Thursday, February 16, 2023

फूलसंग एकछिन :

 फूलसंग एकछिन :

फूलको रहर !

फुल्दा सबैले मोह बर्षाउछन

फूलको सुबास !!

फैलदासम्म पुतली साथै रमाउछन 

फूलको बैश !!!

फक्रदासम्म माहुरी चुस्न रमाउछन। 

---------------१ -------------------------

फूललाई घामले पोले पनि 

पोलाईको कुनै क्रन्दन निस्किदैन 

फूललाई झरीले रुझाए पनि

रुझाईको कुनै रोदन  पाइदैन 

फूललाई हुरीले हल्लाए पनि

हल्लाईको कुनै कष्ट देखिदैन। 

--------------२ -------------------------------------

हामी पनि फूलजस्तै,

रिसमा पनि आफ्नो कोमलता सम्हाल्न सकौ

दुखमा पनि आफ्नो सौन्दर्यता जोगाउन सकौ 

बिपतमा पनि आफ्नो सुबास छरिराख्न सकौ। 

-----------३ ------------------------------------

             (समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल फाल्गुन ४  गते 

Wednesday, February 15, 2023

यसपटक कबिता लेखिएन :

 यसपटक कबिता लेखिएन :

यसपटक -

कबिता लेखूँ भन्छु 

बेहुली कविताको सिन्दुर पुछिएपछि 

कविताको शीर्षक नै भेटिएन  |

----------------१ ---------------------------

यसपटक -

कबिता लेखूँ भन्छु 

फूलजस्तो कोमल शब्दहरु 

फलामजस्तो कठोर मनमा अटाउनै सकिएन। 

-------------------२ --------------------------

यसपटक -

कबिता लेखूँ भन्छु 

पहाडजस्ता अग्ला भावनाहरु 

स्वयम पहिरोसंगै बगेपछि भावना पोखनै सकिएन । 

---------------३ ------------------------------

यसपटक -

कबिता लेखूँ भन्छु

अक्षर बोकेर उभिएको सेतो हिमाल 

हुस्सुले अनुहार छोपेपछि शब्दको रुप दिनै सकिएन। 

------४ ----------------------------------------

यसपटक -

कबिता लेखूँ भन्छु

अनूभूति सहितका पवित्र मनोभावहरु 

तरंगहिन भएपछि ब्यक्त गर्ने सकिएन। 

-----------------५ -------------------------

यसपटक -

कबिता लेखूँ भन्छु

पाखा पखेराबिच फुलेका गुराँसका मनोबेगहरु 

फुल्नु अगावै निमोठिएपछि अभिव्यक्त गर्ने सकिएन। 

---- --- ६--------------------------------

          (समाप्त) 

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल फाल्गुन ३  गते 

Tuesday, February 14, 2023

चरासंग कल्पिदै :

 
     चरासंग कल्पिदै :
चरा,
स्वछन्द आफ्नै पखेटाको भरमा
उमंग आफ्नै मौलिक परिबेशमा
हरियाली भरेका बोटहरु चहार्दै
स्वतन्त्र स्वतन्त्र उडीरहेछन।
-----------------१ ------------------------
 चरा  एक हुल जत्था बनेर,
चारै दिशा घुम्दै भौगोलिक यात्रा गर्छ
चरा एक बथान जत्था बोकेर
भूगोलको कुना काप्चामा सयर गर्छ
चरालाई कुनै प्रादेशिक बन्धन छैन
चरालाई कुनै भौगोलिक रोकावट छैन।
----------------२---------------------------
मधुरम चिरबिराहाट  चराहरुको
कसैले चुच्चोमा बुझो लगाउन सक्दैन
मधुरम बोलि कोईलीको
कसैले बोलीमा कुहु कुहु रोक्न सक्दैन
अनुपम नृत्य मुजुरको
कसैले पंखमा सुन्दरताको खोट लगाउन सक्दैन।
-------------------३ -------------------------------------------
चरा बसन्तमा पालुवासंगै रमाउछ
चरा हेमन्तमा शिशिरसंगै बहलाउछ
कुनै पनि बेला आफ्नै स्वेच्छाले
रुख फेरी फेरी गुड बनाउछ
अनि जुरेली र भगरी चरीको नाममा बसन्तमा
धीतै मर्नेगरी सबैका आँखा लोभ्भ्याउछ ।
-------------४ ----------------------------------
म पनि चराजस्तै स्वतन्त्र सपनाहरु
आकाश भरी भरी उडाउन चाहन्छु
म पनि चरा जस्तै स्वछन्द बिचारहरु
वृक्ष फेरी फेरी बसाउन चाहन्छु
म पनि चराजस्तै सद्भाव प्रेमहरु
पखेटा फिजाएर देशै भरी भरी पोख्न चाहन्छु
बस नेपाल आमा,
मलाई चरा जस्तै चमक भरेको जीउ देऊ !
मलाई चरा जस्तै उमंग भरेको मन देऊ !!
----------------------५ ---------------------
(समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री
लेखनाथ-२७, कास्की
हाल :प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
ललितपुर नेपाल
दिनांक : २०७९ साल फाल्गुन १  गते

Friday, February 10, 2023

परदेशीको सपना :

 परदेशीको सपना :

म परदेशमा बस्दै 

स्वदेशको सम्झना बाडिरहेछु 

जन्मभूमीको माया साटिरहेछु 

मेरो सानो घरको झुपडी

पिरो धुवासंग आँसु झार्दैहोला 

मेरो तलाबारीको तोरीबारी 

सपनाजस्तै फुलेर पहेलियोहोला 

मेरो पैतेको टारी खेत 

उर्लेको बैश झैँ श्रावणमा बढ्दै होला 

मेरो टाउके गराको बारी 

मेरैलागि बाझो तिर्खा कुरिरहेको होला 

-----------------१ --------------------

परदेशमा,

खेल्दै गरेको खेलौना देख्यो, छोराछोरी सम्झन्छु 

फुल्दै गरेको फूल देख्यो, प्रियसी सम्झन्छु 

ढल्दै गरेको सूर्य देख्यो , आमाबाबु सम्झन्छु 

------------२ ---------------------

 अरुको त के कुरा,

एकाबिहानै तरकारी पाक्दा 

ठूलागराको साग नटिपेर पहेलियोकि लाग्छ 

सूर्योदयसंग चिया पिउदै गर्दा 

माली गाईको दुध गौवाभारी दुहेको याद आउछ 

बिहानै खाना पस्कदै गर्दा 

बुढी आमाको सुकेका हातले खाना पस्किए झैँ लाग्छ 

----------३ -----------------------------------------

अब,

म सुन टिप्छु भनेर बिदेसिएको भए 

आफ्नै माटामा सुन फलाउनेछु 

जून टिप्छु भनेर परदेसिएको भए 

आफ्नै आमाको ओठमा जून उदाउनेछु 

परदेश परदेशमा रहेर कल्पनु सट्टा

आफ्नै आगनीमा बसेर कबिता फुराउनेछु 

आफ्नै पिढीमा बसेर साहित्य सिर्ज्याउनेछु 

---------------------४ -------------------------------

         (समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्दि 

ललितपुर नेपाल


दिनांक : २०७९ साल माघ २६  गते 

मेरो देश, मेरै परिबेशमा :

 मेरो देश, मेरै परिबेशमा :

भीरको टाकुरीमा फुलेका छन

सपनाका राताम्मे गुराँसहरु 

खै ! कसरी टिप्ने र सिउरिने  हो 

शैलुङ्गेमा शेर्पिनीको चुल्ठोमा !

---------------------१ -------------------

धमिलो आकासमा उजाडिएको बादल 

फगत फोस्रो रुप लिएर कुदिरहेछ 

खै ! कसरी गर्जिएर बर्षने हो 

तराई, मधेश र पहाडी खेतहरूमा !

---------------२ -------------------------

अविराम बग्दै गरेका जीवनका नदी 

फगत भासिई रहेछन अप्ठ्याराका बालुवाहरुमा 

खै !कसरी पुग्ने भाईचाराको समुन्द्रसम्म 

आकांक्षाका सप्तकोशी र गण्डकीहरु !

--------------३ -----------------------------

उत्साहको आकासमा मडारिरहेको कालो बादल 

सेता गेडी असिनारुपी उत्पातसंग बर्सिएछ 

खै ! कसरी अपेक्षाको झरी बर्षने हो 

खडेरीग्रस्त नेपालीको मन मुटुहरुमा !

-------------------४ ----------------------------

सपनाको सागरमा सजिएका आखाँका नानीहरु 

देशको बलेसीबाट बलिन्द्र अश्रुधार बगाइरहेछन 

खै ! कसरी फुल्ने हुन बिकाशशील आखाँहरु 

भरभराउदो र बैशालु प्रगतीशील राष्ट्रियतामा !

------५ ----------------------------

अब,

मभित्र मुटु मात्रै हैन,

मुटुभित्र देश पनि लिएर 

मभित्र आत्मा मात्रै हैन ,

आत्माभित्र बुद्द पनि लिएर 

असजिलोको तगारो फडकदै

असम्भवको गजवार उघार्दै 

कहिलेकाही -

भोक लाग्न सक्ला अड्चनको 

प्यास लाग्न सक्ला ब्यबधानको 

निन्द्रा आउनसक्ला ढिलासुस्तीको !

--------------------६ ------------------

आऊ,

तिमी पनि मसंगै आऊ 

जीवनको चौतारीमा थकाई मारौ र बढौ 

अब,

यो देशका  काँडाहरु रुपान्तरित हुनेछन फूलहरुमा 

यो देशका बगरहरु रुपान्तरित हुनेछन खेतहरुमा 

यो देशका हिलोहरु संग्लिनेछन पवित्र जलहरुमा 

----------७ --------------------------------------

(समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, 

ललितपुर नेपाल

दिनांक : २०७९ साल माघ २६  गते 

Thursday, January 26, 2023

एउटा युद्दको शुभारम्भ गरौ !

 एउटा युद्दको शुभारम्भ गरौ !

हामी नेपालीसंग,

बिश्व शान्तिको क्षेत्र नेपाल भूमि छ 

यसभन्दा पनि बुद्दको दिब्यभूमि छ 

पूर्बजका खुडा खुकुरी मात्रै हैन 

जनक र बुद्दका बोधिसत्व पनि छ 

अमरसिंह र बलभद्रको बीरता मात्रै हैन 

अरनिकोको सीप र कला पनि छ। 

------------------१ ---------------------------

हामी नेपालीलाई थाहा छ -

बारुदको धुवाले मात्रै युद्द हुदैन 

सेतो परेवाले पनि शान्तिपूर्ण युद्द गर्नसक्छ 

हिरण्यकश्यपु र दुर्योधनको मात्रै युद्द हुदैन 

प्रल्हाद र युधिष्ठिरले पनि सत्यताको युद्द गर्न सक्छन। 

--------------------२ -----------------------------------

जाग भो अब जाग,

महाभारतको अभिमन्यू बनेर 

अशिक्षा र अन्धबिश्वासको चक्रब्युह फोड्नुपर्छ 

रामायणको लबकुश बनेर

भ्रष्टाचार र दुराचारको जरैबाट उन्मूलन गर्नुपर्छ। 

---------------------३ ---------------------

उठ, भो अब उठ ,

जोश र जागरको बीज छर्नुपर्छ 

भाका लैबरीको गाइनुपर्छ 

बोलि चाचारीको हुनुपर्छ 

स्वयम्भूको शान्तिप्रीत आँखाले 

पशुपतिको पवित्र स्वच्छ हृदयले 

आऊ ,

एउटा युद्दको शुभारम्भ गरौ। 

----------------४ ------------------

बस नेपाल आमा,

मलाई साइतको दही र अक्षता लगाइ देऊ

म हातमा परिश्रमको कुचो र आस्थाको दियो कलस लिएर 

पौरखको नैबेध्य र कर्मको पूजा लिएर 

अनि आत्माबिश्वाश्को लाबा र अबिर छर्दै 

ज्ञान र सीपको दीपशिखा बालेर 

एउटा युद्दको शुभारम्भ गरौ 

एउटा युद्दको शुभारम्भ गरौ। 


--------५ -------------------------------

(समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल माघ ११ गते 

Monday, January 23, 2023

मेरो देश मेरो शरीरसँग :

 मेरो देश मेरो शरीरसँग :

जब म आफैलाई ऐनामा हेर्छु,

मेरो पुष्ट गाला,

लाग्छ मेरो पहाडको टाकुरा जस्तै 

मेरो फराकिलो निधार,

लाग्छ मेरै तराईको समथर भू-भागजस्तै 

मेरो सलक्क परेको कपाल 

लाग्छ चारकोशे जंगलको झाडि जस्तै !

------------------------१ -------------------

जब म आफ्नो बस्त्र आफै नियाल्छु,

मैले ओढ्दै गरेको बाक्लो पछ्यौरी 

मेरै हिमालको गुराँसले छोपेको जंगलजस्तै 

मैले पहिरिदै गरेको सक्कली ढाकाटोपी 

सेताम्मे बिधवा हिमालको प्रतिक जस्तै 

मैले लगाउदै गरेको दौरा र सुरुवाल 

मेरै देशको मिलेको लेक र बेसी जस्तै !

---------------------२ -------------------

जब म आफैले आफूलाई नियाल्छु,

मेरो हातका लामा छोटा औलाहरु 

लाग्छ मेरै देशका चुच्चेबुच्चे पहाड जस्तै 

हत्केलाका सलक्क परेका रेखाहरु 

गण्डकी, कोशी र कर्णाली नदी जस्तै 

हातखुट्टाका औलाका कापाहरु 

भन्ज्यांग र देउरालीका बिचका गल्छेडाहरु जस्तै  !

------------------३ -----------------------------

त्यसैले त -

मेरो शरीर मेरो देशको पर्याय हो 

मेरो पहिरन मेरै देशको पोशाक हो 

मेरो अंगप्रत्यंग मेरै देशको गहना हो !

--------------------४ ------------------------

बस नेपाल आमा,

मलाई बिशाल तराईको छातिमा

एक मिठो निन्द्रा सुत्न देऊ 

मलाई अग्लो हिमालको सागरमा 

एक मिठो चुम्बन चुम्न देऊ 

मलाई भिरालो पहाडको टाकुरीमा

गुराँसजस्तै एक मुस्कान छर्न देऊ !

--------५ -------------------------------

(समाप्त )

स्रष्टा : ड़ा दीपक यात्री

लेखनाथ-२७, कास्की 

हाल :प्रमुख सूचना प्राबिधिक ,

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुर नेपाल

दिनांक : २०७९ साल माघ ८  गते