी सावित्रीमाथि पुगेर अडिए। दुवैको मौनतामा पनि वर्षौँदेखि हुर्किएको एउटा परिपक्व, गहिरो अनुराग सास फेरिरहेको थियो।

समीर: (ल्यापटपको स्क्रिन बन्द गर्दै, कोमल स्वरमा) सावित्री, तिम्रा यी किताबका लामालामा दफाहरूमा कतै हाम्रो प्रेमको कुनै अनुच्छेद पनि भेटिन्छ कि, केवल शासन व्यवस्थाका कठोर नियमहरू मात्र छन् त्यहाँ?

सावित्री: (किताबबाट पुलुक्क आँखा उठाएर, मन्द मुस्कानका साथ) व्यवस्थाबिनाको संसार जति अराजक हुन्छ समीर, नियमविहीन प्रेम पनि उस्तै दिशाहीन बन्न सक्छ। यहाँ ती सिद्धान्तहरू खोज्दै छु, जसले भोलि मलाई राज्य नागरिकको भरोसायोग्य सेतु बनाउन सकुन्। तर तिम्रो ध्यान फेरि शून्य एक ( ) को त्यो बाइनरी संसारमै हरायो कि क्या हो?

समीर: मेरो संसार केवल प्राविधिक गणित मात्र कहाँ हो सावित्री? त्यो अमूर्त कोडिङमा पनि आफ्नै अस्तित्वको लय खोज्ने गर्छु। एउटा कम्प्युटर इन्जिनियर भएर यस्तो सञ्जाल बुन्न चाहन्छु, जसले संसारका अनगिन्ती जटिलताहरूलाई एकै क्षणमा सहज बनाइदेओस्। तर अचम्म लाग्छ, तिमी राज्यको काँध बलियो बनाउने निष्ठा रोज्छौ, चाहिँ अभौतिक संसारको आर्किटेक्ट बन्न खोज्छु। हाम्रा बाटाहरू नदीका दुई किनाराजस्ता समानान्तर छन्।

सावित्री: (आफ्ना दुवै हत्केलामा समीरको हात राख्दै) किनाराहरू समानान्तर भएकैले बीचमा बग्ने नदीको अस्तित्व जोगिएको हो समीर। हाम्रो प्रेम कुनै किशोरवयको चञ्चल आँधी होइन, जहाँ एकअर्काको अस्तित्वलाई आफ्नै रङमा रङ्गाउनुपरोस्। यो त्यो पाको प्रेम हो, जहाँ तिम्रो एल्गोरिदमको गहिराइलाई सम्मान गर्छु, अनि तिमी मेरो प्रशासनिक कर्तव्यको गरिमालाई बुझ्छौ। तिमी प्रविधिको शीर्षमा उभिनु, चाहिँ सिंहदरबारका कठोर पर्खालभित्र बसेर निमुखा जनताका आँसु पुछ्ने कलम बन्न सकूँ।

समीर: कति सहजै तिमी मेरो मनको संशय मेटिदिन्छौ सावित्री। मलाई सधैँ लाग्थ्यो, मेरो यो प्रविधिको मौन साधनाले तिम्रो जनसेवाको बृहत् संकल्पलाई कतै छायामा पो पारिदिने हो कि! तर आज बुझ्दै छु, तिम्रो कलम मेरो किबोर्ड दुवै -आफ्ना फाँटका औजार हुन्। भोलि तिम्रो सुशासनको सपनालाई गति दिन मेरो प्रविधिले साथ दिनेछ।

सावित्री: हो समीर, समर्पणबिनाको महत्त्वाकांक्षा केवल अहंकार हो, लक्ष्यबिनाको प्रेम केवल अल्झिनु। जबसम्म तिम्रो कोडिङले देशको मेरुदण्डलाई नवीनता दिनेछ मेरो हस्ताक्षरले एउटा गरिबको चुल्होसम्म न्याय पुर्‍याउनेछ, तबसम्म हाम्रो यो प्रेम केवल दुई शरीरको मिलनमा सीमित रहने छैन। यो दुईवटा संकल्पको एउटै यात्रा बन्नेछ।

समीर: (उसको आँखामा हेर्दै) सावित्री, तिम्रो यो प्रज्ञा नै मेरो सबैभन्दा ठूलो प्रेरणा हो। तिमी अधिकृत बन्ने त्यो अन्तिम सिँढी चढ, इन्जिनियरिङको नयाँ क्षितिज उघार्न अघि बढ्छु।

सावित्री: अनि त्यो क्षितिजमा पुगेर जब हामी एकअर्कालाई हेर्नेछौँ, त्यतिबेला हाम्रो प्रेम कुनै सम्झौतामा होइन, एकअर्काको सफलताको गर्विलो धरातलमा मुस्कुराइरहेको हुनेछ।

         जीवनको दोबाटोमा उभिएर समीर सावित्रीले एकअर्कालाई रोज्दा, त्यो कुनै बैँसालु आवेगको उत्ताउलो भेल थिएन। त्यो दुई पाका नदीहरू आफ्नै गति गाम्भीर्यमा एकाकार भएजस्तो शान्त, गहिरो धीर वयको अनुराग थियो। उनीहरूका बीचमा केवल प्रेमको मात्र बास थिएन; त्यहाँ -आफ्ना सपनाप्रतिको अटुट निष्ठा अस्तित्वको पृथक् सुवास पनि उत्तिकै जीवित थियो।समीरका रातहरू कम्प्युटरका चिसो स्क्रिन, जटिल गणितीय सूत्र अनन्त कोडिङका जटिल संरचनाहरू बुन्दैमा बित्थे। तार्किक संसारको एउटा कुशल शिल्पी बन्न मरिहत्ते गरिरहेको थियो, जहाँ भावनाभन्दा यथार्थ शून्य अनि एकको गणितीय सत्य बोल्थ्यो। उता सावित्रीको संसार भने समाज, दर्शन, इतिहास मानवीय चेतनाका मसिना पाटाहरू पल्टाउँदै अघि बढिरहेको थियो। मानविकीका गहन सिद्धान्तहरूभित्र मान्छेको आत्मा, राज्यको दायित्व समाजको धड्कन खोज्न लीन हुन्थी।दिनभरिको बौद्धिक थकानपछि जब साँझको धमिलो छायामा उनीहरू एउटै चौतारीमा भेटिन्थे, उनीहरूको संवाद कुनै साधारण गफगाफमा सीमित हुँदैनथ्यो। समीर आफ्ना सिर्जना गर्न लागिएका सफ्टवेयरहरूले कसरी विश्वको गति फेर्न सक्छन् भनेर सपनाका रङहरू उधिन्थ्यो भने सावित्री आफ्ना अध्ययनका हरफहरूबाट सुशासन, मानवीय न्याय प्रशासनिक नेतृत्वको गरिमा सम्झाउँथी।

"समीर, तिम्रो प्रविधिले संसारलाई जति नै गति दिए पनि त्यसमा मानवीय संवेदनाको सास भर्न समाजशास्त्र दर्शन नै चाहिन्छ," सावित्री मन्द मुस्कानका साथ भन्थी।

अनि समीर उसको हात आफ्ना औँलाहरूमा बेर्दै स्नेहपूर्वक उत्तर दिन्थ्यो, "हो सावित्री, तर तिम्रो समाजका ती उच्च मानवीय मूल्यहरूलाई गतिशील पारदर्शी बनाउन मेरो प्रविधिकै काँध चाहिन्छ। हामी दुई फरक पाङ्ग्रा हौँ, तर हाम्रो गति एउटै जीवन-रथको हो।"उनीहरूको प्रेममा कसैले कसैलाई आफूतिर तन्काउनु परेन, आफ्नो लक्ष्यलाई अर्काको खुसीका निम्ति तिलाञ्जली नै दिनुपर्‍यो। दिन, महिना ऋतुहरू फेरिँदै गए। समीरको किबोर्डमा बगेको पसिना सावित्रीका पाण्डुलिपिहरूमा घोरिएका आँखाले आफ्नो सार्थकता खोजिरहे। वर्षौँको मौन तपस्या, -आफ्नो धरातलप्रतिको इमानदारी वयस्क प्रेमको परिपक्व सम्हाल्ने शक्ति अन्ततः फलित भयो।

        परीक्षाको नतिजा आउँदा दुवैले -आफ्नो संकायमा उत्कृष्ट अङ्कका साथ स्नातक उत्तीर्ण गरे। त्यो सफलता केवल एउटा कागजको प्रमाणपत्र मात्र थिएन; त्यो दुई वयस्क आत्माले एकअर्काको स्वतन्त्रता, सामर्थ्य निष्ठालाई दिएको सबैभन्दा सुन्दर सम्मान थियो। दीक्षान्तको भव्य परिवेशमा जब दुवैले एकअर्कालाई हेरे, उनीहरूका आँखामा प्रेमको कुनै हलुका रङ थिएन, बरु -आफ्नो गन्तव्यको पहिलो खुड्किलो गर्वसाथ टेकेको एउटा अनन्त शाश्वत तृप्ति चम्किरहेको थियो।गोधूलीको रातो रङ क्याफेको झ्यालबाट छानिँदै आउँदा, समीरको इन्जिनियरिङ तार्किकता सावित्रीको प्रशासनिक गाम्भीर्य एकाएकसिस्टम क्र्यासभएर केवल नग्न आँखाको मौन निरीक्षणमा रूपान्तरित हुन पुगे।

       कफीको बाफभन्दा तातो बनेका नजरहरूले एकअर्काको औपचारिक पहिरनलाई मनमनै लिलाम बढाबढ गरिरहे, जहाँ कपडाका तहभित्र लुकेका वयका मसिना उभार रेखाहरू लोकसेवाका जटिल प्रश्नभन्दा बढी रहस्यमय अनुसन्धानयोग्य बन्न पुगे।बौद्धिक छलफलका ठूला गफहरू टेबुलमुनि चुपचाप खसे, अनि आँखाको त्यो अनपेक्षितएक्स-रेदृष्टिपछि वातावरण यति बैँसालु कामुक बन्यो कि कुनै प्रशासनिक मर्यादाको फाइल त्यहाँ खुल्नै सकेन।अन्ततः, टेबलमुनिबाट सरेको समीरको काँप्दो हत्केला सावित्रीका औँलाहरूको अनौठो घर्षणले यस्तो छोटो-सर्किट गराइदियोजहाँ नीति, नियम कोडका साराफायरवालभत्किएर दुवै शरीर प्राकृतिक स्पर्शको अध्यादेश जारी गर्न विवश बने।

      त्यो गोधूलीको मौन आत्मसमर्पणपछि लाज, संकोच अनौठो भयले दुवैका ओठहरूमा कडा ताल्चा लगाइदियो, मानौँ बोली हराएर केवल आँखाहरू मात्र एकअर्काको नजरबाट भाग्न खोजिरहेका थिए।तर प्रकृतिको खेल पनि कस्तो विचित्रसंकोचको पर्दाभित्र उनीहरू निशब्द बनिरहँदा, त्यही एक साँझको नजानिँदो घर्षणले सावित्रीको मातृत्वको कोखमा एउटा नयाँ जीवनको मौन अंकुरण रोपेर प्रेमलाई नयाँ नियतितर्फ डोर्‍याइसकेको थियो। मध्यरातको सुनसान सडकमा समीरको पुरानो मोटरसाइकलको आवाज मात्र सुनिन्थ्यो। पछाडि बसेकी सावित्रीले समीरको काँधलाई दुवै हातले बेस्सरी अँठ्याएकी थिइन्। उनको शरीर निरन्तर कामिरहेको थियो भने पेटभित्रको उकुसमुकुसले फेरि मुखसम्म अमिलो पानी ल्याइपुर्‍याएको थियो। यसै पलमा सावित्रीले आफ्नो पेटमा समीरको नासो बसिसकेको सत्य यथार्थ पहिलो पटक समीरलाई सुनाउन भ्याई।

          कार्यालयका औपचारिक फाइल र बैठकहरूमा दुवैले आ-आफ्नो नयाँ पदीय मर्यादाको सन्तुलित मुखौटो ओढिरहे, तर सावित्रीको सुस्त चाल र समीरको छटपटीले ती सरकारी भित्ताहरूलाई भित्रभित्रै अचम्मको शंकामा अल्झाइरह्यो।पारिवारिक चौघेराभित्र भने लोकसेवा उत्तीर्ण गरेको उत्सवको खुसी अझै सेलाएको थिएन, जहाँ छोराछोरीको उज्यालो भविष्यको गर्वमा रमाएका दुवैका बाआमा त्यो मौन कोखमा हुर्किँदै गरेको अर्को सत्यको पदचापबाट नितान्त बेखबर थिए।एकातिर समाज र परिवारको कडा सामाजिक नैतिकताको भय, अर्कोतिर प्रशासनिक कुर्सीमा बसेर लुकाउनुपरेको जैविक यथार्थ , त्यो भन्दा पनि बिश्वकर्मा समीर र बाहुनकी छोरी सावित्री !, कसरी यो परिवार र  समाजलाई पच्न सक्छ , ठूलै संकट आइपर्यो। यी दुईको चेपुवामा परेर समीर र सावित्री मौनताको यस्तो धरहरामा उभिएका थिए, जसको जगमुनि गोप्य विष्फोटको घडी टिक-टिक गरिरहेको थियो।कार्यालयको पदीय गरिमा र पारिवारिक प्रतिष्ठाको कठोर धरातल हल्लिनुअघि नै, समीर र सावित्रीले आपसमा मन्थन गरी यो जटिल गाँठो फुकाउन दुवैका दिदीहरूको स्नेहिलो आँगन रोज्ने गम्भीर निर्णय गरे।अन्ततः, संकोचको काँप्दो पर्दा च्यात्दै सावित्रीले समीरकी दिदीको काखमा र समीरले सावित्रीकी दिदीको अगाडि आफ्नो प्रेम र कोखमा मौलाएको त्यो अनपेक्षित अंकुरणको पहिलो गोपनीय सत्य विसर्जन गरिदिए।बन्द कोठाभित्र सल्केको त्यो गोपनीय आगो हावाको वेगझैँ एककान, दुईकान हुँदै जब दुवै कुल आफन्तजनको आँगनसम्म फैलियो, तब समाजका कठोर आँखा परम्परावादी जिब्राहरू एकछिन स्तब्ध बने।तर सन्तानको उज्ज्वल भविष्य त्यो हुर्किँदै गरेको अबोध प्राणको रक्षासामु सामाजिक हठ झुक्न बाध्य भयो; अनि आफन्तहरूले नै "प्रेम सृष्टिको मिलन पछि हुने लगन झनै पवित्र पूर्ण हुन्छ" भन्ने उदार तर्कको जल छर्किएर त्यो अप्रत्याशित यथार्थलाई सहजै आशिर्वादको माला पहिर्‍याइदिए।दुई महिनाको मौन स्पन्दनबाट मौलाउँदै गएको त्यो मातृत्वको यात्रा पाँचौँ महिनामा आशिर्वाद उत्सवको 'बेबी सावर'ले सिँगारिँदै, अन्ततः नौ महिनाको पूर्ण प्रतीक्षापछि संसारकै सबैभन्दा कोमल सुन्दर रुवाइका साथ नयाँ जीवनको रूपमा धर्तीमा अवतरित भयो।

न्वारनको पवित्र दिनमा पण्डित, परिवार र आफन्तजनका बीच बालकको नामकरणका लागि भावनात्मक र प्रतीकात्मक मन्थन हुँदै गर्दा निम्न प्रस्तावहरू अघि सारिए:

·        भ्रुण पछि विवाह भएको हुनाले छोरो बच्चाको नाम 'अनुराग' (प्रेमको प्राकृतिक उपज) वा 'प्रणव' (सृष्टिको आदिम ध्वनि) राखिनुपर्छ।

·        दुवै श्रीमान् श्रीमती शाखा अधिकृत भएकोले बच्चाको नाम 'प्रशासन' वा 'अधिराज' (न्याय र शासनको प्रतीक) राखिनुपर्छ।

·        श्रीमानको नाम समीर (स) र श्रीमतीको नाम सावित्री (सा) भएकोले नवजात पुत्र शिशुको नाम दुवैको संगम झल्किने गरी 'समीप' वा 'समर्थ' राखिनुपर्छ।

·        अन्त्यमा, बुवा-आमा दुवै असाधारण मेधावी भएकाले ती सबै भाव, प्रतिभा र बुद्धिमत्तालाई समेट्दै शिशुको नाम 'मेधान्श' (प्रखर बुद्धि र विवेकको अंश) राखिनुपर्छ भन्ने सर्वसम्मत निर्क्यौल भयो।

·        न्वारनको पवित्र वेदीमा नवजात बालकको नामकरण गर्दै पुरोहितले बालकमा देवी सरस्वती प्रकृतिको सर्वोत्तम बुद्धि, प्रज्ञा एवं विवेक सधैँ जागृत रहोस् भनी ऋग्वेदको प्रसिद्ध मेधा सूक्तबाट निम्न श्लोक पाठ गरे:

मेधां मे वरुणो ददातु मेधामग्निः प्रजापतिः।

 मेधामिन्द्रश्च वायुश्च मेधां धाता ददातु मे स्वाहा॥

 

(समाप्त)

 श्रष्टा: डा. दीपक यात्री

     टेक्निकल लिडर ,साफ्टेक फाउन्डेसन प्रा लि, बानेश्वर, काठमान्डू

स्थयी ठेगाना : लेखनाथ -२७ , कास्की नेपाल   

  मोबाइल : ९८१३४५६३७४, E-mail: deepak1.hclcdc@gmail.com

    

       

·