Friday, September 9, 2022

कक्षागत गीतहरु कक्षा १ देखि १० सम्म

 https://www.youtube.com/watch?v=o2-4I1d06dI


(कक्षागत गीतहरु) 

कक्षा १: 
हामी धेरै साना छौ ! हाम्रो मुटु सानो छ !
यो सानो मुटुमा बिशाल देश छ | 

कक्षा २: 
कति राम्रो हाम्रो देश | आफ्नै बोलि आफ्नै भेष 

कक्षा ३: 
(खोइ के हो याद भएन| साझाबासी मित्रहरुलाई याद छ कि ?)

कक्षा ४: 
नेपाल आम कहिँ छ घाम कहिँ छ छाया हे
परन्तु सारा सन्तान माथि एउतै माया हे 


कक्षा ५: 
यो  मेरो  देश  नेपाल  हेर  कति  छ  रमाइलो | 
यो  मेरो  देश  नेपाल  हेर  कति  छ  घमाइलो |


कक्षा ६: 
देशको माटो रम्न सके रम्छ नेपाल 
यहि माटो गल्न सके बन्छ बिशाल 


कक्षा ७:
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ 
पहरा बोल्छ, छहरा बोल्छ, नेपाल बोल्दछ 
 
कक्षा ८:
तराई हेर कति राम्रो हरियो बन हुनाले 
पहाड हेर झनै राम्रो गुराश फुल्नाले 

कक्षा ९:
हे बिर हिड अघि सरि नहातई पाउ रतिभरि
यो मातृभूमि नेपालको भै बिर पराक्रमी सन्तति 

कक्षा १०:
जय जय काली जय जय गोरख 
हाम्रा रगत ले कोरिएका पाइलाहरु मेटेर मेटिन्न 

सामुहिक गान:
हट्ने होइन डटी लड्ने नेपालीको बनि हुन्छ 
----------------------------------------------
https://www.facebook.com/photo?fbid=972296640312051&set=pcb.972147653660283




"कति राम्रो हाम्रो देश " राष्ट्रिय गीत 
यो मेरो देश नेपाल हेर कति छ रमाइलो 
यो मेरो देश नेपाल हेर कति छ घमाइलो
खोला र नाला हरियो बन हिमाल हासेको
डाफें र मुनाल मयुर छ यहा हेर त नाचेको 
लेक र बेशी तराई पहाड क्या राम्रो मिलेको 

यो मेरो देश नेपाल हेर कति छ रमाइलो 
यो मेरो देश नेपाल हेर कति छ घमाइलो

कस्तुरी मृग गैडा र चौरी छ यहाँ खेलेको 
चाप र गुरास छ सुनाखरी गमक्कै फुलेको 
यसैमा मेरो देशको मुहार अति छ खुलेको 

यो मेरो देश नेपाल हेर कति छ रमाइलो 
यो मेरो देश नेपाल हेर कति छ घमाइलो

यही छ घाटी देउराली भन्ज्यांग चौतारी खनेको
बज्दछ मादल गम्केर यही लोकगीत भाकाको 
यसैले होला छ देश मेरो स्वर्गको काखमा 

यो मेरो देश नेपाल हेर कति छ रमाइलो 
यो मेरो देश नेपाल हेर कति छ घमाइलो
--------------------------------------------------------

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

उन्नत हाम्रो सगरमाथा बिश्व कै शिर हो
बिश्व मा उच्च गौरब राख्ने नेपाली बीर हो

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

पसिना देउ, हृदय देउ, उठाउ नेपाल
तिमी नै आफू नउठे देखि के उठ्छ हिमाल

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२

जनकको जान सिता को सिप बुद्व को हृदय
नबिर्स आफ्नो पुर्खाको त्याग साहस बिजय

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ
पहरा बोल्छ, छहरा बोल्दछ नेपाल बल्दछ।-२



Thursday, September 8, 2022

रसराग बिनाको कबिता हुदैन !!

 बसि फेदमा वृक्ष कहाँ चढिन्छ !

बिना हतियार युद्द कहाँ जितिन्छ !!

किनारा नछोडी कसरी पौडीन्छ

पोखरी नपसी हिलो कहाँ सोरिन्छ !!

------------------१ ---------------
बिना गुनेलीले शिकार हुदैन !
बिना राइफलले युद्द जितिदैन !!
बिना तृष्णाले कुवा भेटिदैन !
बिना तिर्सनाले बैरी जितिदैन !!
----------------------२ --------------
ननाघेर जङ्घार खोला तरे पो !
सपनाकै भरमा पगरी मिले पो !!
बादरले आफ्नो घर बनाउला त !
साक्षी बिरालो दुध जोगिएला त !!
-----------------३ --------------
बिना पौरखीले खेत जोतिए पो !
बिना भावनाले गीत लेखिए पो !!
कल्पना बिना नै काब्य सिर्जिदैन !
रसराग बिनाको कबिता हुदैन !!
--------------४ ---------------
.(समाप्त )
डा दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
हरिसिद्दि, ललितपुर
स्थायी ठेगाना :लेखनाथ -२७ ,तालचोक कास्की
लेखन मिति :भदौ २३ गते ,बि.स. २०७९
Smita Bam Malla Thakuri, Bhuwan Tripathee and 10 others
1 Comment
Like
Comment
Share

Saturday, August 20, 2022

"जन्मदिनमा म "

 "जन्मदिनमा म "

म एउटा फूल भै फुलू ,मौरीको मनोहरमा !
फूलको रसले भरोस ,मौरी घार हराभरा !!
त्यही मह बन्न सकोस ,आयुर्वेदिक औषधी !
स्वास्थ्यलाभ तिनीलाई,असहाय र रोगी !!
------१-------------------------------------
म एउटा आगो भै बलू,रन्किएर रापमा !
आगोको रापले फाडोस ,झार् पाते खोरिया !!
त्यही खोरियामा भोली,फलोस उर्बर फसल !
भूमीहिन सुकुम्बासी,बनाउदै घरबार !!
---२---------------------------------------
म एउटा जल भै बगू,यत्रतत्र बगाउदै !
जलको संगमभित्र ,खोलानदी बनाउदै !!
त्यही नदी हुन सकोस,सिचाइको साधक !
आकासे पानीको भरमा,मुक्ति पाउन कृषक !!
-------------३------------------------------------
म एउटा ऋतु भै आउ ,चाडपर्ब बोलाउदै !
चाडको रंगमा दशैं ,तीज तिहार मनाउदै !!
त्यही पर्ब हुन सकोस ,खुशीको ठूलो उत्सब !
सारा नेपालीमा छावोस, हर्ष एबम महोत्सब !!
--------------------४ -------------------------- (समाप्त ) डा दीपक यात्री लेखनाथ -२७, कास्की हाल : हरिसिद्धी ललितपुर

Wednesday, August 17, 2022

अहंकारको आयु लामो हुदैन

 "अहंकारको आयु लामो हुदैन "   (प्रतियोगिताको निम्ति )

लाई सुन्दर शैल फेटा पगरी, बाधी टाई सुन्दर !

लाई कोट दुरुस्त मिल्ने शिरमा, ढाका टोपी मन्जिल !!

पहिरेको चश्मा मुहारभरीका, पाउडरको चमक !

किन्तु मानवमा रहे अहंकार, हुदैन आयु चीर !!

-------------------------१ -----------------------------

साट्लान प्रेम सुटुक्क ती परेवा झैँ , जोडि एक सुन्दर !

नाच्लान जोडि मयुर ती नाचे झैँ , मायाप्रीति प्रखर !!

लाखौ काब्य कला, गला र लयको बनेर आकर्षण !

यदि हृदयमा रहे अहंकार बन्नेछ मात्रै कण !!

--------------२ ----------------------------------

लेख्लान काब्य सरस खण्डलहर, आनन्द मानिकन !

बन्लान पण्डित बेद पुराण पढेर, आध्यात्मीक जीवन !!

लाखौ प्रबचन नीति र रीतिको ,दिएर उपदेश !

किन्तु मानवभित्र रहे अहंकार, बन्ला शुन्य जीवन !!

--------------------३ ------------------------------------

हेर्दै लेख्ला नटुंगिने गरी यहाँ , साहित्यका सागर  !

सोच्दै लेख्ला असीम सृजना, साहित्यका  रचना  !!

कैयन मिल्ला इनाम कदर, जयकारको  साकार !

तर मानवभित्र रहे अहंकार, बन्ला जीवन बेकार !!

-----------------------४------------------------------ 

       (समाप्त )

  डा. दीपक यात्री 

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

स्थायी :लेखनाथ -२७, कास्की नेपाल

सम्पर्क मोबाइल न : ९८१३४५६३७४ 

ई-मेल : iamyatree@rediffmail.com

Tuesday, August 16, 2022

अहङ्कारको आयु लामो हुँदैन

 समस्या-"अहङ्कारको आयु लामो हुँदैन।"

छन्द-भुजङ्गप्रयात

य     य      य     य

iss  iss  iss  iss

विश्राम ६अक्षरमा

समस्या-"अहङ्कारको आयु लामो हुँदैन"

घमन्डी बनेमा,विकारी  भइन्छ

गरे क्रोध ज्यादै,यहाँ को सहन्छ

सधैँ टिक्न सक्ने,अहम् वाद हैन

अहङ्कारको आयु लामो हुँदैन।

.                 (१)

धरामा पलाएर    आयो घमन्ड

हुँदा व्यक्ति दम्भी, भए खण्डखण्ड

बने सद्विचारी   अरू    चाहिँदैन

अहङ्कारको आयु लामो हुँदैन।

.                (२)

बढी दम्भ गर्दा,टुटेको छ नाता

दुराचार भर्दा  ,भएको छ घाटा

बने दुष्ट, श्रद्धा कहीँ    पाइँदैन

अहङ्कारको आयु लामो हुँदैन।

.                (३)

यहाँ बोल्छ मान्छे,नराखेर मान

निचोभाव राख्दा,हरायो निसान

अहम् ठानिए शान्ति नै आउँदैन

अहङ्कारको आयु लामो हुँदैन।

.                (४)

गरेँ भव्य मैले भनी भुक्न थाल्ने

गरी धेर सेखी  असाध्यै फलाक्ने

यही चाल राखे, भलो  छाउँदैन

अहङ्कारको आयु लामो हुँदैन।

.              (५)

विदुर अधिकारी

रामपुर,चितवन

=============================

मपाईँ छ भन्ने यहाँ आज जल्ले 

स्वयम्  गिर्छ मान्छे यहाँ पुज्छ कल्ले 

गरी दम्भ आकाश मान्छे छुँदैन 

अहङ्कारको आयु लामो हुँदैन ।

उचालिन्छ मान्छे लिई भाव सेखी 

ठुलो ठान्छ आफैँ अरू क्वै नदेखी 

कतै मृत्तिकामा दिगो वस्तु छैन 

अहङ्कारले आयु लामो हुँदैन ।।

✍️ विन्दा पराजुली बराल

==============================

मपाई   सबैले   छिटो  त्याग्नुपर्छ 

सधैं शुद्ध आफ्नो हिया राख्नुपर्छ

यहीँ   सत्यतामा  यहाँ जो  छुदैन 

अहंकारको   आयु   लामो   हुदैन ।

✍️दलबहादुर शाही

=============================

झरेको छ काफी अहङ्कार बढ्दा

अझै झर्न  चाहा गरी लड्न खोज्दा

म सम्झिन्छु आफैँ मरेको त छैन ?

अहङ्कारको आयु लामो हुँदैन ।।१

यहाँ छन् अझै यी फटाहा भनेका

परस्त्रीहरूमा हुरुक्कै बनेका

नबाँचून् यहाँ यी कुनै मोल छैन

अहङ्कारको आयु लामो हुँदैन ।।२

✍️कविराज घिमिरे

===============================

नजाेगाउँदा वृक्ष नासिन्छ हाम्रो 

बने देश हाँक्नेहरू हेर चाम्राे

पखेराहरूमा चिमालाे हुँदैन 

अहङ्कारकाे आयु लामाे हुँदैन ।

सबै देश लुट्नेहरू मात्र देखेँ

त्यसैले यही शब्द एक्कासि लेखेँ

यहाँ देश राेक्ने धरालाे हुँदैन 

अहङ्कारको आयु लामो हुँदैन।।

✍️ दुर्गा क्षेत्री 

==============================

म खाऊँ रमाऊँ यही सोच्छ पापी

लिँदा सोच यस्तो कहाँ हुन्छ जाती 

मरे मर्छ पापी हिया यो रुँदैन 

अहङ्कारको आयु लामो हुँदैन।।१।।

स्वयम् जल्छ मान्छे अहङ्कार गर्दा

छ हेला सबैको कठै दुःख पर्दा 

अधर्मी भएमा दयाले छुँदैन 

अहङ्कारको आयु लामो हुँदैन।।२।।

✍️ दुर्गा थापा मगर 

===============================

उपन्यासको पात्रझैँ आस हुन्न

चमत्कार या जादुझैँ खास हुन्न 

बुझौँ चर्मका नेत्रले देखिँदैन 

अहङ्कारको आयु लामो हुँदैन !!१

बनून् धुन्धुकारी दियून् दु:ख धेरै 

तिनै सिद्धिनेछन् सखारै सबेरै 

कुरा सत्य हो यो कसै मेटिँदैन

अहङ्कारको आयु लामो हुँदैन !!२

नराम्रो अरूको नसोचे त भैगो 

कुराले अरूमा नघोचे त भैगो

सही मार्ग हिँड्दा अहंले छुँदैन 

अहङ्कारको आयु लामो हुँदैन !!३

सधैँ ज्ञानमा शान्ति बाँडेर बुद्ध

गए जिन्दगी नै बनाएर शुद्ध 

बुझौँ शान्तिमा मात्र मिल्नेछ चैन 

अहङ्कारको आयु लामो हुँदैन !!४

कुरा एक मात्रै बुझे हुन्छ साथी 

स्वयं सत्य बस्ने गरेको छ माथि 

सदाचार आघात पाई रुँदैन 

अहङ्कारको आयु लामो हुँदैन !!५

✍️दुष्यन्त भट्टराई

================================

१

गिरेको छ मान्छे घमण्डी भएरै

हिँडेकाे छ मान्छे घमण्डी गरेरै

पढेको भनेरै  त ठूलो हुँदैन 

अहङ्कारकाे आयु लामो हुँदैन ।

२

थियोे रावणै त्यो बडो नै भएकाे

घमण्डी भएरै तलै पाे परेकाे

बढेकाे  छ भन्दै त ठूलो हुँदैन 

अहङ्कारकाे आयु लामो हुँदैन ।।

✍️भवानी घिमिरे 

===============================

घमण्डीपना यो  सधैँ जुर्मुरायो

त्यसैले त मान्छे  फटाहा बनायो

बने   शान्त   मान्छे   नराम्रो हुँदैन

अहङ्कारको  आयु  लामो  हुँदैन ।।१

पकाएर   ढुङ्गा  नगल्ने रहेछ 

घमण्डी छ मान्छे नबुझ्ने भएछ 

अहङ्कार   गर्दा  खुसी पाइँदैन 

अहङ्कारको आयु लामो हुँदैन ।।२

कसैले नबन्नू नपाल्नू  घमण्ड 

त्यसैले त नाता हुने खण्ड खण्ड

हुँदा  मात्र  दम्भी  खुसी  छाउँदैन 

अहङ्कारको आयु लामो हुँदैन ।।३

म  ठूलो  छु   भन्दै  मपाईँ भएर 

कहाँ टिक्छ मान्छे घमण्डी बनेर 

सधैँ दुष्ट बन्दा सखी  भेटिँदैन 

अहङ्कारको आयु लामो हुँदैन ।।४

न आफ्ना रहन्छन् न माया रहन्छ 

सधैँ पीरमात्रै  नदीझैँ   बहन्छ 

स्वयम् एक्लिएरै  कहाँ हुन्च चैन 

अहङ्कारको   आयु लामो हुँदैन ।।५

✍️सुनिता बराल 

============================

सधैँ पाऊँ सम्मान आफू भनेमा

बढाएर औकात ढोँगी बनेमा

तलै झर्छ त्यो टाकुरामा छुँदैन

अहङ्कारको आयु लामो हुँदैन ।१।

भिडेको छ मान्छे विना कामकाज

मखुण्डीहरूले चलाएर राज

स्वअस्तित्व खोज्दा कतै पाइँदैन

अहङ्‌कारको आयु लामो हुँदैन ।२।

जमाएर पैसा कमाएर नाम 

ठुलो बन्न खोज्ने अरू छैन काम

कुकर्मीहरूको कुनै जात छैन

अहङ्‌कारको आयु लामो हुँदैन ।३।

बिगारेर बाटो बनाएर बारी

दिदी दाजु आफन्त नाता सपारी

तिनै गर्दछन् देशमा नित्य चैन

अहङ्‌कारको आयु लामो हुँदैन ।४।

डुबाएर यो राष्ट्र चुर्लुम्म सारा

बुझाएर अन्तै गरे भाइचारा 

यिनैले बिगारे कतै शान्ति छैन

अहङ्‌कारको आयु लामो हुँदैन ।५।

✍️मुक्ति पोखरेल

==============================

नपाएर पानी झरेको छ थुङ्गो

भने बन्छ मान्छे कलाहीन ढुङ्गो

जहाँ सत्यले साधनाले छुँदैन

अहङ्कारको आयु लामो हुँदैन। 

✍️शिवराम भट्ट

=============================

अहङ्कारकाे आयु लामो हुँदैन

छुने विन्दु भन्दै बढेको छ तामा  

भरे झुक्नु पर्ने  लुतुक्कै गरामा 

जवानी   कुनै   एकनासे  हुँदैन 

अहङ्कारकाे  आयु लामो हुँदैन!!१!!

✍️देवीप्रसाद मिश्र

============================/=

सदाचारले मात्र  विश्वास  जित्छ

वहे ज्ञान धारा नयाँ  दीप बल्छ

विना अर्थको शब्दको काम छैन

अहङ्कारको आयु लामो हुँदैन। १।

अहङ्कारले मान सम्मान  गिर्छ

उँभो जान्छुभन्दा उँधै मात्र झर्छ

दुराचारको साँध सीमा हुँदैन 

अहङ्कारको आयु लामो  हुँदैन ।२।

अनेकौं वितण्डा गरी हाँस्न थाल्दा

पुराना सबै  सभ्यता मास्न थाल्दा

प्रभाती उज्यालो हुनै पाउँदैन

अहङ्कारको आयु लामो  हुँदैन ।३।

स्वयम‌्ले भरेका  अहम‌्का भकारी

बसेका बस्यै छन् उनैले डकारी

कुकर्मी बनेमा दया आउँदैन

अहङ्कारको आयु लामो  हुँदैन ।४।

बनी सूर्य झैँ सौम्य आभा छरेमा

कला ज्ञान छर्दै उकाली चढेमा

छ विश्वास बढ्ने प्रतिष्ठा र चैन

अङ्कारको आयु लामो हुँदैन ।५।

✍️कल्पना अधिकारी

===============================

सदाचारलाई सधैँ कुल्चिदिन्छ

धनै देशको बेसरी उल्झिदिन्छ

सयौँ लोक मर्दा हरे! जो रुँदैन

अहङ्कारको आयु लामो हुँदैन।१

सही काम गर्दैन पापी घमण्डी

बढाएर ज्यादा लिनेगर्छ हण्डी

हियोभित्रका दाग कालो धुँदैन

अहङ्कारको आयु लामो हुँदैन।२

सधैँ शेरझैँ गर्छ जो धृष्ट चाला

डसी लोकलाई भिरी बस्छ माला

बुझी विध्न वाधा कसैको फुँदैन

अहङ्कारको आयु लामो हुँदैन।३

जसै पापको पूर्ण घैला भरिन्छ

फुटी जोडले धूलबन्दै छरिन्छ

कसैको कतै आड त्यो पाउँदैन

अहङ्कारको आयु लामो हुँदैन।४

गरे लोकमा घोरअन्याय सेखी

गिरे दैत्य सारा धरा-धामदेखि 

रटी सत्यको गीत को गाउँदैन?

अहङ्कारको आयु लामो हुँदैन।५।

✍️रामशरण न्यौपाने,भक्तपुर

===============================

नहोस् द्वेष प्यारो नपालौँ घमण्ड 

बनौँ शान्तिप्रेमी बनी हुन्न जन्ड 

सधैँ दम्भ पाले झनै काम छैन

अहङ्कारको आयु लामो हुँदैन ।।१।

हिँडौँ बुद्धको मार्गमा हुन्न हिंसा

नहोस् युद्धको मार्ग भेट्ने अभीप्सा 

बनौँ कृष्णजस्तो सबै कंस हैन 

अहङ्कारको आयु लामो हुँदैन ।।२।

✍️उत्तम भेटुवाल

===============================

शीर्षक:-अहङ्कार

छन्द   :-भुजङ्गप्रयात

य  य  य   य

iss   iss    iss   iss

-   -    -   -    -   -  -   -   

सबै छन् निकम्मा भनी दम्भ भर्दा

भरे दु:ख  होला सधैँ  डाह गर्दा

बने बुद्ध जस्तै कसैले छुँदैन 

अहङ्कारको आयु लामो हुँदैन।

                (૧)

जलाएर अर्को कुनै हिँड्छ नाची

भने कंश जस्तै हुने त्यो नजाती

बने  धुन्धुकारी  अरू  चाहिँदैन

अहङ्कारको आयु लामो हुँदैन।

                   (२)

छ हत्या र हिंसा अहं झैँ छ काती

बढे तुच्छ  मान्छे धराधाम माथि

यता जीर्ण चाला उता शान्ति छैन

अहङ्कारको आयु  लामो हुँदैन। 

             (३)

घमण्डीपना ढोडझैँ भित्र खोक्रो 

म जस्तो छ को खै भनी खोक्छ बोक्रो

यही भावनाले सदाचार छैन

अहङ्कारको आयु लामो हँदैन।

             (४)

गरी खान खोज्दैन दम्भी चिनारी

ठुलो बन्न चाहन्छ रित्तो भकारी 

कतै छन् दुखेका छँदै छैन चैन

अहङ्कारको आयु लामो हुँदैन।

        (५

  ✍️शान्ति सिग्देल

===============================

अहङ्कारले  घट्छ  सम्बन्ध राम्रो 

अहङ्कारले बढ्छ  मात्सर्य  हाम्रो 

अहङ्कारको  बीज  पाल्नै  हुँदैन 

अहङ्कारको  आयु  लामो  हुँदैन  !१!

•••

अहङ्कार देखिन्छ उत्पात  चाम्रो 

अहङ्कारले लान्छ आयुष्य हाम्रो 

अहङ्कारको  हात  खुट्टा  हुँदैन 

अहङ्कारको  आयु  लामो  हुँदैन  !२!

•••

अहङ्कारले कंसको अन्त्य हुन्छ 

अहङ्कारले  वंशको अन्त्य हुन्छ 

अहङ्कारको  जात  भाषा  हुँदैन 

अहङ्कारको आयु  लामो  हुँदैन !३!

•••

अहङ्कारले राज्य सत्ता गुमायो 

अहङ्कारले  युद्ध लाखौँ गरायो 

अहङ्कारमा  धर्म  धाता  हुँदैन 

अहङ्कारको आयु  लामो हुँदैन !४!

•••

अहङ्कारले मान सम्मान घट्छ 

अहङ्कारले भ्रातृ सद्भाव हट्छ 

अहङ्कारको  देश  सीमा  हुँदैन 

अहङ्कारको आयु लामो  हुँदैन ।५।

✍️अनन्त कुमार बस्नेत

================================

अहङ्कार त्यो क्रोध हो त्यो अहम् हो

अहङ्कार नै श्रेष्ठताभास हो जो

अहम्वाजलाई भलोले छुँदैन

अहङ्कारको आयु लामो हुँदैन।

अहङ्कार बोक्ने अहम्वाज हुन्छन्

घमण्डी पनाको कड़ा शब्द पोख्छन्

मपाईँ विनाको तपाईँ हुँदैन

अहङ्कारको आयु लामो हुँदैन।

अहङ्कार राख्ने अहो हुन्छ पापी

उचालिन्छ आवेशमा हिँड्छ ङयाकी

अहम् ले कुरै त्यो बुझेको हुँदैन

अहङ्कारको आयु लामो हुँदैन।

अहङ्कार ले स्वार्थ दम्भी बनाए

यसैले धरामा सभा धर्मराए

बुझौँ यो सबैले बुझे  आत्तिँदैन

अहङ्कारको आयु लामो हुँदैन।

नराम्रो नबोलौँ सदा सत्य बोलौँ

न राखेर क्यै दम्भ आदर्श खोलौ

मिलौँ धर्म राखी नमिल्ने त छैन

अहङ्कारको आयु लामो हुँदैन।

✍️राजेन्द्र श्रेष्ठ

================================

भई छुद्र मान्छे ठुलो ठान्छ आफैँ

भई रुद्र क्रोधी बनी दिन्छ साफै

यही दुष्ट बानी कहीँ साथ हुन्न

अहङ्कारको अायु लामो हुँदैन।

✍️भगवती प्रसाद शर्मा 

==============================

जहाँ जिन्दगी हुन्छ आगो ममाथि

त्यहाँ आधि औ व्याधि नाच्छन् ममाथि

म यस्तो म उस्तो— क्षमा, प्रीति छैन

अहङ्कारको आयु लामो हुँदैन

।।१।।

अहङ्कार हो स्वत्वको नाश गर्ने

अहङ्कार हो तत्वको गास हर्ने

अहङ्कारको स्नायु कानो, छुँदैन

अहङ्कारको आयु लामो हुँदैन

।।२।।

अहङ्कार मेरो म–मा घात गर्छ

अहङ्कार मेरो क्षमा घात गर्छ

अहङ्कारको भाव चोखो हुँदैन

अहङ्कारको आयु लामो हुँदैन

।।३।।

सधैँ सत्व चोखो बनाएर राख

र सद्भाव पोको बनाएर राख

अहङ्कारमा स्वाभिमानै हुँदैन

अहङ्कारको आयु लामो हुँदैन

।।४।।

✍️छत्रपति दाहाल

===============================

मजाको छ मान्छे सबै अङ्ग राम्रा 

टुटेको कता हो कुरा मात्र चाम्रा 

मपाइँत्व आफ्नो कतै देखिँदैन 

अहङ्कारको आयु लामो हुँदैन ।१।

बढेको छ होचो भने उर्लिएर 

ससानो कुरामा झनै कुर्लिएर 

भए चाल यस्तो सधैँ को रुँदैन 

अहङ्कारको आयु लामो हुँदैन।२।

कसैको छ बानी भने ठिक्क पार्ने 

नदेखी सुटुक्कै कुराले लछार्ने 

कुराले छ ज्ञानी कतै शान्ति छैन 

अहङ्कारको आयु लामो हुँदैन ।३।

दियो चोट जस्ले उही बम्किँदै छ 

खनेको छ खाल्डो उतै लम्किँदै छ 

पकाएर खायो कला जोस  छैन 

अहङ्कारको आयु लामो हुँदैन ।४।

उज्यालो भए भित्र हुन्थ्यो सुवानी 

जमाएछ कालो हियामा नजानी 

छ फोहोर भित्रै नयाँ सोच छैन 

अहङ्कारको आयु लामो हुँदैन ।५।

✍️प्रभा पोख्रेल 

Monday, August 15, 2022

मेरो देश, मेरो प्रतिबिम्ब : (राष्ट्रिय कबिता महोत्सव २०८० को निम्ति )

 मेरो देश, मेरो प्रतिबिम्ब : 

जब म हेर्छु -

मेरा हातका लामाछोटा औलाहरु 

औलाबिचका छुट्टाछुटै कापाहरु 

लाग्छ औला जस्तै चुच्चेबुच्चे पहाड पर्बतहरु 

लाग्छ कापाजस्तै भन्ज्यांग अनि गल्छेडाहरु 

जब म देख्छु -

मेरो हत्केलाका सलक्क परेका रेखाहरु 

भन्छु, म संगै बगिरहेछन कर्णाली, गण्डकी र कोशीहरु !

----------------------१ ----------------------------------------------------

जब म देख्छु -

हिउले सेताम्मे घुम्टो ओंढीरहेकी सगर हिमाल 

कचेरा भरिएको आखाँजस्तै रारा र फेवाताल 

हिऊद र बर्षा झेलेका धूपी र सल्लाका चारकोशे झाडी 

नागबेली लहराजस्तै घुम्दै फिर्दै  बगेका खोला र नदी 

 उस्तै उस्तै लाग्छ मलाई -

भन्छु, असि बर्षिय आमाको दिब्य रुप हो नेपाल  !

------------------२ -----------------------------------

जब म भेट्छु -

खण्ड खण्ड मुहारभित्र 

पत्रैपत्रा भएर चाउरिएका उजाड बस्तीहरु

कुप्रिदै कुप्रिदै गतीहिन बन्दै गरेका 

डाडा पाखा, थुम्का थुम्कीहरुको रुग्ण हविगत 

तराई मधेशभित्र पानीको नथामिएको भेल 

उस्तै उस्तै लाग्छ मलाइ -

भन्छु, मेरो असि बर्षिय बाबाको दिब्य रुप हो नेपाल !

-------------------------३ ---------------------------------

यथार्थमा,

 कुनै साल बाढी आउदा 

पाखाहरु स्वयम हाम फाल्लान 

कुनै बर्ष भू-कम्प आउदा 

धरहराहरु आफै भत्केलान 

तर मलाइ गर्ब छ -

न कुनै प्रकोपले सगरमाथाको उचाई घट्नेछ !

न कुनै बिपत्तीले नेपालको झण्डा झुक्नेछ !!

-------------------------४ ---------------------------------

            (समाप्त )

  डा दीपक यात्री 

लेखनाथ -२७, कास्की नेपाल 

Sunday, August 14, 2022

नेपाल मेरो घर (कबि सोम निरौला )

 नेपाल मेरो घर

पूर्वी स्तम्भ किरात उत्तर दिशा सेर्पाहरूका गण

थारू दक्षिणमा र पश्चिम दिशा छेत्री तथा ब्राह्मण

माटामा इतिहास हुन्छ रजका हुन्छन् जहाँ अक्षर

सेना तीन करोड छन् सडकमा नेपाल मेरो घर 

१

जो हार्दैन र हार शब्द जसले बुझ्दैन राम्रोसँग

जो मार्दैन र मार शब्द जसले बुझ्दैन राम्रोसँग

जो हेप्दैन र हेपिँदैन रणमा रोएन जो बर्बर

नेपालीपन हो घमण्ड छ ममा नेपाल मेरो घर

२

चौँरी चर्दछ खर्कमा चउरमा नाच्छन् जुरेली चरी

आँखामा करुणा असीम ममता पाइन्छ छातीभरि

सेलो बालुन धाननाच सुरिला भाका असारे हर 

भाषा वाङ्मयको धनी मुलुक यो नेपाल मेरो घर

३

ज्ञानी बुद्ध बनेर जीवन खुसी सद्भाव घोकाउँछ

वैदेही भृकुटी बनेर जगमा संस्कार सम्झाउँछ

जन्माई बलबाहु विश्वभरि नै बाँड्यो कला सुन्दर

छाती फुल्दछ गर्वले किनकि हो नेपाल मेरो घर

४

आँखा चन्द्र र सूर्य छन् र शिरमा सर्वोच्च कैलास छ

आमाको प्रिय काखमा छु न कुनै पीडा न सन्त्रास छ

आफैँमा छ महत्वको मुलुकको माटो धुलो पत्थर 

केही गर्व छ भूमिपुत्र परियो नेपाल मेरो घर ।

५

                         --कबि सोम निरौला