Wednesday, September 2, 2020

"संघियता भन्दा माथि उठेर "

 "संघियता भन्दा माथि उठेर "

जनजातीरुपी हिउ फुटेर |
बगोस पहाडमुनि मूल फुटेर ||
मधेसमा बग्दै समुन्द्र पुगेर |
सङ्गलो बादल बनी बाष्पीएर ||
बर्षोस विभेदी वर्षा बनेर |
संघियता भन्दा माथि उठेर ||
-----------१-----------------------
पहाडको चट्टान पग्लिएर |
पुगोस तराईसम्म संग्लीएर ||
तराईको फाट बाली झुलेर |
काटोस चुरे पहाड छिचोलेर ||
भाईचाराको भावना साटेर |
संघियता भन्दा माथि उठेर ||
------------२---------------
मानसरोबर र मुक्तिनाथ |
हिमालका तीर्थस्थल पबित्र ||
गरौ यज्ञ शान्ति आरती ताप |
फैलेर पुगोस टीकापुर माथ ||
संजीवनी शान्ति हवन गरेर |
संघियता भन्दा माथि उठेर ||
--------------------३----------------
पशुपती ती काठमांडूभित्र |
स्वयम्भूका आखा शान्तिप्रीत ||
रामजानकी जनकपुर धाम |
कैलाश पर्बत त् तीर्थधाम ||
तिनै लेकका साझा देब भनेर |
संघियता भन्दा माथि उठेर ||
------------------४-----------------
(समाप्त)

Sunday, August 23, 2020

मेरो जन्म दिनमा ...

 मेरो जन्म दिनमा ....

सर्वप्रथम मेरो जीवनको अस्तित्वलाई मान्दै अनि कदर गर्दै मेरो जन्मदिनको सुनौलो मौका छोपेर यो वर्ष अगस्त २० तारेखमा फेसबुकको सुन्दर पानामार्फत मलाई शुभकामनारुपी मायाले भरिएको आशिरवाद दिने महानुभावहरुप्रति म हार्दिक कृतज्ञता साथै आभर प्रकट गर्दछु ।
हुन पनि यतिका आफ़न्तजनहरुको शुभकामना पाएपछि मलाई २०७२ मा पुनर्जन्म भएछु कि जस्तो लागेको छ |
यही खुशीको भाबहरुलाई शब्दहरुमा रुपान्तर गर्दै :

"जनम दिनको शुभकामनाले"

भदौरे चार ऋतु बर्षात |
घुमेर आयो यो सालगाठ ||
बढायो बर्ष थपिदिनाले |
जनम दिनको शुभकामनाले ||
--------------१------------------------
ठुलाकोटको सापकोटाबारी |
शुक्लपक्षको रात्री तीन घडी ||
मकर राशी तिथिमितिले |
जनम दिनको शुभकामनाले ||
----------२----------------------
तृतीय सन्तान पहिलो पुत्र |
भगवती मोहनाथको सुपुत्र ||
बुद्दिनाथ नाम देबगण हुनाले |
जनम दिनको शुभकामनाले ||
---------३-------------------------
एकैघरका दुइटा बुहारी |
जन्माएर पुत्र दो दौतरी ||
न्वारन दुइको एकै हुनाले |
जनम दिनको शुभकामनाले ||
------------४------------------------
राजु र दीपक नाम बदलीइ |
बोलाईयो दिज्यु र साथीसंगी ||
उही दीपक यो रम्छ कविताले |
जनम दिनको शुभकामनाले ||
--- ( समाप्त )------

ई. दीपक यात्री
लेखनाथ -६ ;कास्की नेपाल
हाल: हैदराबाद भारतमा कार्यरत

Tuesday, June 16, 2020

पक्कै अब त असार लाग्यो

आज आषाढ १ गते , दुइ पंक्ति पस्कदै ।
" पक्कै अब त असार लाग्यो "
वर्षा भएर तन भिज्छ जब !
लाग्छ असार आइसकेछ !!
हिलोमा खेल्छ कृषक तथापि !
निरोगी उही छ ,छैन रोगब्याधी !!
---------- १ ----------------------
धुलो भएछ अब हिलो टम्मै !
गैरीको खेत पानी अचम्मै !!
हली र गोरू भए हिलाम्मै !
बाउसे खेताला भएर जम्मै !!
----------२ ------------------
कति बिघ्न अहो ! कति बर्षा भारी !
बिचलीत छैन खेल्दै जुवारी !!
रोपाहार बाउसे लैबरी गाउदै !
छुपुछुपु धान हिलो मिलाउदै !!
---३ ------------------------------
ओढी बादल मस्त ,निदाए तारा !
झमक्क साँझ परेली माझ !!
धन्सिय भन्ज्यांग उक्लिन जाग्यो !
पक्कै अब त असार लाग्यो !!
------४ --------------------
( समाप्त )
--इ. दीपक यात्री
प्रमुख सूचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि ललितपुर
स्थायी ठेगाना: अर्चले , पोखरा लेखनाथ –२७ ,कास्की नेपाल

Wednesday, May 27, 2020

" नेपाल तिम्रो गाथा "


"  नेपाल तिम्रो गाथा "
पहाडको पर्बतसंगै ठिंग उभिनेहरू
हिमालको हिऊसँगै  सेताम्मे चुलिनेहरु
तराईको बालीसँगै लटरम्म झुलिनेहरु
म नेपालको उर्दी लगाउदैछु,
उठेको पहाडसँगै विकास पनि उठ्नुपर्छ
पग्लेको हिमालसँगै भाइचारा जुट्नुपर्छ
झुलेको बालीसँगै राष्ट्रभक्ति झुक्नुपर्छ । 
 --------१------------------------------
म सारंगी बनूँ , नेपाललाइ धुन बनाएर फैलाउनुछ
म छिनो बनूँ , गुम्बा चैत्य र मन्दिरलाई कुद्नुछ
म नरसिंह बनूँ , मेचीदेखि कालीसम्म गुञ्ज्याउनुछ
किनभने,
मेरो धुनसँगै लैबरीका भाकाहरु बज्नेछन
मेरो कुदाइसँगै अरनिकोका बस्तुकला झल्किनेछन
मेरो गुञ्जनसँगै शान्तिको  संदेश फैलनेछन ।
-------२ --------------------------
अब मेरो देश ,
किताबको कागजमा हैन, मुटुको धड़कनमा अंकित छ
भित्ताको नक्शामा हैन, हृदयको प्रकाशमा बिम्बित छ
बलभद्रको विजयमा लाबा र अबिर छर्दै
चर्खा र तानहरुको सीपमा अर्ग र तेल थप्दै
खन्ति, कोदालो र साबेलहरुले निर्माणको माटो सम्याउनेछन
हली, बाउसे र खेतालाहरुले विकासको खेती गराउनेछन ।
----- ३-----------------------------------
बस ! नेपाल आमा अब मलाई ,
कर्मको अक्षता र पौरखको नैबेध्य देऊ
बुध्दको बिबेक र सीताको शील देऊ
संजीवनी जडिबुटी र गायत्री मन्त्र देऊ
अब म ,
एकलव्यको आस्था र भगीरथको साहससँगै
बीरभद्रको बीरता र अरनिकोको कलासँगै
सगरमाथा टेक्नेगरी  पैताला अघि  बढाएको छु
बागमतीको पबित्र जलमा भर्खरै नुहाएको छु ।
---------४-----------------------
                       (समाप्त)


                                                    ---श्रष्टा : ई दीपक यात्री
                          प्रमुख सूचना प्राबिधिक
                          नेपाल क्यान्सर हस्पिटल, ललितपुर
                          स्थायी ठेगाना : पोखरा लेखनाथ-२७, कास्की नेपाल
                          सम्पर्क मोबाइल : ९८१३४५६३७४
                            फोन :०६१-५६०४७६

Friday, May 15, 2020

"पीरतिमा मकै "

"पीरतिमा मकै "
गाऊघर बारीपाखा, मकैबोटले हरा होलान !
फाडिएर खोरिया ती मकैहरु उम्रे होलान !
हावाहुरी आधीबेरी,मकैलाई कुट्यो कि त !
असिनाको गुनेलीले मकैलाई चुट्यो कि त !!
-----------------१ ------------------------------------
आकासको पानी भरमा, मकैखेती गर्ने गाउले !
हर हर महादेव, पानी बर्साउ भन्दै होलान !!
मकै रोप्दा हलीसंगै,सियो सियो हिड्नेहरु !
अग्लिएका मकैभित्र हासीहासी,गोड्दै होलान !!
--------------------२ -----------------------------
मकै गोड्ने हातहरु,बन्दुक समाई गए कि त ?
मकै पिध्न घट्ट जाने ,सखा लाहुर गए कि त ??
मकै चोर्ने बादरलाइ,भीरसम्म खेद्ने साथी !
मकैजस्तै भुटिनलाइ खाडीतिर गए कि त !!
------३ ---------------------------------------
बिरौटा र बीर्तासम्म ,अर्मपर्म गर्ने संगीसाथी !
असारेको दुधे मकै साथ्, खान आउछु साथी !!
बारीभरी फलोस मकै,पेट पनि नहोस भोकै !
घुन पुत्ला नलागोस ,नछोवोस ब्याध रोगै !!
-------------४ ----------------------
हातमुख जोर्नपरे बरु ,मकै भित्र घैया रोपौ !
बाझो बारी जर्रो टारी ,जतासुकै मकै रोपौ !!
लू खपेको मकै जस्तै ,दुख खेप्ने मर्द छोरो !
मकै हाम्रो प्राणबाली,राष्ट्रखेती नेपालको !!
---------५ -----------------------------------------
(समाप्त )