Wednesday, March 1, 2023

स्त्रीत्व अनुभूति

 "स्त्रीत्व अनुभूति "

एकान्तमा जब मुटुको ढुकढुकी छाम्छु

धड्कनले स्त्रीत्वको अनुभूति दिन्छ। 

स्पन्दन स्पन्दनमा प्रेमको झड्का दिएर। 

हृदयमा जब भावनाको स्पर्श गर्छु 

स्पर्शताले स्त्रीत्वको अनुभूति दिन्छ 

छाति रसाएर र एक मुटु अनेकतामा बाडेर। 

आँखा जब क्षितिज क्षितिजसम्म फैलाउछु 

दृश्यले स्त्रीत्वको अनुभूति दिन्छ

मनोरम दृश्य र अपार सौन्दर्यको ईच्छा गरेर। 

जब नङ गालामा एकपटक रगडेर हेर्छु 

रगड़ाईले स्त्रीत्वको अनुभूति दिन्छ 

सौम्य, कोमल र कान्त स्पर्श दिएर। 

------------१ ------------------------------

ए !

म सोह्रै आना स्त्रीत्व अनुभव गरिरहेछु 

मेरो हृदयको कुना कुनाबाट स्त्रीत्व छचल्किरहेछ 

मेरो मुटुको तलाउबाट मातृत्व छताछुल्ल पोखिरहेछ। 

मेरो आत्माको बीज बीजबाट 

युबतीत्व उत्पत्ति भइरहेछ 

म त बास्तवमा स्त्री नै रहेछु। 

-----------२ -----------------

अझै शंका लाग्छ,

एकान्त कोठामा गएर स्त्रीत्वको पहिचान खोज्छु 

त्यहा त रजश्वालाको कुनै संकेत छैन 

ऐना अगाडि निर्बस्त्र मूर्ति ठड्याएर अबलोकन गर्छु 

त्यहा त कुनै मातृत्वको स्तन छैन 

फेरी अन्धकारमा लुकेर युबतीत्वको खोजि गर्छु

त्यहा त कुनै घोप्टो कौडीको सुन्दरता छैन। 

-----------------------३ -------------------------

म अन्यौलमा पर्छु,

प्रकृतिले मलाई पुरुषको अंग दिएर 

सम्पूर्ण रुपले स्त्रीको स्वभाव दिएकाछन

केवल बाहय दृश्य पुरुषको बनाबटी दिएर 

भित्री मुटु र हृदय साच्चि नै स्त्रीको दिएका छन् 

त्यसैले त,

हरेक क्रियाकलापमा 

म युबतीत्वको अनुभूती पाउछु 

म मातृत्वको अनुभूती पाउछु 

समष्टिमा स्त्रीत्वको अनुभूती पाउछु। 

-----------४ --------------------------


 (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति : २०५३ साल पौष १७ गते 

मलाई कबिता लेख्न मन छैन

"मलाई कबिता लेख्न मन छैन "

नेपाल आमाका सन्ततीहरु 

दिनभरी परिश्रमको कुटो खनेर 

साझ परेपछि उदास झुप्राहरुभित्र 

जब भोको र अर्ध भोको पेटले सुत्न पुग्छन 

म भित्रको शरणार्थी भावना धुरु धुरु रुनथाल्छ 

बाध्य भएर अनि कलम समाउछु 

केरकार पार्दै कबिता बनाउछु !

-----------------१ -----------------------

चर्केका घरका भित्ताहरु 

रातो माटोले लिप्दै असि बर्षीया बुढी आमा 

दियालोको धीप धीप दीपभित्र 

जब बिदेसिएको लाहुरे छोराको यादमा 

परेलीभित्र नुनिलो पानीको गण्डकी  बगाउछिन 

म भित्रको घाइते परेवा व्यथाले भुर्र उड्न थाल्छ 

लाचार भएर रुवाईका शब्दहरु ओकल्छु 

ओकलेका बमित बाक्यभित्र कबिता बनाउछु !

----------------२ ----------------------------------

के भनूँ  खै !

अन्याय अत्याचार र शोषणभित्र पिल्सिएर 

आफूलाई सुकेको बन्सो जस्तो भान हुनथालेपछि 

ऐन, कानुन र नियमको उल्लङ्घन हुदै 

आस्था र बिश्वासको बनमा डढेलो लागेपछि 

मनभित्रको भावना धाजा धाजा भएर फाटिन पुग्छ 

तनभित्रको सपना टुक्रा टुक्रा भएर टुक्रीदै फुट्छ 

अनि शब्द जोडजाड पार्दै कलम समाउछु 

शब्द तानतुन पार्दै कबिता बनाउछु। 

------------------------३ -------------------

लाग्छ -

मेरो कबिता लेखन शरणार्थी भावनाको उत्कण्ठा हो 

मेरो सृजना लेखन व्यथित मनोभावको उपज हो 

मेरो साहित्य रचना पिडित बोधको प्रतिफल हो 

यदि-

यी मेरा मनोभावलाई कसैले बुझिदिन्छ भने 

यी मेरा भावनालाई कसैले हृदयंगम गरिदिन्छ भने 

धरोधर्म,

म आजबाट कबिता लेख्दै लेख्दिन 

किनकि-

स्वेच्छाले, उमंगले, उत्साहले र उत्प्रेरणाले 

मलाई कबिता लेख्न मन छैन 

मलाई कबिता लेख्न मन छैन। 

--------------------४ -----------------------------

          (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

रचना मिति :  २०५३ साल भाद्र -४ गते (जन्म दिन )


Saturday, February 25, 2023

पहाडसंग एकछिन

         "पहाडसंग एकछिन "

 पहाड - एउटा महाभारत भएर उभिएको छ 

पहाड - एउटा चुरे भावर भएर ठडिएको छ 

पहाडमा बर्षाहुदा हिलो मैलो पखालिएला 

तर पहाडको सौन्दर्यतामा कुनै ह्रास आउदैन 

पहाडमा हावा हुरी चल्दा रुख बुट्यानहरु ढल्न सक्लान 

तर पहाडको स्वाभिमानमा कुनै झुकावट आउदैन 

पहाड - दरिलो छ 

पहाड - गर्विलो छ। 

----------------१ --------------------------------

पहाड- उसको परेलीमा लालुपातेहरु फुलेका छन

पहाड - उसको मुटुमा सालसिसौ बढेका छन 

कोदाको बालाहरु लहलहाउदै बालीहरु झुलेका छन 

पहाड तिनै बालीहरुसंग आफूलाई गर्ब गर्छ 

गुराँसको थुङ्गाहरु राताम्मे भएर फुलेका छन 

पहाड तिनै थुङ्गाहरुसंग आफूलाई स्वर्ग ठान्छ 

पहाड सुन्दर छ 

पहाड मन्जुल छ। 

------------२ -------------------------------

पहाड- उसको गगनचुम्बी शिरसम्म हेर्न 

मेरो भादगाऊले टोपी भुईमा  झर्छ 

पहाड  - उसको भीरको पैतालासम्म हेर्दा 

मेरो आखाँको चश्मा भुईसम्म खस्छ 

पहाड  - उसको नालीबेली परेको बाटो हेर्दा 

मेरो मन आफैमा अलमल्ल पर्छ। 

----------------३ --------------------------

पहाड - धेरै पटक उसको संदुकबाट

बिकासको फाइलहरु गायब भएकाछन 

पहाड - धेरै पटक उसको सिरानीबाट

ढाडसका कपाली तमसुकहरु हराएकाछन 

पहाड - धेरै पटक उसकै आँखा अगाडि

परिबर्तनका लालपुर्जाहरु दिनदहाडै जलेका छन। 

--------४  ---------------------------------------

तैपनि,

पहाड - हिमाललाई दैलोमा उभ्याएर हेर्छ 

पहाड - झरनालाई छातिमा झकझयाएर सुत्छ 

पहाड  - गुराँसलाई परेलीमा गाजल लगाएर हेर्छ। 

--------------------५  --------------------------------

त्यसैले,

म यो घरैघरको शहरबाट भागेर 

एउटा अग्लो पहाडमा रमाएर बस्नुछ 

म यो अस्तव्यस्त भीडबाट फुत्केर 

एउटा सुन्दर पहाडमा गएर रम्नुछ 

म यो रमणीय प्रकृतीमा रमाउदै 

एउटा पहाडको सुन्दर कबिता कोर्नुछ । 

----------------६ --------------------------

ए साथी !

तिमी पनि मसंगै आऊ 

हामी सबै मिलेर पहाडको कबिता लेखौ 

मैले भर्खरै मात्र 

पहाडको माटोको किरिया खाएर आएको छु 

पहाडको बुकीको सुबास साटेर आएको छु । 

-------------७ ----------------------

      (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १३  गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

Friday, February 24, 2023

नदीसंग एकछिन

  "नदीसंग एकछिन"

  ढुंगै ढुंगाको पहरे वजनलाई छिचोलेर 

चट्टानै चट्टानको धारिलो पहरालाई फोडेर 

जतिसुकै बिघ्न बाधा आएपनि 

जतिसुकै दु:ख कष्ट झेलेपनि

नदी रोकिन जान्दैन 

नदी मोडिन मान्दैन। 

--------------१ -------------------------------------

चाहे पहाडे वजन आफूतिर परोस

चाहे दबेर पृथ्वी छिया छिया बनोस 

नदी, खोला र नाला लिएर बगिरहन्छ 

नदी ढुंगा र मुढा पछार्दै अघि बढिरहन्छ

नदी अलिकति पनि थिचिन जान्दैन 

नदी अलिकति पनि किचिन मान्दैन। 

------------२ ----------------------------

नदी बग्नुको नियति उसको प्रगाढ आस्था हो 

नदी बढ्नुको प्रकृति उसको अमर स्वाभिमान हो 

नदीको प्रबाह आफ्नै मौलिक अधिकार हो 

नदीको हिडाई आफ्नै उत्सर्ग निष्ठा हो 

नदी पहाड पर्बत घुमेर बग्छ 

नदी अन्त्यमा समुन्द्र पुग्छ। 

-----------३ ------------------------

नदीको युधिष्ठिर सत्यबादितालाई 

दुर्योधनको घमण्डले रोक्न सक्दैन 

नदीको समुन्द्र पुग्ने गन्तव्यलाई 

पहाड तराईको कुरूक्षेत्रले छेक्न सक्दैन 

नदीको शालीनताको सच्चा रामलाई 

रावणको मुर्ख्याईले डगाउन सक्दैन। 

-----------------४-----------------------

आखिर,

 म पनि नदीजस्तै शालीन बग्न सकूँ 

म पनि नदीजस्तै सत्य बन्न सकूँ 

१ ) गण्डकीजस्तै गहिरो -----------

२) कोशीजस्तै  ठूलो --------------

३) कर्णालीजस्तै लामो ---------------

-------------५ --------------------------

         (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १२  गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

Thursday, February 23, 2023

साच्चै अर्चले अति सुन्दर छ

 

"साच्चै अर्चले अति सुन्दर छ "
 
सातैतालको यो संगम थलो |
भित्तेरी काउरे पाखा पखेरो ||
पूर्वमा दिपांग अनि बेगनास |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------१--------------------------
उत्तरमा शालीन हिमगिरी |
अन्नपूर्ण र सेतो धौलागिरी ||
पश्चिममा बेशी खास्टे ताल छ |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------२----------------------
धारापानी र ठुलो पधेरो |
बुढाको चौर खेल्ने पखेरो ||
सुमीडाडा स्कूल प्राथमिक |
साच्चै अर्चले अति सुन्दर छ ||
-------------३--------------
जन्मेर कबि बने शिरोमणी |
बुद्धि बिनोद र तरुण तपसी ||
जन्मायो गाऊ कबि लेखनाथ |
साच्चै अर्चले अति सुन्दर छ ||
------------------४-------------------
काटौंन भन्ज्यांग डाडानाकबाट |
पैदल लाग्ला सवाघण्टा एक ||
हेरौ पोखराको सौम्य दृश्य |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------५----------------------
कोलाको स्वार,माथि टुटुंगो |
बाघगोट्टी खेल्ने त्यो भुत्ते ढुङ्गो ||
डिहीको माथि बतासे चौर |
साच्चै अर्चले अति सुन्दर छ ||
-----------------६----------------
पूर्वमा घाम झुल्किदा खेरी |
टल्कीन्छ हिमाल बनी सुनेली ||
राखिको डाडा टाढा कास्कीकोट | |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------७----------------
(समाप्त)
--- डा दीपक यात्री ;लेखनाथ-२७ कास्की नेपाल

Wednesday, February 22, 2023

मनसँग भलाकुसारी

      " मनसँग भलाकुसारी "

  मन एउटा ब्रम्हाण्ड हो 

जसको भावना अथाह हुन्छ 

मन एउटा धरती हो 

जसको सहनशीलता अपार हुन्छ 

मन एउटा आकाश हो 

जसको हृदय बिशाल हुन्छ। 

-------------------१ --------------------

यही मन मन जोडिएर 

गहिरो मायाप्रीति बसेको हुन्छ 

यही मन मन फैलिएर 

भाइचारा बढेको हुन्छ 

यही मन मन गहिरिएर 

आत्मीय नाता जोडेको हुन्छ। 

-----------२ ------------------------

यही मनको सिमानाभित्र 

नालापानी र लिपुलेकको नक्सा कोरिएको हुन्छ

यही मनको बिराङ्गानासित 

अमरसिंह र बलभद्र जोडिएको हुन्छ 

यही मनको करुणाभित्र 

हिरोसिमा र नागासाकीको दर्दनाक लेखिएको हुन्छ। 

--------------३ --------------------------------------

अब मन भित्रको खेतबारीमा 

हर्ष र उन्मादको खेती उमार्नुछ 

अब मनभित्रको खोरियामा 

बिश्वास र इमानको बीऊ अङ्कुराउनुछ 

अब मनभित्रको जङ्गलभित्र 

पवित्रताको श्रीखण्ड मौलाउनुछ। 

-----------------४ --------------------------

म त भन्छु,

प्रियसीको मन जित्नु 

महाभारतको युद्द जित्नुभन्दा ठूलो कर्म हुन्छ 

आमाबाबुको मन बुझ्नु 

चारधाम तीर्थभन्दा पवित्र पुण्य हुन्छ 

गरीब बृद्दहरुको मन खानु 

मानव सेवा भन्दा ठूलो धर्म  हुन्छ। 

----------------५ ------------------------

निष्कर्ष -

मनभित्र सम्पूर्ण संसार हुन्छ 

मनभित्र अथाह भण्डार हुन्छ। 

--------६ ---------------------------

      (समाप्त )

डा. दीपक यात्री

प्रमुख सूचना प्राबिधिक 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

लेखन  मिति : बि.स. २०७९, फाल्गुण १० गते ,  

 स्थायी ठेगाना :लेखनाथ -२७  कास्की

Sunday, February 19, 2023

मान्छे र मान्छेको परिभाषा

 "मान्छे र मान्छेको परिभाषा "


चार खुट्टा टेकेर घिसृएको मान्छे
भनिरहनु नपर्ला
दुइ खुट्टा टेक्न सजिलै सफल हुन्छ
अंतर्चेतानामा जेलिएको मान्छे
आखिर धर्तीमा अवतरित हुन्छ
आमाको काख च्यापिदै बाबुको हातमा पुग्छ
संसारको संस्कारभित्र आफू अरुको हुन्छ |
------------------------------------------------
मान्छे;
मान्छेकै परिधिभित्र बन्धित हुन्छ
उ बस्तुभाऊको बच्चा जस्तै
जन्मजात हिड्न बोल्नपनि सक्दैन
सायद यसरी नहिड्नु नाबोल्नुमै उ पूर्ण ठहरिन्छ
नारीको सन्ध्याबाट सृष्टी भएको नाङ्गो मान्छे
धरती टेक्नुसंगै उसका अंगहरु ढाकिन्छन
सायद यसरी ढाकिनाले नै उ मान्छे भएको हुनसक्छ|
छैटौ एघारऔ र बर्षौका दिनहरु निम्ताऊदै
उ धर्तिमाथि आफ्नो विजय देखाउछ
सायद;यसरी देखाउनुबाटनै
उसको मान्छेबन्ने शक्ति उद्घाटित हुन्छ |
--------------------------------------------------
अ हँ चाहिदैन चाहिदैन
पशुको जस्तो
जन्मजात हिड्ने र बोल्ने शक्ति मान्छेलाई
यहाँ त् बोल्नुभन्दा धेरै अघि
असत्य र झूठहरु जान्नुपर्दोरहेछ
  धर्तीमा आउनुसंगै शरीर ढाकेर
आफू अलिकति अदृश्य बनेको भानपर्दै
आफ्नो गोपनियता सम्झी लुकाउनुपर्दो रहेछ
अरु मान्छेभन्दा चलाख सम्झी
अलिकति छिपाउन सिक्नुपर्दोरहेछ
धर्तीमा खुट्टा राख्नुसंगै
उत्सव र समारोहको शान देखाउन जन्नुपर्दोरहेछ |
-------------------------------------------
त्येसैले  त म मान्छे;
झन्डै एक बर्ष प्रयाश नगरी
अगाडी पछाडी हिड्न चाहन्न |
झन्डै दुइ बर्ष संसार अबलोकन नगरी
आफ्नो मुख फोर्न कदापी चाहन्न |
|त्यसैले त;
म मान्छे मान्छेको परिभाषा नगरी
म मान्छे मान्छेको यथार्थ नबुझी
मान्छे हुन चाहन्न
१ )उभिन
२)बोल्न
३) हिड्न
.
.
.
.(समाप्त )
दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
लेखन  मिति :कार्तिक १४ गते ,बि.स. २०५६
 स्थायी ठेगाना :लेखनाथ -६ ,अर्चले कास्की